काठमाडौंकाे मातातिर्थस्थित चिहान डाँडामा गोली चल्यो


टाटासुमो छोडेर दुई व्यक्ति फरार, सुमोमा फेला पर्‍यो सेफ

भाद्र २३, २०७३- बिहीबार बिहान काठमाडौंको मातातिर्थस्थित चिहान डाँडामा प्रहरी र शंकास्पद व्यक्तिहरुबीच गोली हानाहान भएको छ ।

महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले घटनाको पुष्टि गरे । उनको अनुसार मातातिर्थको चिहान डाँडा हुँदै मकवानपुर जाने कच्चि सडकमा टाटासुमो गुडेको देखेपछि प्रहरीले शंका लागि पछ्याउँदा टाटासुमोबाट प्रहरी माथि गोली प्रहार भएपछि प्रहरीको तर्फबाट पनि जवाफी फायर भएको हो ।

‘हत्तपत्त गाडी नगुड्ने ठाउँमा गाडी देखेपछि प्रहरीले पिछा गर्‍यो । उताबाट दुई राउन्ड फायर भएपछि हामीले पनि फायर गर्‍यौं,’ उनले भने, ‘हामीले पनि फायर गरेपछि उनीहरुले गाडी छोडेर भागे । हामी उनीहरुको खोजी गरिरहेका छौं ।’

प्रहरीले टाटासुमोमा चारजना सवार रहेकाे बताएकाे छ । ना१ज ३९४८ नम्बरकाे उक्त गाडीमा प्रहरीले एउटा दुई फिट अग्लाे सेफ फेला पनि पारेको छ । प्रहरीले उक्त सेफ कतैबाट चोरी गरी ल्याइएको हुनसक्ने आशंका गरेको छ ।

‘हामीले उनीहरुले छोडेर भागेको सेफ फेला पारेका छौं,’ एसपी कार्कीले भने, ‘त्यसलाई खोल्ने प्रयासमा छौं ।’

प्रहरीका अनुसार गाडी धनी पत्ता लगाएर उनी मार्फत फरार व्यक्तिहरुकाे पहिचान खुलाउने प्रयास भइरहेकाे छ । यद्यपि गाडी धनीकाे बारे पनि प्रहरीले जनकारी प्राप्त गरीसकेकाे छैन ।  


प्रकाशित: भाद्र २३, २०७३


Previous
Next Post »