बुद्ध एयरमा स्याल ठोक्कियो

बुद्ध एयरमा स्याल ठोक्कियो


भाद्र २८, २०७३- मंगलबार साँझ । विराटनगरबाट आउँदै गरेको बुद्ध एयरको एटीआर ७२ विमान अवतरण गरेर कोटेश्वरतर्फको अन्तिम ट्याक्सी–वेबाट छिर्दै थियो । जहाजले एउटा स्याललाई ठोक्यो । स्याल ठाउँको ठाउँ मर्‍यो ।

गुडिरहेको विमानका चालक शैलेश महतले एयर ट्राफिक कन्ट्रोलरलाई आफ्नो जहाजले ट्याक्सी–वेमा पस्दै गर्दा स्यालसँग ठोकिएको जानकारी गराए । चालकको जानकारीपछि विमानस्थलको रात्री सिफ्टका कर्मचारी र शुरक्षाकर्मी घटनास्थल पुगे । 

बुद्ध एयरको उक्त विमान र यात्रुलाई केही भएन । बुद्ध एयरका प्रबन्धक रुपेश जोशीका अनुसार, चालकले धावनमार्गमा दुइटा स्याल ककपिटबाट चालकदलले देखेका थिए । तीमध्ये एउटा स्याल जहाजमा ठोक्किएर घटनास्थलमै मृत्यु भयो ।

 यो घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार दोस्रोपटक पुन: बन्द हुन गयो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार, बुद्ध एयरको विमानमा स्याल ठोकिएपछि विमानस्थल २२ मिनेट बन्द गर्नुपर्‍यो । ‘धावनमार्गमा रगतैरगत थियो, ७ बजेर ३१ मिनेटदेछि ७ बजेर ५३ मिनेटसम्म धावनमार्ग बन्द गर्नुपर्‍यो,’ उनले भने ।

यो घटनाका कारण ओमनको राजधानी मस्कटबाट काठमाडौं अवतरण गर्नै लागेको ओमन एयरको विमान भारतको लखनउ डाइभर्ट भयो । ‘जहाज होल्ड गर्न प्रयाप्त तेल थिएन, पाइलटले होल्डमा बस्नु भन्दा लखनउतर्फ जहाज फर्काए,’ ओमन एयरका काठमाण्डु एयरपोर्ट सर्भिस म्यानेजर भरत श्रेष्ठले भने । ‘होल्डमा बस्नका लागि आठ मिनेटभन्दा बढीका लागि इन्धन थिएन,’ श्रेष्ठले भने । यहीबेला कतारको राजधानीबाट आएको कतार र इतिहाद एयरलाइन्सका दुइटा विमान होल्डमा परेका थिए । 


पछिल्लोपटक विमानस्थलमा बढेको घाँसघारीका कारण स्यालको संख्या बढेको छ । विमानस्थल व्यवस्थापनले घास काट्ने कार्य नगरेका कारण स्याल लगायतका जंगली जनावरको गतिविधि बढेको एउटा विदेशी एयरलाइन्सका म्यानेजरले भने । ‘घाँस काटिदेउ भनेर धेरैपटक विमानस्थलका महाप्रवन्धक र प्राधिकरणका महानिर्देशकलाई भनिसक्यौं, कुनै सुनवाई नै ह्ँदैन, सानो घटनाका कारण अनेकौं आर्थिक दायित्व थपिने घटना दिनहुुँ भइरहेका छन्,’ ती स्टेशन म्यानेजरले भने ।

यसैबीच मंगलबारै नेपाल वायुसेवा निगमको जहाजको पाङ्ग्रा ब्रस्ट हुँदा एक घन्टा विमानस्थल बन्द गरिएको थियो ।


प्रकाशित: भाद्र २८, २०७३


Previous
Next Post »