सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध

सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध


सिन्धुली-  सुख्खा पहिरोले मध्य पहाडी लोकमार्गको सिन्धुली सडकखण्ड अवरुद्ध भएको छ ।  सिन्धुलीको कुहिरे भिर ढाँडेडाँडास्थित मध्य पहाडी लोकमार्गमा माथिबाट सुख्खा पहिरो निरन्तर खस्दा राजमार्ग अवरुद्ध हुन पुगेको हो ।

मध्य पहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको खाङ्साङ गाविस–१ मा पर्ने कुहिरे भिर ढाँडेडाँडामा खसेको पहिरोले यातायात सञ्चालनमा अवरोध पु¥याएको छ ।

आइतबार दिउँसो झन्डै ३ बजेदेखि अचानक खस्न सुरु गरेको सुख्खा पहिरो आजसम्म पनि निरन्तर खसिरहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिए । हिजैदेखि पहिरो पन्छाउने कार्य सुरु गरिएको भए पनि माथिबाट ढुङ्गामाटो झर्ने क्रम नरोकिँदा पहिरो पन्छाउन समस्या भइरहेको उनले बताए ।

कुहिरेभिर ढाँडेडाँडामा सुख्खा पहिरो जाँदा हुन सक्ने सम्भावित दुर्घटनालाई रोक्न र पहिरो पन्छाउन अस्थायी प्रहरी पोष्ट खाङ्साङबाट प्रहरी टोली परिचालन गरिएको जिप्रका, सिन्धुलीले जनाएको छ ।

यस्तै लोकमार्गमा खसेको पहिरो पन्छाउन प्रहरी टोली र सरोकारवाला निकायसँग समन्वय गरी जेसिभीको सहयोगमा केही पहिरो पन्छाइएको छ ।
आइतबारदेखि खसिरहेको पहिरोका कारण सिन्धुलीदेखि घुर्मीका साथै राजधानीबाट घुर्मी, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु हिँडेका यात्रु विचल्लीमा परेका छन् । यस्तै घुर्मी, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बुलगायतका स्थानबाट राजधानी हिँडेका यात्रु पनि अलपत्र परेका छन् ।

यस्तै आज बिहानैदेखिको अविरल वर्षाका कारणसमेत मध्य पहाडी लोकमार्गको अन्य स्थानमा पहिरो खसेको छ । सडकको माथि पहाडबाट पहिरो खस्दा लोकमार्ग अन्य स्थानमा पनि अवरोध भएको जिप्रका, सिन्धुलीले जनाएको छ ।


Previous
Next Post »