क्रिश्चियनले मागे समानुपातिक प्रतिनिधित्व र राज्यकोषबाट बजेट


एनजीओको धर्म प्रचारमा रोक नलगाउन महासंघको चेतावनी
 
२४ भदौ, काठमाडौं । नेपालका क्रिश्चियन धर्मावलम्बीहरुको राष्ट्रिय भेलाले राज्यका सबै निकायमा क्रिश्चियन समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।

सरकारले मधेसी मोर्चाको मागबमोजिम संविधान शंसोधन प्रस्ताव तयार गर्नै लागेका भेला राष्ट्रिय ख्रिष्टियन महासंघले क्रिश्चियनहरुको समानुपातिक प्रतिनिधित्व संविधान र कानुनमै सुनिश्चित हुनुपर्ने माग राखेको हो ।

काठमाडौंमा दुईसम्म चलेको भेलाले क्रिश्चियन धर्म प्रचारमा अवरोध नगर्न सरकारलाई चेतावनी दिएको छ । ख्रिष्टियन महासंघले धर्म प्रचार वा त्यससम्बन्धी गतिविधि सञ्चालन गर्ने गैरसरकारी संस्थाको परियोजना स्वीकृत नगर्न भनी सरकारले जारी गरेको परिपत्र खारेजीको मागसमेत गरेको छ ।

क्रिश्चियन समदुायद्वारा सञ्चालित बालगृहहरुलाई धर्म प्रचारको नाममा झूठा मुद्दा लगाउने र धरपकड गर्ने काम भइरहेको भन्दै महासंघले चर्चहरुमा अनुमतिविना प्रहरी प्रवेशको बिरोध गरेको छ ।

त्यस्तै धर्म परिवर्तनलाई फौजदारी कसुरका रुपमा राख्ने गरी हालै प्रस्तावित फौजदारी ऐनको धारा १५६ खारेजीको माग गरिएको महासंघका अध्यक्ष सीबी गहतराजले बताए ।

महासंघले क्रिसमसमा क्रिश्चियनलाई मात्रै सार्वजनिक बिदा दिने निर्णयको विरोध गर्दै देशभर बिदा दिइनुपर्ने भनेको छ । त्यस्तै क्रश्चियन समुदायको पर्व इष्टर सण्डेलाई राष्ट्रिय पर्वका रुपमा स्वीकार गरी सार्वजनिक विदा दिन माग गरिएको छ ।

नेपालभर रहेका सबै चर्चहरुलाई स्वतन्त्र गुठीका रुपमा व्यवस्था गरी राष्ट्रिय ख्रिष्टियन आयोग गठनको माग समेत महासंघले गरेको छ । साथै राज्य कोषबाट खि्रष्टियन समुदायका लागि बजेट छुट्याउन माग गरिएको छ ।

दशैं-तिहारका बेला प्रचार आन्दोलन

आफ्ना माग पूरा गराउन ख्रिष्टिय महासंघले सांकेतिक आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । जस अनुसार भदौ २६ गते देशभरका मण्डलीहरुमा प्रार्थना गर्ने तथा असोज ३ गते वृहत प्रार्थना सभागर्ने कार्यक्रम राखिएको छ ।

त्यस्तै असोज ४ गते सबै जिल्ला प्रशासनहरु मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । हिन्दूहरुले दशैं तिहार मनाइरहेका बेला क्रिश्चियनले भने असोज ४ देखि मंसिर १ गतेसम्म देशभर बिभिन्न प्रचारात्मक आन्दोलन र हस्ताक्षर अभियान सन्चालन गर्ने भएका छन् ।

यसैबीच काठमाडौंमा दुई दिन चलेको महाधिवेशनले सीबी गहजरातको अध्यक्षतामा ख्रिष्टियन महासंघको नयाँ नेतृत्व चयन गरेको छ ।

२०७३ भदौ २४ गते ११:०७ मा प्रकाशित
Previous
Next Post »