दक्षिणको ‘प्योङयाङ ध्वस्त पार्ने योजना’

दक्षिणको ‘प्योङयाङ ध्वस्त पार्ने योजना’

उत्तरले फेरि आणविक परीक्षण गरेपछि दक्षिण कोरियामा उच्च सैन्य सतर्कता अपनाइएको छ । तस्बिर : एजेन्सी
भाद्र २७, २०७३- उत्तर कोरियाले आणविक आक्रमण गरेको खण्डमा प्योङयाङ ध्वस्त पार्ने योजनामा दक्षिण कोरिया रहेको समाचार सार्वजनिक भएको छ। एक सैनिक स्रोतले योनहाप समाचार एजेन्सीलाई ‘प्योङयाङका हरेक भाग ब्यालिस्टिक मिसाइल र विनाशकारी बमबाट ध्वस्त पारिने’ बताएको छ। सार्वजनिक लगानीको योनहाप एजेन्सी कोरियाली सरकारसँग निकै निकट मानिन्छ।

शुक्रबार मात्रै उत्तरले आफ्नो पाँचौं आणविक परीक्षण गरेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा शक्तिशालीसमेत हो। उत्तरको यो कदमपछि अन्तर्राष्ट्रिय समुदायले अबको प्रतिक्रियाका विषयमा विचार गरिरहेको छ। अमेरिकाले आफ्नो तर्फबाट थप नाकाबन्दी लगाउने बताएको छ। राष्ट्रसंघ, जापान र दक्षिण कोरियाले पनि नाकाबन्दी थप्ने सम्भावना छ। प्योङयाङले ‘निरर्थक नाकाबन्दीका धम्की एकदमै हास्यापद’ भएको प्रतिक्रिया दिएको छ।

दक्षिण कोरियाली सैनिक स्रोतले योनहापलाई बताएअनुसार सोलको आक्रमण सबैभन्दा पहिला उत्तर कोरियाली नेताहरू बस्ने क्षेत्रमा लक्षित हुनेछ। ‘प्योङयाङलाई विश्व मानचित्रबाटै हटाउने गरी आक्रमण हुनेछ,’ स्रोतलाई उद्धृत गर्दै भनिएको छ।

यसबाजी दक्षिणले पनि उत्तरकै जस्तो आङ जिरिङ्ङ हुने खालको धम्कीपूर्ण भाषा प्रयोग गरेको हो। किम जोङले उनको आणविक महत्त्वाकांक्षालाई नियन्त्रण गर्न नसकेका कारण अहिले दक्षिण कोरियाली सरकारको आफ्नै भूमिमा समेत आलोचना भइरहेको छ। शुक्रबारको नयाँ परीक्षणपछि दक्षिणले पनि यस्तो खाले योजना बनाइरहेको भन्ने सूचना संसद्लाई नै दिइएको हो।

यसैबीच उत्तर कोरियाका लागि विशेष अमेरिकी दूतले वासिङ्टनसमेत प्योङयाङमाथि एकपक्षीय कारबाहीको विचारमा पुगेको बताएका छन्। ‘उत्तरले यसैगरी नै यस्तो खाले खतरा बढाइरहने हो भने हामीले सम्भव सबै कुरा गर्नुपर्ने हुन्छ, प्रतिरक्षाका लागि,’ विशेष दूत सुन किमले भने।


प्रकाशित: भाद्र २७, २०७३




Previous
Next Post »