कुवेतमा २२ जना नेपाली अलपत्र उद्धार गर्न पीडितको अनुरोध

कुवेतमा २२ जना नेपाली अलपत्र
उद्धार गर्न पीडितको अनुरोध

कुवेती कम्पनीको क्याम्पमा बस्दै आएका अलपत्र नेपाली कामदार ।
भाद्र २७, २०७३- वैदेशिक रोजगारका लागि कुवेतमा पुगेका २२ जना नेपाली कुवेती कम्पनीले भिसा दिलाउन नसकेपछि अलपत्र परेका छन् । जसमा १६ जना कामदारको आवासीय अनुमति पत्र (भिसा) लागेको छैन । ६ जनासँग काम गर्ने अनुमतिसहतिको भिसा भएपनि कम्पनीले काम दिन सकेको छैन । 

कुवेतस्थित ‘खलिफा दद् अल—दबबाउस एण्ड ब्रोस कम्पनी लिमिटेड’ आर्थिक संकटमा परेपछि त्यहाँ कार्यरत २२ नेपाली तथा १०० भन्दा बढी भारतीय कामदारलाई झन्डै ६ महिनादेखि काम दिन सकेको छैन । 

ती कामदारले गएदेखि एक महिना १५ दिन मात्रै काममा लगाइएको थियो । उनीहरु गत जनवरी ७ मा कुवेत पुगेका थिए । ‘हामीलाई ग्यास प्लान्टभित्र निर्माणधीन भवनको स्टील फिक्सिङको काममा लगाएको थियो । सुरुको तीन महिनासम्म गेट पास बनेको थियो । पछि कम्पनी आर्थिक संकटमा फसेसँगै आवासीय अनुमति (भिसा) दिलाउन नसकेपछि हामीलाई काम गर्न दिइएन,’ विराटचोक, मोरङका प्रकास धमलाले कान्तिपुरलाई फोनमा भने, ‘कम्पनीले भिसा लगाइदिन्छु भन्दा भन्दै यति धेरै महिना बितिसक्यो । त्यसपछि हामीलाई अन्य कतै पनि काममा लगाइएको छैन् ।’

कम्पनीले २२ जना नेपालीमा ६ जनाको मात्रै भिसा लगाउन सफल भएको छ । धमलाका अनुसार काम नदिए पनि तीन महिनासम्मको तलब र खाने प्रबन्ध कम्पनीले मिलाएको थियो । 

कुवेतको महबुल्ला ब्लक—२ को स्ट्रिट नं. ३५ स्थित कम्पनीको क्याम्पमा बस्दै आएका उनीहरु दुई वर्षे करार पत्र गरी न्युनतम तलब ८० कुवेती दिनार (२८ हजार नेपाली रुपैयाँ)मा काम गर्न पुगेका थिए । ती कामदारलाई काठमाडौंस्थित ‘फोकस नेपाल ओभरसिज’ले पठाएको पीडित कामदारले बताए । उनीहरुले म्यानपावरलाई ८० हजारदेखि एकलाख रुपैयाँसम्म बुझाएर गएको बताए । 
‘हाम्रो कुवेतको बसाई अवैधानिक भइसकेको छ । प्रहरीबाट पक्राउ हुने डरले नेपाली दूतावासमा उजुरी दिन पनि सकेको छैनौं’, अर्का पीडित उदयपुरका गंगाबहादुर रोइटा मगरले भने । 

अहिले उनीहरुलाई कम्पनीले खाना समेत उपलब्ध गराउन छाडेको छ । कम्पनीले नेपाल पठाउने भन्दै दुईपटक कागजमा दस्तखत गराएपनि घरफिर्तीको काम अगाडि बढेको छैन । 

कुवेतको नियम अनुसार कामदरले कुवेतको भिसा सकिएको दिनदेखिको जरीवाना तिरेपछि मात्रै घरफिर्ती कागज बन्छ । यो जरीवाना कम्पनीले नै तिरीदिनुपर्छ । 

अलपत्र पर्नेमा मोरङका अनिल चौधरी, कृष्णलाल खवास, सन्तकुमार दनुवार, शंकर कुमाल दनुवार, सोबिन कुमार खवास, कम्मलप्रसाद राजवंशी, दाङका सर्जन चौधरी, धरानका दिलबहादुर कुमाल, सर्लाहीका उमेश पश्वान र जनकपुरका गणेश दास रहेका छन् । 

कुवेतमा क्रियाशील जिफन्ट सपोर्ट समुहले पीडितलाई तत्कालको लागि खाद्यान्य सहयोग गरेको छ । ‘अहिले हामीले खाद्यान्य सहयोग जारी राखेका छौं । उद्धार गरेर पठाउन नेपाली दूतावास र म्यानपावरसँग समन्वय गरिरहेका छौं,’ समुहका अध्यक्ष अर्जुनबहादुर बस्नेतले कान्तिपुरलाई भने । 


प्रकाशित: भाद्र २७, २०७३


Previous
Next Post »