कुख्यात विदेशीलाई नेपाली नागरिकता

कुख्यात विदेशीलाई नेपाली नागरिकता




सप्तरी र सुनसरीमा गरी सात जनाको हत्यामा संलग्न आरोपमा पक्राउ परेका मोहम्मद मुस्तकिम भनिने रइस मियाँ भारतीय नागरिक हुन्। यद्यपि उनीसँग नेपाली नागरिकता र दुई छुट्टाछुट्टै नेपाली राहदानी छन्।
तीन वर्षदेखि 'मस्टवान्टेड' सूचीमा रहेका मियाँलाई साउन १९ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको थियो। भारत, बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत लौकहा बगमरिया घर भएका मियाँले सप्तरी, सारस्वर–७ बाट वंशज नागरिकता लिएका हुन्। २०६३ चैत १० गते गाउँ पुगेको घुम्ती सरकारी टोलीसँग उनले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयको अभिलेख छ। ०६३१०५/४९० नम्बर नागरिकतामा पिताको नाम मुराई मियाँ कुजरा उल्लेख छ। आजको नागरिकमा खबर छापिएको छ।
मुराई उनका ससुरा हुन सक्ने सप्तरीका प्रहरीप्रमुख एसपी भीमप्रसाद ढकाल बताउँछन्। 'रइसको नागरिकतामा उल्लेख पिताको नाम उनका ससुराको हुन सक्ने सूचनापछि त्यस हिसाबले पनि अनुसन्धान सुरु गरेका छौं,' उनले भने, 'केही दिनभित्रै सबै कुरा बाहिर आउँछ।'

 वि. सं. ०६९ देखि ०७० सम्मको अवधिमा सातवटा हत्या घटनामा प्रत्यक्ष संलग्न रहेको आरोप लागेका मियाँले ०६५ वैशाख ४ गते हस्तलिखित र ०७० फागुन ११ गते मेसिन रिडेबल राहदानी (एमआरपी) लिएको प्रशासनको अभिलेखले देखाउँछ।
विमानस्थलमा पक्राउ परेका बेला उनका साथबाट बरामद ०७६५६६४३ नम्बर राहदानीमा ठेगाना सिरहा जिल्ला उल्लेख रहेको अनुसन्धानमा संलग्न सप्तरीका डिएसपी दानबहादुर कार्कीले जानकारी गराए। उक्त राहदानी सन् २०१४ जुलाई २१ मा जारी भएको देखिन्छ। 'अभियुक्तले प्रहरीको आँखा छल्न फर्जी नागरिकता र पासपोर्ट बनाएको हुन सक्छ, यसतर्फ पनि अनुसन्धान थालेका छौं,' उनले भने। 
विभिन्न अपराधमा मुछिएका विदेशी नागरिकसँग नेपाली नागरिकता भेटिएको यो पहिलोचोटि होइन। यसअघि पनि भारतलगायत अन्य मुलुकका 'कुख्यात' सँग नेपाली नागरिकता तथा राहदानी फेला परेका थुप्रै घटना छन्। आफ्नो आपराधिक पहिचान लुकाउन उनीहरूले नेपाल प्रवेश गरेसँगै छद्म नाममा नागरिकता लिने गरेको पाइन्छ। प्रशासनिक कमजोरीको फाइदा उठाउँदै एकै अपराधीले दुई फरक नामबाटसमेत नागरिकता लिएका छन्।
२०६९ कात्तिक २३ गते सुनसरीको झुम्का कारागारबाट सुरुङ खनेर भाग्न सफल अधिकांश भारतीय र बंगलादेशी अपराधीसँग नेपाली नागरिकता र राहदानी थियो।
इन्टरपोलको रेडकर्नर नोटिसमा परेका बंगलादेशी नागरिक सुव्रत बेनले नेपालमा असरफ अली अन्सारीका नामबाट नागरिकता र राहदानी लिएका थिए। सुनसरी, सिमरिया–५ बाट नागरिकता लिएका उनी बंगलादेशका 'कुख्यात' अपराधी हुन्।
प्रकाशित मिति: सोमबार, भाद्र २७, २०७३ ०५:१४:०६


Previous
Next Post »