घडेरी सम्याउँदा झरेको पहिरोले अस्पताल जोखिममा

घडेरी सम्याउँदा झरेको पहिरोले अस्पताल जोखिममा


भाद्र २७, २०७३- नयाँ भवन निर्माणका लागि घडेरी सम्याउनेक्रममा पहिरो झरेपछि जिल्ला अस्पताल खोटाङ जोखिममा परेको छ । ठेकेदार कम्पनीले स्काभेटर लगाएर घडेरी सम्याउँदा पहिरो झर्न थालेपछि अस्पताल प्रशासन, शव परीक्षण गृह र दुईवटा शौचालय भवन जोखिममा परेको हो ।

भवन निर्माण गर्न लागिएको ठाउामा घडेरी सम्याउँदा पानी उब्जिएर पहिरो झर्न थालेपछि समस्या भएको ठेकेदार कुमार आचार्यले बताए । ‘एक्साभेटर लगेर सम्याउन थाले लगत्तै माथिल्लो भाग बगेर झर्न थाल्यो ।’ आचार्यले भने, ‘लगातार पहिरो झरेपछि अहिले काम रोकिएको छ ।’

पहिरोका कारण खर्च बढ्ने भएकाले रकम थप गरिनु पर्ने आचार्यले बताए । पहिरो झर्नेक्रम नरोकिए पछि जल उत्पन्न डिभिजन कार्यालयको सहयोगमा जाली हाल्ने काम गरेपनि नरोकिएपछि झनै समस्या भएको जनाइएको छ ।

पहिरोले अस्पताल प्रशासनको जगसमेत तानेर लगेपछि दैनिक कामकाजमा समस्या भएको जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका प्रमुख चिकित्सक रामबहादुर केसीले बताए । अस्पताल परिसर भित्र पहिरो झरेपछि सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालको रोहबरमा जिल्ला प्रहरी कार्यालयले सर्जमिन मुचुल्का तयार गरेको छ ।

दुई वर्षभित्र निर्माण सम्पन्न गरेर अस्पताललाई बुझाउनेगरि सम्झौता भएको भवन अढाइतले हुने सहरी विकास भवन डिभिजन शाखा कार्यालय खोटाङका प्रमुख इन्जिनियर भुपाल मगरले बताए । कार्यालय प्रयोजनका लागि बनाउन लागिएको भवन खानी निर्माण सेवा प्रा.लि.ले ठेक्का पारेको हो ।

सहरी विकास भवन डिभिजन कार्यालय उदयपुरको दुई करोड ३६ लाख रुपैयाँ लगानीमा भवन निर्माण गर्न लागिएको अस्पताल विकास समितिले जनाएको छ । वि.सं. २०४८ सालमा स्थापना भएको जिल्ला अस्पताल खोटाङमा हाल भवन अभाव हुँदा समस्या रहेको विकास समितिका अध्यक्ष नारायण जोशीले जनाए ।


Previous
Next Post »