बहिर्गमित लडाकुको कार्यक्रममा प्रहरी हस्तक्षेप

बहिर्गमित लडाकुको कार्यक्रममा प्रहरी हस्तक्षेप
भदौ २७  
ललितपुर–सरकारले दिने भनेको २ लाख नदिनु भनेर सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशको विरोधमा वहिर्गमित लडाकुले ललितपुरको पुल्चोकमा गरेको कार्यक्रममा प्रहरी हस्तक्षेप भएको छ ।
सोमबार पुल्चोकमा रहेको युएनडीपीको कार्यालय अगाडि भएको धर्ना कार्यक्रममा प्रहरी हस्तक्षेप भएको हो । धर्ना चलिरहेको वेला एक्कासी प्रहरी हस्तक्षेप भएको वहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संर्घष समितिका इन्चार्ज लालचन्द्र बिकले रातोपाटीलाई जानकारी दिए ।
प्रहरीले भने निषेधित क्षेत्रमा धर्ना बसेकाले सामान्य बल प्रयोग गर्नुपरेको बताएको छ । बर्हिगमित लडाकूका अध्यक्ष अर्जुन बुढाथोकीले प्रहरी हस्तक्षेपमा ५० जना बढीलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए । उनीहरुलाई जावलाखेलस्थित प्रहरी परिसरमा राखिएको बताइएको छ ।

यसअघि पनि सो स्थानमा यस्ता खाले कार्यक्रम हुने गरेको कारण सो स्थान निषेधित क्षेत्र भएको वारेमा आफूहरुलाई थाहा नभएको कार्यक्रममा सहभागी भएका एक सदस्यले वताए ।
शान्तिपूर्ण धर्नामा वसेका पूर्व लडाकुको कार्यक्रममा प्रहरी हस्तक्षेप हुनु अमानवियताको पराकाष्ठा भएको माओवादी केन्द्रका नेता प्रकाश रोकायाले प्रतिक्रिया दिए ।
अयोग्य लडाकू मर्यादित ढंगले धर्ना बसेको भएपनि युएनका कर्मचारीले अशिष्ट व्यवहार गरेको आफूले देखेको माओवादी केन्द्रका नेता मणी थापाले बताए ।
लडाकूका मागहरु जायज हुँदाहुँदै आन्दोलनलाई कमजोर पार्न प्रहरी हस्तक्षेप गराइएको उनले आरोप लगाए । 

शान्तिपूर्ण प्रदर्शन गर्दै आएका बहिर्गमित लडाकुले आइतवार पनि माइतिघर मण्डलामा कार्यक्रम गरेका थिए ।
केपी ओली नेतृत्वको सरकारले वजेटमार्फत अयोग्य लडाकुलाई २ लाख दिने निर्णय गरेपनि उनीहरुलाई रकम दिन नहुने भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
तर, अदालतले सो रकम दिने कार्य रोक्नका लागि अन्तरिम आदेश दिएपछि अयोग्य लडाकुहरु आन्दोलित भएका हुन् । उनीहरुले आफूहरुमाथि लगाइएको ‘अयोग्य’ को विल्लापनि खारेज गरिनुपर्ने माग राखेका छन् ।


Previous
Next Post »