सरकारले ६ महिनाभित्र सय वटा बस किन्


प्रमुख सहरहरुमा नगरपालिकामार्फत संचालन गरिने
सरकारले आगामी ६ महिनाभित्र १ सय वटा बस किन्ने भएको छ।

सरकारको योजनाहरु सार्वजनिक गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी ६ महिनाभित्र सरकारले सय वटा बस किन्ने बताए।

ती बसहरु स्थानीय नगरपालिकामार्फत संचालन गरिने उनले बताए।

काठमाडौं उपत्यका तथा विराटनगर, जनकपुर,  वीरगञ्ज, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरा, घोराही लगायतका शहरमा ६ महिनाभित्र नगरपालिकामार्फत बस संचालन गरिने उनले बताए। 

नगरपालिकामार्फत संचालन गर्न एक सयवटा लामा र स्तरीय ठूला बस खरिद गरिने प्रचण्डको भनाई छ। 

प्रधानमन्त्री दाहालले काठमाडौँ उपत्यकाका दुई वटा रुटमा एकीकृत सार्वजनिक परिवहन प्रणालीबाट सार्वजनिक यातायात सेवा शुरु गर्ने तथा कम्तिमा एउटा रुटमा सार्वजनिक यातायातका लागि छुट्टै लेनको व्यवस्था गरिने बताए।

 मधेश र मधेशी जनताका लागि महत्वपूर्ण मानिएको हुलाकी मार्ग निर्माणको कामलाई उच्च प्राथमिकतामा राखी कञ्चनपुरको महेन्द्रनगर र दोधारा चाँदनी जोड्ने ४ लेनको महाकाली नदीको पुलको ठेक्कापट्टा बन्दोबस्त गरी यसै आर्थिक वर्षदेखि निर्माण आरम्भ गरिने प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख छ।

 प्रधानमन्त्री दाहालले सवारी दुर्घटना नियन्त्रणका लागि यातायात क्षेत्रमा कायम सिण्डिकेट तोड्ने तथा सडक निर्माण र मर्मतमा संलग्न निकाय, सवारी धनी, इजाजत दिने निकाय लगायतका सम्वद्ध सबै पक्षलाई सडक सुरक्षा सम्वन्धमा जिम्मेवार तुल्याउने गरी सडक सुरक्षा सम्वन्धी एकीकृत कानून तर्जुमा गरिने पनि बताए। 

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन यसै वर्ष पूरा गर्ने, रसुवागढी काठमाण्डौ राजमार्ग तथा रसुवा–गल्छी–पोखरा–लुम्विनी रेलमार्ग सम्भाव्यताको काम तत्काल सुरु गर्ने, काठमाडौं–तराई दु्रतमार्ग, पूर्वपश्चिम रेलमार्ग, कोशी, गण्डकी र कर्णाली उत्तर–दक्षिण लोकमार्गको  निर्माण कार्य द्रुत गतिमा अघि बढाउने प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख छ।

सम्बोधनमा देशभित्र नमूनाका रुपमा सयवटा स्मार्ट भिलेज स्थापना गर्ने, हुलाकी मार्गमा १० वटा व्यवस्थित शहर विकास गर्ने, पोखरा क्षेत्रीय विमानस्थलको निर्माण कार्य तत्काल सुरु गर्ने, नेपाल वायु सेवा निगमका लागि आन्तरिक र बाह्य उडानका लागि थप जहाज खरिद गर्ने विषय पनि समेटिएका छन्। 
Previous
Next Post »