बेइजिङमा नेपाली रेष्टुरेन्ट



भाद्र २५, २०७३- बेइजिङमा अब चिनियाँले रेस्टुरेन्टमा गएर मस्यौरा, गुन्द्रुक, ढिँडो, सिस्नोको खोले, साँधेको भटमास र फापरको रोटीलगायत नेपाली खानेकुरा खान पाउने भएका छन् । बेइजिङ सहरको उत्तरी भागमा रहेको प्रख्यात ओलम्पिक स्थल बर्डनेस्टको आडैमा चिनियाँ र नेपाली लगानीमा नेपाली परिकार पाक्ने नमस्ते रेस्टुरेन्ट आगामी असोज ६ बाट सञ्चालनमा आउने भएको छ ।

दुई करोड चिनियाँ युआनभन्दा बढी लगानी भएको रेस्टुरेन्टमा ७५ प्रतिशत चिनियाँ (तिब्बती) र २५ प्रतिशत नेपालीको लगानी रहेको छ । खानेकुरामा ७० प्रतिशत नेपाली र ३० प्रतिशत तिब्बती परिकार हुने रेस्टुरेन्टका प्रबन्ध निर्देशक ताइजस कक्षपतीले बताए ।

तिब्बती परिकार भए पनि चिनियाँ परिकारचाहिँ रेस्टुरेन्टमा पाइने छैन । रेस्टुरेन्ट बनाउन पाटनको कुमारी झ्याल, ढुंगेधारा, विभिन्न मन्दिरमा राखिएका घण्टीहरूलगायत इँटा पनि नेपालबाटै ल्याइएको छ । चिनियाँ सहयोगमा बनेको कारखानाले नेपालमा उत्पादन गरेको रातो चिल्लो इँटा, जसलाई काठमाडौंमा चाइनिज इँटा भनिन्छ त्यो पनि काठमाडौँबाट ल्याएर रेस्टुरेन्टको सजावट गरिएको छ । रेस्टुरेन्टको भित्री सजावटका रूपमा कुँदिएका काठ तथा ढुंगाका बुट्टाहरूले नेपालको झझल्को दिन्छ ।

रेस्टुरेन्टमा ठूलोसानो गरी २२ वटा हलहरू छन् । सानो हल ६ जनाको पारिवारिक खानाका लागि उपयुक्त छ भने मझौला जमघट गर्नका लागि २० जनासम्म अट्ने हल छ । खुल्ला रेस्टुरेन्ट १ सय ५६ जना अट्ने क्षमताको छ भने कफी सपमा ३० जना अटछन् ।  त्यसैगरी २४ जना अटाउने बार सिटिङ छ । ६० जना अटाउने एउटा हल छ । खुल्ला रेस्टुरेन्टसँगै सांस्कृतिक प्रस्तुति गर्न मिल्ने मञ्च पनि रहेको छ । रेस्टुरेन्ट पूरा सञ्चालन हुन थालेपछि ९२ जनाले रोजगारी पाउनेछन् । नेपालबाट २४ जना कामदार ल्याउने र बाँकी चिनियाँ कामदार राख्ने बताइएको छ ।


प्रकाशित: भाद्र २५, २०७३


Previous
Next Post »