फिलिपिन्सका राष्ट्रपतिले भने,आतंकवादलाई समाप्त पार्न गोर्खा सैनिक ल्याउँछु


 मिडिया एनपीप्रकाशित मिति: सोमबार, भदौ २०, २०७३१०:२९0


काठमाडौं, २० भदौ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले आफ्नो देशको आतंकवादी संगठनलाई समाप्त पार्न गोर्खा सैनिक ल्याउन लागेको बताएका छन् । केही दिनअघि फिलिपिन्सको डेभाओ सहरमा भएको आतंकवादी हमलापछि राष्ट्रपति रोड्रिगोले यस्तो जानकारी दिएका हुन् ।



फिलिपिन्स आतंकवादी संगठन अबु सयाफको आतंकबाट गुज्रिरहेको छ । हरेक दिनजसो देशका कुनै न कुनै सहरमा आतंकवादी हमला भई व्यापक धनजनको क्षति हुन थालेपछि फिलिपिन्सका राष्ट्रपति रोड्रिगोले राष्ट्रिय सुरक्षा अधिकारी र मन्त्रिपरिषद् बैठकमा गोर्खा सैनिक ल्याउने जानकारी दिएका हुन् । । ‘अबु सयाफसँग लड्न म गोरखा सैनिक ल्याउँदैछु,’ राष्ट्रिय सुरक्षा अधिकारी र मन्त्रिपरिषद् बैठकमा रोड्रिगोले भने ।

gorkha

फिलिपिन्सको चर्चित अनलाइन पत्रिका पिनोय ट्रेडिङ अनुसार गोर्खालीहरू ‘मर्न र मार्न’ नडराउने भएकाले अबु सयाफको अन्त्य उनीहरूबाट मात्र सम्भव हुने राष्ट्रपतिको भनाइ छ । ‘भाग्नु भन्दा मर्नु जाति’ भन्ने सिद्धान्तका आधारमा गोर्खालीले युद्ध लड्ने भएकाले उनीहरूलाई ल्याउन राष्ट्रपतिले पहल थालेको जनाइएको छ ।

gorkha-3

‘उनीहरू पुरानो हतियार खुकुरीको भरमा हजारौंँसँग लड्न सक्छन्, एक गोरखा सैनिकले अफगानिस्तानमा ३० जना तालिवानलाई खुकुरीको भरमा एक घन्टामा हत्या गरेका छन्,’ राष्ट्रपति रोड्रिगोको भनाइ उल्लेख गर्दै अनलाइन समाचारमा जनाइएको छ । उनले जसरी भए पनि गोर्खा सैनिक ल्याएर मुलुकमा आतंकवादी संगठनको तहस–नहस गरिदिने चेतावनी दिएका छन् । तर गोर्खा सैनिक कहाँबाट कसरी ल्याउने भन्नेबारे केही खुलाइएको छैन ।

ब्रुनाईमा पनि भारतीय गोर्खा सैनिक पठाउने प्रस्ताव
भारतले ब्रुनाईमा ब्रिटिस गोर्खाको सट्टा भारतीय गोर्खा सैनिक पठाउने प्रस्ताव अघि सारेको छ । भारतीय उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीको ब्रुनाई भ्रमणका बेला यसबारे छलफल भएको हो । उपराष्ट्रपति अन्सारीले ब्रुनाईमा भारतीय गोर्खा सैनिक पठाउने प्रस्ताव राखेका थिए । ब्रुनाईमा सन् १९८४ देखि बेलायती गोर्खा सैनिक छन् । बेलायतले ब्रुनाईका सुल्तानसँग भएको सहमति अनुसार गोर्खा सैनिकको राख्दै आएको छ ।
Previous
Next Post »