क्लार्कले जगाइदिएको उत्साह

क्लार्कले जगाइदिएको उत्साह


भाद्र २५, २०७३- ३ दिनअघि अष्ट्रेलियाली क्रिकेट टिमका पूर्वकप्तान माइकल क्लार्कले समाजिक सञ्जालमा लेखे, ‘सुपर एक्साइटेड टु सी सन्दीप सुन’ म सन्दीपलाई चाँडै भेट्न एकदमै आतुर छु । सँगै उनले ह्यासट्याग दिंदै ‘ड्रिम बिग स्टार्ट नाउ’ ठूलो सपना अब सुरु हुन्छ भने लेखेका छन् । उनले वेष्टन डिस्ट्रिक क्रिकेट क्लबले सन्दीप लामिछानेका बारेमा जारी गरेको विज्ञप्ति समाजिक सञ्जालमा राखे ।

नेपालमा क्रिकेट राजनीतिक भूमरीमा अल्झिरहँदा विश्वकै उत्कृष्ट मध्येका खेलाडीले एक नेपाली युवालाई यहाँसम्म अवसर दिएको समाचार उनैले सार्वजनिक गरे । क्लार्कले उत्साहित समाजिक सञ्जालमा राखेको पोष्टमा विभिन्न प्रतिक्रिया आएका छन्, जसमा अष्ट्रेलियामा रहेका मात्र नभएर विश्वभरि रहेका नेपालीहरुले नेपाली क्रिकेट क्षेत्रमा नै उत्साह जगाइदिएकोमा धन्यवाद दिएका थिए । जसमा विशेषत: अष्ट्रेलियामा रहेका नेपालीहरुले उनलाई धन्यवाद दिंदै र आफ्नो देश र खेलाडीलाई अवसर दिएकोमा उनीप्रति आभार ब्यक्त गरेका थिए ।

क्लार्कले केही कमेन्टहरुको उत्तर फर्काउदै सन्दीप राम्रो खेलाडी भएको र आफु उनीसँग खेल्न उत्साहित रहेको बताएका छन् भने नेपाली क्रिकेटको सफलता र उन्नतीको कामना समेत गरेका छन् ।

साँच्चै भन्ने हो भने क्लार्कले नेपालजस्तो मुलुकको एक १६ बर्षे युवालाई आफ्नो एकेडेमीमा बोलाएर क्रिकेट सिक्ने र खेल्ने अवसर दिनु भनेको नेपाली युवा खेलाडीहरुलाई राम्रो खेलेमा अवसरको खाँचो छैन भन्ने प्रमाण पनि हो । झन् अर्कोतिर यसले खेलकै माध्यमबाट भए पनि विदेशमा रहेका र स्वदेशमै रहेका नेपाली युवाहरुलाई खेलतर्फ आकर्षित गरेको छ भने नेपालमा पनि अत्यन्तै प्रतिभावान युवा खेलाडीहरु छन भन्ने प्रमाण विश्वलाई दिएको तर्क गर्नेहरु समेत छन् ।

अष्ट्रेलियामा कुनैपनि नेपाली खेलाडीले यो स्तरको सम्मान र अवसर पाएको यो नै पहिलो हो । हुन त क्लार्क स्वयंमले समेत विज्ञप्तिमा यहाँको नेपाली समुदाय बलियो रहेको बताउँदै सन्दीपलाई हर किसिमको सहयोग नेपाली समुदायले पुरयाउने विश्वास राखेका छन् । आफ्नो मुक्तकण्ठले प्रशंसा गर्दै क्लार्कले सन्दीप आफ्नो खेलमा लगनशील भएको र अत्यन्तै प्रतिभावान भएको बताएका छन् । पछिल्लो समयमा नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ मेलबर्नमा रहेको एक टिमबाट खेलिरहेका भएपनि त्यसबाहेक यो स्तरको अवसर यहाँ अहिलेसम्म कसैले पाएको थिएन् ।

‘विश्वका उत्कृष्टमध्येका एक खेलाडीले नेपाली युवालाई यसरी आफ्नो प्रतिष्ठित क्लबमा बोलाएर अवसर दिनु भनेको समग्र नेपाल र नेपालीको शिर उचो हुनु हो,’ गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेल भन्छन् । उनी सन्दीपलाई एनआरएनको तर्फबाट गर्नसक्ने हर सहयोग उपलब्ध गराउन तयार रहेको समेत सुनाउँछन् । उनकै भनाइमा सन्दीपलाई नेपालबाट आफ्नो क्रिकेट क्लबमा बोलाएर अवसर दिनुले खेलमा लागेका नेपाली युवाहरुलाई खेलक्षेत्रमा लाग्न अझ प्रेरित गर्नेछ ।

अहिले एनआरएन पनि नेपालबाट यहाँ आएका र यहीं उत्पादन भएका नेपाली खेलाडीहरुलाई अवसर दिनका लागि खेलकुद कार्यक्रमहरु गर्न लागिपरेको छ । एनआरएन खेलकुद संयोजक नन्द गुरुङ आफूहरुको प्रयास पनि यहाँबाट अन्तर्राष्ट्रिय स्तरका नेपाली खेलाडीहरुको उत्पादन गर्नु रहेको बताउँछन् । उनी पनि नेपाली युवा सन्दीपले माइकल क्लार्क जस्तो खेलाडीको एकेडमीबाट खेल्न पाउनु अन्य नेपाली खेलाडीहरुका लागि बाटो प्रसस्त हुनु भएको दाबी गर्छन् । ‘यसले के प्रमाणित गरेको छ भने लगन र मेहनत गर्ने हो भने नेपाली खेलाडीहरुलाई समेत अवसरको खाँचो हुनेछैन् ।’

सन्दीपलाई स्वागत गर्न र उनले खेलेको क्रिकेट हेर्न यहाँको नेपाली समुदाय उत्साहित त छ नै त्योसँगै नेपालका अन्य युवा खेलाडीहरुले समेत विश्वभरिबाट यसरी नै अवसरहरु पाइरहुन् भन्ने सदासयता समेत ब्यापक छ । जे होस्, अष्ट्रेलियाका सफल कप्तानले एक नेपाली युवालाई यसरी उत्साहित भएर खेल्नका लागि अवसर दिनु र आफ्नो एकेडमीमा स्वागत गर्नुले यहाँका नेपालीहरुलाई समेत आफु नेपाली भएकोमा गर्व गर्ने स्थान प्रशस्त दिएको छ ।

खेलको माध्यमबाट नेपाली क्रिकेटले जुन स्थान अहिलेसम्म बनाइसकेको छ त्यसलाई नेपालका सत्ता सञ्चालकहरुको साथ रहने हो भने अहिलेसम्म निकै माथि पुगिसक्ने दाबी पहिल्यैदेखि गरिन्दै आएको छ । तर अहिलेसम्म पनि त्यो ब्यवहारमा परिवर्तन आएको छैन् । पछिल्ला दिनको समाचार हेर्ने हो भनेपनि क्यानको विवादमा सरकारमा रहेका दुई मुख्य दलका नेताहरुको राय बाझिएपछि आईसीसीका प्रमुख कार्यकारी अधिकृत अन्यौलमै बेलायत फकिंएको समाचारले खेलाडीहरुको मनोबल साह्रै उचो बनाएको छ भनेर दाबी गर्न सकिने अवस्था छैन् ।

निश्चल तिवारी नामका एक युवाले क्लार्कको यो सदासयता र विश्वासलाई फेसबुकमा दिएको धन्यवादलाई स्वीकार गर्दै क्लार्कले जवाफ दिदै भनेका छन् ‘म वास्तवमै सन्दीपसँग काम गर्न इच्छुक छु र आशा छ नेपाली क्रिकेटले अझ निरन्तर प्रगति गरिरहनेछ ।’ उनको यो प्रगतिको शुभकामना अहिले विवाद गरिरहेका नेपाली राजनीतिक दलका नेताहरुले सुने कि सुनेनन् होला !


प्रकाशित: भाद्र २५, २०७३




Previous
Next Post »