हातखुट्टा बाँधिएर भारत जान्नँ : प्रधानमन्त्री


‘केही पनि नगर्ने भए भारत किन जानु र ! निगरानी गर्नुस् तर नरोक्नुस्'

भाद्र २५, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै पनि नेताले मुलुकको विकास र हितका लागि खतरा मोल्नुपर्ने बताएका छन् । उनले आफ्नो भारत भ्रमणले दुई देशको सम्बन्धमा नयाँ आयाम आउने दाबी गरेका छन् ।

नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्सले शनिबार आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमण’ विषयक अन्तक्र्रियामा प्रधानमन्त्री दाहालले भ्रमण राष्ट्रिय हित र दुई देशीय सम्बन्धमा केन्द्रित हुने बताए । ‘मैले यसलाई पनि चुनौतीपूर्ण भए पनि अवसरका रूपमा लिएको छु । नेताले रिस्क लिएन हो भने मुलुक बन्दैन । त्यो छुट दिनुपर्छ । नेपाल–भारत सम्बन्धमा समस्या मात्र राख्ने होइन । समाधान पनि खोज्न जरुरी छ,’ प्रधानमन्त्री दाहालले भने, ‘प्रधानमन्त्रीलाई हातखुट्टा बाँधिदिएर भारत पठाउनुभन्दा नपठाएकै ठीक हुन्छ । बरु नजानु भन्नुहोस् म जादिनँ ।’

उनले भ्रमणका क्रममा कुनै विवादास्पद सम्झौता नगर्ने बताए । ‘केही पनि नगर्ने भए भारत किन जानु र ! निगरानी गर्नुस् तर नरोक्नुस् । बरु बलियो बनाएर पठाउन आग्रह गर्छु,’ उनले भने, ‘पुराना अघि बढ्न नसकेका परियोजनाको टुंगो लगाउँछु ।’ नेपाल–भारत सम्बन्ध धेरै बहुआयमिक र गम्भीर रहेको उल्लेख गर्दै उनले भने, ‘यसबीचमा मैले धेरै विज्ञ र कूटनीतिज्ञको कुरा सुनेको छु ।’

भूकम्प र संविधान जारीपछि नाकाबन्दीको पीडा खेपेका नेपालीलाई भारतले खुला हृदयले सम्बोधन गर्दै सम्बन्धलाई नयाँ आयाम दिने प्रधानमन्त्री दाहालको विश्वास थियो । नेपाली जनताको मुड आफूले बुझेको भन्दै दाहालले भ्रमणका क्रममा राष्ट्रिय हितविपरीत कुनै कार्य नगर्ने वाचासमेत गरे । उनले आफ्नो भ्रमण त्रिदेशीय रणनीतिक साझेदारी, पारस्परिक सम्बन्ध सुदृढीकरण र आर्थिक समृद्धिको विषयमा केन्द्रित हुने जानकारी दिए ।

पहिलो पटक प्रधानमन्त्री हुँदा धेरै बोलेर आफूले गर्ने काम नै बिग्रिएको भन्दै अहिले त्यसमा सुधार गरेको बताए । ‘नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजाने सम्भावना पैदा भएको छ,’ माओवादी केन्द्रका अध्यक्षसमते रहेका प्रधानमन्त्री दाहालले भने, ‘मैले धेरै बोल्दा हुन लागेका कामहरू पनि बिग्रने गरेका छन् । त्यो कुरामा सधैं डराउने गरेको छु ।’ उनले भ्रमणका क्रममा विगतमा बेहोर्नुपरेको असहजतालाई समीक्षा गर्दै भोलिका दिनमा यस्तो नदोहोरिने सुनिश्चित आफूले गर्ने बताए ।

प्रधानमन्त्रीले देशको राष्ट्रिय नीतिले विदेश नीति निर्धारित गर्ने जनाउँदै भने, ‘कुनै पनि देशको विदेश नीति राष्ट्रिय नीतिकै विकसित रूप हो । देशभित्रको भावनात्मक र आन्तरिक एकता बलियो बनाएर मात्र कूटनीतिमा प्रभाव विस्तार गर्न सकिन्छ ।’ राष्ट्रवादका नाममा पहाड र मधेसबीच विवाद बढाउने काम गर्ने प्रयास भइरहेको बताए । राष्ट्रिय एकता सुदृढ गर्न नलागे राष्ट्रवादको नारा लगाउँदा लगाउँदै देश विखण्डनमा जाने उनको भनाइ थियो । संविधान संशोधन गर्दै कार्यान्वयनका लागि सबैको सहयोग हुनुपर्ने पनि उनले बताए ।  

पूर्वपरराष्ट्रमन्त्री भेखबहादुर थापाले नेपाल–भारत सम्बन्धलाई सुधार गर्दै अघि बढ्न सरकारले प्रबुद्ध ब्यक्ति समूह (ईपीजी) बनाएर काम गरिरहेको जानकारी दिए । ‘प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल–भारत सम्बन्ध थप सुदृढ र काम हुने विश्वास मेरो छ,’ उनले भने ।

अर्का पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको भ्रमणमा १९५० को सन्धिको पुरानो अडान, नि:सर्त संविधानको स्वागत, चीनसँग व्यापार र पारवहनमा भएको सम्झौताबारे समेत छलफल गर्दै भारतीयलाई विश्वस्त बनाउनुपर्ने बताए । पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले धेरै उत्साहित भएर मुलुकका लागि हित नहुने खालका सम्झौता नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएकी थिइन् ।


प्रकाशित: भाद्र २५, २०७३





Previous
Next Post »