प्रदूषण गर्ने प्लान्टकै पक्षमा’ संसदीय रिपोर्ट

प्रदूषण गर्ने प्लान्टकै पक्षमा’ संसदीय रिपोर्ट


भाद्र २६, २०७३- संसदको वातावरण संरक्षण समितिको उपसमितिले वातावरण प्रदुषण गर्ने प्लान्टकै हितमा अनुगमन प्रतिवेदन तयार गरेको छ । सांसद राजाराम स्याङतानको संयोजकत्वमा गठित उपसमितिले आफ्नै समितिले तयार गरेको प्रतिवेदन उल्ट्याई प्रतिवेदन तयार गरेको हो ।

वातावरण समितिको उपसमितिले पहिले बागडोल– ४ मा रहेको डिजेलबाट सञ्चालित आसफाल्ट प्लान्ट (पीच तयार पार्ने मेसिन) स्थानान्तरण गर्नुपर्ने निष्र्कष निकालेको थियो । उपसमितिले आइतबार ललितपुरको बागडोलस्थित प्लान्ट रहेको ठाउँ अनुगमन गरेको थियो । स्थानीयले अनुगमन टोलीसमक्ष स्याङ्तान उपसमितिले वातावरण प्रदूषण गर्ने प्लान्टकै पक्षमा प्रतिवेदन दिएको बताए । उनीहरुले सुरुको प्रतिवेदनलाई लत्याएर स्याङतान नेतृत्वको उपसमिति र नेपाल आर्दश निर्माण कम्पनीका सञ्चालकबीचको मिलेमतोमा प्लान्टको पक्षमो रिपोर्ट तयार पारेको आरोप लगाए ।

उनीहरुले अनुगमन टोलीलाई प्रतिवेदनमा प्लान्ट बारे विचार लिइएका स्थानीय नागरिक सरोकार मञ्चका सचिव भनिएका लक्ष्मी गेलाल, युरेसिया रेयुकार्य बागमती अभियान्त भनिएका पुष्कर गजुरेल, सामुदायिक सेवा केन्द्र भनिएका राजेशकुार महर्जन, स्थानीय क्लबहरुको प्रतिनिघि भनिएका दान थापा लगायत व्यक्ति बागडोलबासी नभई अन्यत्र ठाउँका भएको भन्दै विरोध गरेका छन् । विचार लिइएका ती व्यक्तिहरुले उक्त प्लान्टले वातावरणमा असर नगर्ने, मुलुकको समृद्धिका लागि काम गरिरहेको र राज्यलाई योगदान गरेकाले बन्द गर्न नहुने, रोजगारीको अवसर सिर्जना गरेको लगायत धारणा व्यक्त गरेको प्रतिवेदनमा उल्लेख छ ।

आसफाल्ट प्लान्ट पीडित संघर्ष समितिका संयोजक प्रेमबहादुर छन्त्यालले पीडित बागडोलबासीलाई विना जानकारी अनुगमन गरि मनोमानी ढंगले उद्योगको हितमा प्रतिवदेन तयार पारेको आरोप लगाए । ‘हामीलाई उक्त प्रतिवदेन मान्य छैन,’ उनले भने, ‘प्रतिवेदनमा उल्लेख भएका केहि व्यक्तिलाई हामीले बोलाएका थियौ । तर उनीहरु उपस्थित भएनन् ।’
तत्कालिन अनुगमन समितिका संयोजक सभासद स्याङतानले नागरिकता हेरेर मात्र व्यक्तिहरुसँग विचार लिने कुरा नआएको बताए । ‘अनुगमन क्रममा उद्योग वरिपरि भेटिएका व्यक्तिहरुसँग विचार लिइएको हो,’ उनले दाबी गरे, ‘अनुगमनकोक्रममा स्थानीय संघर्ष समिति छ भनेर थाहा थिएन ।’ उनले अनुगमन टोलीलाई कम्पनी दर्ता कुन जिल्लामा भएको बारेमा टोलीलाई सरोकार नहुने दाबी गरे । ‘हामीलाई प्लान्ट स्थानान्तरण गर्ने अधिकार पनि छैन,’ उनले भने, ‘मुलुकमा प्लान्ट सञ्चालन सम्बन्धि निति नभएको सन्दर्भमा हामी निति निर्माणमा जोड दिन्छौ ।’

उक्त प्लान्ट सञ्चालकलाई उद्योग विभागले उद्योग दर्ता प्रमाणपत्रमा तोकिएको स्थान भन्दा अन्यत्र बागडोलमा सञ्चालन गरेको भन्दै ५ लाख जरिवाना तिराइसकेको छ । साथै तोकिएको स्थान काठमाडौ सेतो दरवारमा सञ्चालन गर्न निर्देशन दिएको थियो । वातावरण विभागले उद्योग निरीक्षणका क्रममा वातावरण प्रदुषण गरेका कारण ५० हजार जरिवाना तिराइसकेको छ । त्यस्तै उपमहानगरपालिकाले प्लान्ट सञ्चालन गर्न नपाउने गरि व्यवसाय दर्तासमेत खारेज गरिसकेको छ । तर पनि उक्त ठाउँबाट प्लान्ट स्थानान्तरण गर्न सकेको छैन ।

उद्योग परिसरमा कम्पनी विरुद्ध आइतबार नाराबाजी गरेका थिए । अनुगमन टोलीलाई बागडालबासीले बस्तीमा स्थापना गरेको उद्योग कुन प्रचलित नियम र कानुन अनुसार स्थापना भएको भनी प्रश्न तेस्र्याएका थिए । आसफाल्ट प्लान्ट पीडित संघर्ष समितिका संयोजक छन्त्यालले संविधानले प्रदान गरेको स्वच्छ वातावरणमा बाच्न पाउने अधिकारबाट बञ्चित भएको भन्दै विरोध गरे । गैरकानुनी रुपमा सञ्चालित प्लान्ट तत्काल हटाउनुपर्नेमा उनले जोड दिए । प्रतिउत्तरमा संसदको वातावरण संरक्षण समितिका संयोजक सभासद जनकराज चौधरीले सोमबार प्लान्टबारेमा विस्तृत रुपमा समुदायसँग छलफल गरिने बताए । ‘त्यसपछि निष्कर्ष निकाल्छौ,’ उनले भने ।




Previous
Next Post »