स्वदेशमै अन्तर्राष्ट्रियस्तरको उपचार सेवा

स्वदेशमै अन्तर्राष्ट्रियस्तरको उपचार सेवा




सबै प्रकारका रोगको शल्यक्रियाका लागि अब विदेश जान नपर्ने भएको छ । 
थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले विद्यमान शल्यक्रिया कक्षमा अत्याधुनिक उपकरण जडान गरी अन्तर्राष्ट्रियस्तरको बनाएको छ । 

आगामी साताबाट सेवा सुचारु हुने बताइएको शल्यक्रिया कक्षलाई विशिष्ट स्तरको मोडुलर शल्यक्रिया सुइट्सको रुपमा रुपान्तरित गरेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बताए।

‘लुन गङ्गा अपरेटिङ्ग सुइट्स’ नाम दिइएको उक्त कक्षमा तीनवटा शल्यक्रिया कक्ष अत्याधुनिक सुविधा सम्पन्न, व्यवस्थित र जीवाणुरहित निर्माण गरिएको र शल्यक्रिया नयाँ मापदण्डअनुसार अन्तर्राष्ट्रियस्तरको हुने सिंहले जानकारी दिए।

उनले भने, “हामीले बनाएको शल्यक्रिया कक्ष युरोपियन युनियनको मापदण्डअनुसारको छ । त्यहाँ प्रयोग गरिएको हरेक सामग्री र प्रविधि जेआइसीको मापदण्डअनुसारको प्रयोग गरेका छौँ । यसले राम्रो र स्तरीय सेवाको लागि विदेश धाउनुपर्ने अवस्थालाई अन्त्य गर्नेछ भन्ने विश्वास लिएका छौँ ।” 

उक्त शल्यक्रिया कक्षको बुधबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गर्ने अस्पतालले जनाएको छ । रासस 

प्रकाशित मिति: मंगलबार, भाद्र २८, २०७३
Previous
Next Post »