डा. सुवेदीसहित चारविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

डा. सुवेदीसहित चारविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
- १ करोड ६ लाख ८३ हजार बिगो दाबी - आरोप ठहर भए ४ देखि ६ बर्षसम्म कैद सजाय हुने


भाद्र २६, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अञ्चल अस्पताल नेपालगन्जका तत्कालिन निमित्त प्रमुख डा.पिताम्बर सुवेदीसहित चार जनाविरुद्ध एक करोड ६ लाख बिगो दाबीसहित आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

डा. सुवेदीसहित अस्पतालका स्टोरकिपर माधवप्रसाद ज्ञवाली, लेखापाल मनिराम बर्मा र लेखा अधिकृत पदमबहादुर जिसी समेतले आर्थिक बर्ष ०७०/०७१ मा आर्थिक अनियमितता गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो । अख्तियारले १ करोड ६ लाख ८३ हजार ७ सय ८७ रुपैया बिगो दाबी गरेको छ । त्यसमध्ये अस्पतालका निमित्त प्रमुख डा सुबेदीसंग ४२ लाख ९० हजार ८ सय १७ रुपैयाँ, लेखापाल बर्मासँग ४२ लाख ३ हजार ८ सय १७ रुपैयाँ, लेखा अधिकृत जिसीसँग ८७ हजार र स्टोरकिपर ज्ञवालीसँग २१ लाख २ हजार १ सय ५३ रुपैया बिगो मागिएको छ ।

उनीहरुविरुद्ध अस्पतालको आमा सुरक्षा कार्यक्रम तथा सामाजिक सेवा ईकाईलगायतका विभिन्न कार्यक्रमको बजेट दुरुपयोग गरी अनियमितता गरी भ्रष्टाचार गरेको अभियोग छ । त्यस्तै, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सुवेदीले अनियमित तरिकाले औषधि, सर्जिकल उपकरण, मसलन्द, मेसिनरी औजार खरिद गरी अस्पताल तथा विकास समितिको रकम हिनामिना गरेको अख्तियारले ठहर गरेको छ ।

साथै, सरकारी डाक्टरले निजी अस्पताल चलाई सरकारी अस्पतालमा कम समय दिएकोभन्ने व्यहोराको उजुरीका सम्बन्धमा पनि अनुसन्धान गरिएको उल्लेख गर्दै अख्तियारको प्रेस विज्ञप्तीमा भनिएको छ,– ‘सरकारको सम्पत्ति बदनियत गरी, हिनामिना, हानीनोक्सानी गरी आफुहरुले मासी लिई भ्रष्टाचार गरेको पुष्टि भएकाले चारै जना उपर कसुरको मात्रा अनुसार जरिवाना र कैद सजाय हुन मागदावी गर्दै विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरिएको छ ।’   

अख्तियारले डा सुवेदी र लेखापाल बर्मालाई भ्रष्टाचार निवारण ऐन ०५९ दफा ३ (१)को देहाय (छ) बमोजिम बिगो लिई ४ देखि ६ बर्षसम्म कैद सजाय दाबी गरेको छ । त्यस्तै, जिसीलाई सोही दफाको देहाय (ग) बमोजिम चार महिनादेखि ६ महिनासम्म र ज्ञवालीलाई देहाय (च) बमोजिम २ वर्ष ६ महिनादेखि ४ बर्षसम्म कैद सजाय दाबी गरिएको छ ।

अस्पतालमा भएका अनियमितताबारे उजुरी परेपछि अख्तियार अनुसन्धान आयोगले ०७१ साउनमा छापा मारी कागजपत्र लगेको थियो । डा. सुवेदी र लेखा फाँटका अधिकृतहरुमाथि झण्डै एक करोड भ्रष्टाचारको आरोप थियो । सार्वजनिक खरिद ऐन र नियमावलीविपरित औषधि, सर्जिकल उपकरण र मसलन्द खरिदको १ करोड ४४ लाख अनियमितताबारे लामो अनुसन्धानपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर भएको हो ।  



Previous
Next Post »