चिनियाँ पक्षद्वारा राष्ट्रपतिको भ्रमण रद्द बारे आधिकारिक धारणा सार्वजनिक

चिनियाँ पक्षद्वारा राष्ट्रपतिको भ्रमण रद्द बारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौँ– चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न भ्रमण रद्द भएको भनी मिडियामा आएका समाचारहरुबारे चिनले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।

चिनियाँ विदेश मन्त्रालयले सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता हुआ चुनयिङले कुटनीतिक च्यानलहरुमार्फत् नेपालसँग कुराकानी भइरहेको, र अहिलेसम्म भ्रमण बारे रद्द गर्ने बारे कुनै निर्णय नभएको जानकारी दिइन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले चीनसँगको सम्बन्ध विकासमा महत्त्व दिएकोमा चीन सरकारले प्रशंसा गरेको जानकारी पनि उनले उक्त पत्रकार सम्मेलनमा दिइन्।

‘उच्चस्तरीय आदानप्रदानबारे दुई पक्षबीच निरन्तर छलफल भइरहेको र मिति तय नभैसकेको अवस्थामा भ्रमण नै रद्द भयो भनेर भन्न सकिन्न’, हुवाले भनिन्, ‘चीनले नेपालको नयाँ सरकारलाई महत्व दिएको छ र नेपालसँग नयाँ दुई पक्षीय सम्बन्ध विकास गर्न चाहन्छ।’

यसअघि नेपालको परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै भ्रमण स्थगित भएको समाचारको खण्डन गरेको थियो।

यसअघि साउथ चाइना मर्निङ पोस्टले भारतमा असोज २९ र ३० मा हुने ब्रिक्स सम्मेलनबाट फर्कने क्रममा असोज ३० गते नेपाल भ्रमण गर्न सक्ने समाचार प्रकाशन गरेको थियो। समाचारमा यो भ्रमणलाई दक्षिण एसियामा प्रभाव बढाउने चीनको संघर्षमा प्रमुख भूमिकामा रुपमा हेरिएको विश्लेषण गरिएको थियो।

सन् १९९६ मा तत्कालीन राष्ट्रपति जियाङ जेमिनले नेपालको औपचारिक भ्रमण गरेयता उत्तरी छिमेकीबाट उच्चस्तरीय भ्रमण हुन सकेको छैन। यस पटक उक्त भ्रमणको अपेक्षा नेपाल र चिन दुवै देशले गरेका छन् ।


Previous
Next Post »