व्यङ्ग्य : पहाडे–राष्ट्रवाद बचाउन ‘लाहुरे–पेटी’

व्यङ्ग्य : पहाडे–राष्ट्रवाद बचाउन ‘लाहुरे–पेटी’


आकाशको सूर्य रापिलो छ अचेल । बादल भएनभने चरक्क पोल्छ र पसिना तर्तरी झार्छ । यता सूर्य छापका एमालेहरु भने सत्ताबाट बाहिरिएपछि चिसा भएका छन् । चिसोले निमोनिया भएझैं केही त बर्बराउन थालेका छन् । केही दिन अगाडि दङ्गेली पोखरेलले ‘काला’ प्रसङ्ग निकालेर ‘भँडास’ फाले । त्यसअघि अछामी भीम रावलको ‘फन्टुसी’ तर्क पनि सुनिएकै हो । भन्नेहरु भन्छन् : ‘एमालेमा अहिले पागल–प्रलापको ‘सिन्ड्रोम’ देखिएको छ । उनीहरु सत्ता र भत्ता नपाएपछि लत्ताकपडा नै खोल्न उद्यत बनेका छन् ।’

एक नाति–जर्नेल र अर्का भाँतीका एमाले कामरेडबीच एउटा अचम्मको पोशाक र पहिरन स्टाइल मिल्छ । राप्रपाका पशुपति र अछामे भीम रावल चिटिक्क दौरा सुरुवालमा सजिएर मोटो लाहुरे–पेटी लगाएर हिँड्छन् । पशुपतिको पहिरन पछ्याएका रावलले यो पेटी बाँध्नुको पछाडि दुुइटा फाइदा देखेका छन् । एउटा ढाड दुखेको सञ्चो हुने अर्को बढेको पेटलाई थिचाएर स्लिम देखिने ।

राम्ररी थाहा छ रावललाई आफ्नो खान्की, पेटको साइज र बढेको बोसोको आयतन । ‘कम्युनिस्ट’ सिद्धान्त छोडेर ‘कम–निष्ठा’को एमालेको विभिन्न सत्ता–कालखण्डमा उनले कमाउनु कमाए । कमाएपछि सौख र सौन्दर्य बढ्यो । पार्टीमा लेबी बुझाएर मात्रै पुगेन । ‘सू.प.’बाट हूलका हूल कार्यकर्ता र नेताहरु आएर ‘गाँठ’ माग्न थाले । त्यही ‘गाँठ’ बचाउन उनले आफूलाई ‘बिल्लीबाठ’को नियति उन्मुख गराएका हुन् ।

एमालेभित्र माकुने दर्शनका अनुयायी भए पनि उनी ओलीको ‘नौलो–धनवाद’बाट बढी प्रभावित छन् । बोल्नुपर्दा जनताको बहुदलीय जनवादको चर्चा धेरै गर्छन् उनी । तर मनमा भने उनको अखण्ड सुदूरपश्चिमको ‘गनगनवाद’ हाबी छ । चर्केर बोल्नु र मसिनो स्वरमा सहमति जनाउनु रावलको ‘घुक्र्याइँ–सूत्र’ हो । यही सूत्रबीच अहिले उनी निधि–संवादका कारण चर्चामा छन् ।

चर्चा कमाउन बेलाबखत पर्चा बाँड्छन् उनी । विद्यार्थी कालमा साँफेबगरमा जोडिएको अनेरास्ववियुको पर्चा बाँड्ने कामपछि भूमिगतकालमा उनले पाटनका भट्टीहरुमा ‘छ्याङ’का लागि ‘मर्चा’ पुर्याउने काम गरेका थिए । तीसको दशक सकिएर चालीस साल लाग्दै गर्दा जुन सुकुटे हालतमा उनी थिए । त्यसलाई देख्नेहरुले भन्थे : ‘नाम भने ‘भीम’ रावल छ तर शरीर भने ‘त्यान्द्रो–पराल’जस्तो छ ।’ यही त्यान्द्रो परालजस्तो परिचयबीच अनेकन् खुराफात र तिकडमबाजी गरेर उनले अहिले अजङ्गको ‘कुन्यु’जस्तो चिनारी बनाइसकेका छन् ।

रावलका बारेमा कतिपयले टिप्पणी गर्छन्– ‘बन्दुके कामरेड’ भनेर । यस टिप्पणीका पछाडि एउटा रोचक कथा छ । खासगरी प्रवीणता प्रमाण–पत्र तहको पढाइ सकेपछि उनी ‘सेकेन्ड–लेफ्टिनेन्ट’ हुन चाहन्थे । जसलाई जहाँ भेटे पनि रावलले ‘बन्दुक चलाएर’ आर्मी बन्ने प्रसङ्ग उठाउँथे त्यसबेला । उनी भन्दथे : ‘सरकारी रासनको ‘चामल’ खाएर एक दिन यो ‘रावल’ले लक्ष्य प्राप्तिको बन्दुक चलाउनेछ ।’
विडम्बना, रावलले सेनाको सरकारी ‘चामल’ त खान पाए । तर उनले सेनाका रुपमा ‘बन्दुक’ बोक्न चाहिँ पाएनन् । त्यसकारण उनमा ठूलो कुण्ठा थियो त्यो सौख पूरा गर्ने । अन्ततः उनले रक्षामन्त्रीका रुपमा आफ्नो दमित इच्छा पूरा गरे । रक्षामन्त्रीका रुपमा झण्डा पूजा गरेका दिन रावलले आफन्तहरुबीच भने : ‘अब मलाई कसले भन्न सक्छ र रोक्न सक्छ बन्दुक बोक्न र चलाउनबाट ।’ त्यही माहौल, चिन्तन र परिवेशले रावलको सोच, शैली र सिद्धान्त फेरिएको छ । अहिले उनी टिभी देख्नासाथ कुर्र्लने भएका छन् । सत्ताबाट बन्दुक हटेर ‘टाइँ टाइँ फिस्स…’ भएपछि उनी विक्षिप्त शैलीमा तर्सिने मनोवृत्तिमा पुगेका छन् ।
आधा दर्जन उपप्रधानमन्त्रीहरुको भीडमा लामबद्ध भएर शपथ खाएको दिनदेखि बैङ्ककबाट ओली फर्कंदा एयरपोर्टमा रिसिभ गर्न गएका बखतसम्म रावलले दौरा–सुरुवाल र पेटीको पहिरन छोडेनन् । यही लवाइलाई राष्ट्रियताको खोक्रो–नारा बनाउँदै बेलाबखत उनी कुर्लिए पनि । रावलको डक्ट्रिन छ– ‘सुट’ हिमाली दर्शन हो । ‘कुर्था–पाइजामा’ तराईको तस्बिर हो । यही ‘दौरा–सुरुवाल’ नै हाम्रो खास पहाडको परिचय हो । वास्तवमा रावलहरुको यो मनोवृत्ति बुझेर राजेन्द्र महतोहरुले भन्ने गरेको ‘पहाडे–राष्ट्रवाद’को धोती यहीँनेर खुस्केको देखिन्छ ।

तथ्य र तथ्याङ्क खुस्केर नग्न भइसक्दा पनि उनीहरु भने फेरि प्रतिपक्षी दृष्टिकोणमा लाज ढाक्ने कोसिसमा छन् । यसलाई सबैले बुझ्नुपर्यो ।


Previous
Next Post »