राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता



काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले यही भदौ ३० गतेबाट गर्न लागेको भारतको राजकीय भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज भएको भेटवार्तामा राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री दाहालले भारत भ्रमणका बारेमा हालसम्म भएका तयारीको जानकारी गराएका थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुनको समेत उपस्थितिमा प्रधानमन्त्री दाहालले हालसम्मको तयारी तथा सरकारको पछिल्लो काम कारबाहीका बारेमा समेत राष्ट्रपतिलाई जानकारी गराएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

भेटका क्रममा राष्ट्रपति भण्डारीले उच्चस्तरीय वैदेशिक भ्रमण हुन लागेकामा खुसी व्यक्त गर्दै असंलग्न राष्ट्रको सत्रौँ शिखर सम्मेलनको पूर्ण सफलताको कामना गरेकाे र दुवै भ्रमण फलदायी हुन सकून् भन्ने शुभेच्छासहित उपराष्ट्रपति र प्रधानमन्त्री दुवैलाई शुभयात्राको कामना गरेकाे राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धु्रवराज आचार्यले जानकारी दिए ।

सो अवसरमा उपराष्ट्रपति पुनले आगामी असोज १ गतेदेखि भेनेजुयलामा आयोजना गरिएको असंलग्न मुलुकको शिखर सम्मेलनमा सहभागी हुन लागेकाे विषयमा समेत कुराकानी भएको थियो । उपराष्ट्रपति पुनको नेतृत्वमा एक प्रतिनिधिमण्डल उक्त सम्मेलनमा भाग दिन भेनेजुयला जाँदै छन् ।

सो अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले उपराष्ट्रपति पुनलाई शिखर सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुन लाग्नुभएकामा बधाइ दिँदै भ्रमणको सफलताको कामना गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।

आजै स्वदेश फर्किएका  परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति भण्डारीसँग आफ्नो भारत भ्रमणका क्रममा भारतीय पक्षसँग भएको छलफलका बारेमा जानकारी गराएका थिए ।

परराष्ट्र मन्त्री डा महत, नेपाल सरकारका मुख्यसचिव, राष्ट्रपतिको कार्यालयका सचिव, परराष्ट्र मन्त्रालयका सचिवलगायत नेपाल सरकारका उच्च अधिकारीसमेतको उपस्थिति थियो ।

प्रधानमन्त्री दाहाल यही भदौ ३० गते चारदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दै छन् ।

प्रधानमन्त्री दाहाललाई भारतले विशेष अथितिका रुपमा राष्ट्रपति भवनमा राख्ने भएको छ ।  प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, केही सांसद, विभिन्न मन्त्रालयका सचिव एवम् उच्चापदस्थ अधिकारी, सञ्चारकर्मी एवम् उद्योगी एवम् व्यवसायीको सहभागिता रहनेछ ।

भदौ ३१ गते प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ भने सोही दिन भारतीय समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् ।

सोही दिन केही भारतीय मन्त्रीले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।


Previous
Next Post »