उपत्यकामा साना बस र टेम्पो हटाउने प्रक्रिया सुरु

उपत्यकामा साना बस र टेम्पो हटाउने प्रक्रिया सुरु


पहिलो चरणमा ३५ टेम्पो र २६ माइक्रो विस्थापित हुने 
काठमाडौं उपत्यकामा साना सार्वजनिक सवारी साधन हटाएर ठूला बस सञ्चालन गर्ने प्रक्रियाको औपचारिक सुरुवात भएको छ। 

यसको लागि पहिलो चरणमा काठमाडौंको गोगंवु, लैनचौर हुँदै सिनामंगलसम्मको रुटमा साना सवारी विस्थापन गरिने भएको छ। त्यो रुटमा ठूला १७ वटा बसहरु सञ्चालन हुने भएका छन्। 

यातायात व्यवस्था विभाग र उक्त रुटमा माइक्रो बस र टेम्पो सञ्चालन गरिरहेका व्यवसायी संघबीच साना माइक्रो र टेम्पो हटाएर ठूला सवारी सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ। 

साना सार्वजनिक सवारीसाधानलाई विस्थापित गरेर उपत्यकाको सवारी व्यवस्थापन गर्ने सरकारी योजना अनुरुप उक्त प्रक्रियालाई अगाडि बढाइएको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए। 

एसियाली विकास बैंक (एडिबी)ले  ‘ग्लोबल इन्भारमेन्ट फण्ड’बाट उपलब्ध गराउने रकमबाट उक्त क्षेत्रमा पहिलो चरणमा १७ वटा ठूला, सुविधासम्पन्न बसहरु सञ्चालन हुने श्रेष्ठले बताए। 

एडिबीले उपलब्ध गराएको रकम नगरविकास कोषमार्फत सोही रुटमा  यातायात संचालन गरिरहेका व्यावसायीहरुलाई माग र आवश्यकता अनुसार पाँच प्रतिशतको सहुलियत व्याजमा ऋण दिइने छ। त्यही रकमबाट बसहरु किन्ने सहमति भएको श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए। सरकारको जमानीमा व्यवसायीहरुलाई ऋण दिन लागिएको हो। 

सहरी सवारीका हरेक मापदण्ड पुरा गरेका बसहरुमात्र सञ्चालन हुने र त्यस्ता बसहरु आपांगमैत्री, वातावरणमैत्री हुने श्रेष्ठले बताए। 

‘यात्रु कम बोक्ने, ट्राफिक समस्या मात्र बढाउने साना सवारी साधनको बाहुल्यता हटाएर यातायात व्यवस्थापनका लागि नयाँ काम थालिएको हो’ श्रेष्ठले भने। 

उक्त रुटमा नयाँ १७ वटा बसहरु सञ्चालनमा आएपछि हाल सञ्चालनमा रहेका ३५ भन्दा बढी टेम्पो र २६ वटाभन्दा बढी माइक्रोबसहरु विस्थापित हुनेछन्। 

सहरी यातायातलाई व्यवस्थित गर्ने सरकारको दीर्घकालीन योजनाअनुरुपको यो पहिलो कदम भएको श्रेष्ठले स्पष्ट पारे। आगामी दिनमा व्यावसायीहरुसँगको सहकार्यमा साना सवारी साधन हटाई यातायात व्यवस्थापन प्रक्रियालाई विस्तार गर्दै लगिने श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, भाद्र २६, २०७३ १५:४४:२८
Previous
Next Post »