स्थानीय निकाय पुन:संरचना: कतै विवाद, कतै सुल्झियो

स्थानीय निकाय पुन:संरचना: कतै विवाद, कतै सुल्झियो
गुल्मीको शान्तिपुरबाट गाउँपालिकाको केन्द्र माग गर्न जिविस गुल्मी आएको टोलीसँग छलफल गर्दै स्थानीय 
भाद्र २९, २०७३-  



सुर्खेत– विभिन्न जिल्लामा स्थानीय तह पुन:संरचनाको विषयमा चरम विवाद भइरहेका बेला सुर्खेतको भने टुंगो लागेको छ। स्थानीय तह पुन:संरचना प्राविधिक सहयोग समितिले जिल्लाका नगरपालिका र गाउँपालिकाको अन्तिम खाका सार्वजनिक गरेको हो।

समितिले झन्डै दुई महिना लामो छलफलबाट ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ संख्यामा स्थानीय तहको पुन:संरचना गरेको हो। साबिकको संरचनामा सुर्खेतमा ४० गाविस र तीन नगरपालिका छन्।

पश्चिम सुर्खेतको एक र पूर्वी सुर्खेतका केही गाविसहरूलाई मिलाएर थप एक/एक नगरपालिका थप भएका छन्। पश्चिमका सालकोट, बाबियाचौर, विद्यापुर, छाप्रे, घाटगाउँ र तातापानी गाविस मिलाएर पञ्चपुरी नगरपालिका नाम राख्ने प्रस्ताव गरिएको छ। जसको केन्द्र बाबियचौर ५ रहनेछ। यस्तै, पूर्वी सुर्खेतका सात गाविस धारापानी, मालारानी, साहारे, घुमखहरे, दहचौर, गुमी र मेहेलकुना गाभेर गुर्भाकोट नगरपालिका बनाउने प्रस्ताव छ। जसको केन्द्र मेहेलकुना तोकिएको छ। यसअघि नै घोषणा भएको शुभाघाट गंगामाला नगरपालिका पनि गुर्भाकोट नगरपालिकामा गाभिने भएको छ।

वीरेन्द्रनगर र भेरीगंगा नगरपालिका भने कायमै छन्। यी नगरपालिकामा केही गाविस थपिएका छन्। वीरेन्द्रनगरमा साटाखानी गाविसको १ देखि ८ वडा, लेखगाउँको १ वडा र गढी तथा रतु गाविस गाभिएका छन्। जसको केन्द्र वीरेन्द्रनगर नै रहनेछ। यसअघि जर्बुटा, लाटीकोइली र उत्तरगंगा गाविस थपिएर क्षेत्रफल विस्तार भएको थियो। भेरीगंगा नगरपालिकामा लेखपराजुल, दशरथपुर, कल्याण र लेखफर्सा गाविस थपिएका छन्। छिन्चु, रामघाट र मैनतडा गाविस मिलेर भेरीगंगा नगरपालिका घोषणा भएको थियो। यो नगरपालिकाको केन्द्र पनि साबिककै रहनेछ। पश्चिमका पाँच गाविस समेटेर चौकुने गाउँपालिका नामकरण गरिएको छ। यो गाउँपालिकामा बेतान, लगाम, बिजौरा, घाटगाउँ र गुटु गाविस छन् तर घाटगाउँको एक वडा मात्र टुक्रिएको छ। जसको केन्द्र बिजौरा वा गुटु राख्ने भन्ने निक्र्योल हुन बाँकी छ।

यता, वराह गाउँपालिकामा हरिहरपुर, तरंगा, कुनाथरी, पोखरीकाँडा र लेखगाउँ प्रस्ताव गरिएको छ। कुनाथरीको बड्डीचौर वा लेखगाउँको ओदालताललाई केन्द्र तोकिनेछ। समितिका अनुसार चिङ्गाड गाउँपालिकामा नेटा, रजेना, रानीवास, मटेला, अबलचिङ, पाम्का र गर्पन गाविस रहनेछन्। ८ वडा बन्ने चिङ्गाड गाउँपालिकाबाट नेटा गाविसको वडा नम्बर ८ र ९ दशरथपुरमा समायोजन भएका छन्।

पूर्वी सुर्खेतका सिम्ता गाउँपालिकामा घोरेटा, काफलकोट, आग्रीगाउँ, बजेडीचौर, राकम, काप्रीचौर, डाँडाखाली र खानीखोला गाविस रहनेछन्। यी गाविसका ७२ वडाहरू ८ वडामा विभाजन भएका छन्। जसको केन्द्र बजेडीचौर वा राकम राखिनेछ। नगरपालिका र गाउँपालिका बनाउन जनसंख्या, भूगोल र नागरिककका सुझावका आधारमा अन्तिम प्रतिवेदन तयार गरेको जिल्ला प्राविधिक सहयोग समितिका संयोजक हीरालाल रेग्मीले बताए। आयोगले गाउँपालिकाका लागि २५ हजार जनसंख्या, ५ देखि १२ वडा र प्रत्येक वडा तीन हजार सात सय जनसंख्या हुनुपर्ने मापदण्ड तोकेको छ। नगरपालिकाको हकमा ३५ हजार जनसंख्या, ९ देखि १४ वडा र प्रत्येक वडामा ४ हजार जनसंख्या हुनुपर्ने छ। सदरमुकाम रहने नगरपालिकाको जनसंख्या ९५ हजार ९ देखि १८ वडा र प्रत्येक वडामा ८ हजार जनसंख्या हुनुपर्छ।

बाँकेमा ९ स्थानीय निकाय प्रस्ताव
- ठाकुरसिंह थारू
बाँके– स्थानीय निकायको संख्या र सीमा निर्धारणमा दलहरू एकमत नभएका बेला नगरपालिासहित ९ वटा गाउँपालिकाको सिफारिस गरिएको छ। नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र ७ गाउँपालिकाको खाका केन्द्रमा पठाइएको हो। कांग्रेस, एमाले, माओवादी र अन्य दलबीच कुरा मिल्न सकेको छैन। कांग्रेसले १०, माओवादीले १३ र एमालेले ७ वटा स्थानीय निकाय बनाउनुपर्ने खाका पेस गरेका थिए।

एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले कांग्रेस र माओवादी केन्द्रले बढी संख्या बनाउनुपर्ने दाबी गरेपछि त्यहीअनुसार गरिएको बताए। ‘हामीले बढीमा ७ वटा स्थानीय निकाय मात्रै हुनुपर्छ भन्ने मान्यतामा छौं। त्यहीअनुसार गरौं भन्दा साथीहरूले मान्नुभएन,’ उनले भने, ‘असमतिका बीचमा संख्याका हकमा निर्णय गरेर पठाएका छौं।’ स्थानीय निकाय पुन:संरचना प्रस्तावबारे संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आइतबारसम्म सीमांकनको टुंगो लगाउन निर्देशन दिएको थियो। उसले बाँकेमा दुई नगरपालिकासहित ६ वटा गाउँपालिकाको प्रस्ताव गरेको थियो। स्थानीय निकाय पुन:संरचनाका लागि प्राविधिक समितिका संयोजक तथा बाँकेका स्थानीय विकास अधिकारी जीवलाल भुसालले जिल्लाको जनसंख्याका आधारमा एक उपहानगरपालिका, एक नगरपालिका र ५ गाउँपालिकाका लागि राजनीतिक दलबीच छलफल गरिए पनि सहमति हुन नसकेपछि त्यहीअनुसार केन्द्रमा पठाइएको बताए।

‘संख्याका हकमा दलहरूबीच सहमति खोज्न निकै लामो प्रयत्न गर्‍यौं तर सहमति हुन नसकेपछि ९ वटा पठाएका छौं,’ उनले भने। २०६८ को जनगणनाअनुसार बाँकेको जनसंख्या ४ लाख ९१ हजार ३ सय १३ छ। स्थानीय स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण यसरी वडाको प्रस्ताव गर्दा हाल कायम रहेको वडालाई नछुट्याई आवश्यकताअनुसार वडा सम्मिलन गर्नुपर्ने उल्लेख छ। यसअघिको छलफलमका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका कायम रहने गरी १ नम्बर गाउँपालिकाअन्तर्गत राप्तीपारिको बघौडा क्षेत्रको कटकुइँया, कालाफाँटा, नरैनापुर र गंगापुर गाविसलाई गाम्ने छलफल भएको थियो।

विवादले अन्योलमा
- घनश्याम गौतम
गुल्मी– स्थानीय तह पुन:संरचनाको संख्यामै राजनीति दलबीच विवाद भएपछि अन्योल बढेको छ।

स्थानीय विकास अधिकारीको संयोजकत्वमा बनेको प्राविधिक समितिले केन्द्रमा सिफारिस पठाउने अन्तिम दिन सोमबार सकिएको छ। तर जिल्लाका राजनीतिक दल भने संख्या कति बनाउने र केन्द्र कहाँकहाँ राख्ने भन्नेमै स्पष्ट हुन सकेका छैनन्। दल नै स्पष्ट हुन नसक्दा गाउँ स्तरबाट केन्द्र माग गर्दै आउनेलाई स्पष्ट पार्नेमै दल र स्थानीय विकास अधिकारीको समय बित्न थालेको छ।

सोमबार सदरमुकामपछिको दोस्रो ठूलो व्यापारिक केन्द्र रहेको शान्तिपुरबाट आएको झन्डै ५० जनाको टोली जिविस र राजनीतिक दलका कार्यालयमा पुग्यो। त्यस क्षेत्रको ६ गाविसको समेत सामूहिक निर्णयसहित आएको टोलीले आयोगले दिएको कार्यविधि, पूर्वाधार विकास, जिल्लाकै ठूलो जलविद्युत् आयोजना, शिक्षा, ५२ रोपनी सार्वजनिक जग्गासहितका सबै पूर्वाधार पुगेको दाबी गर्दै जसरी पनि केन्द्र शान्तिपुरमै राख्न आग्रह गरे।

‘हामीले सबै पूर्वाधारको विकास गरिसकेका छौं,’ टोलीका नेता मिमलाल श्रेष्ठले भने, ‘अन्य प्रक्रिया पुर्‍याएर जसरी पनि केन्द्र घोषणा गरिदिनुपर्‍यो।’ सबै पूर्वाधार पुगे पनि ६ गाविसको केन्द्र पर्ने शान्तिपुरमा आवश्यक पर्ने जनसंख्या पुग्दैन। ६ गाविसको जनसंख्या झन्डै १५ हजार मात्र भएपछि २५ हजार पुर्‍याउन आवश्यक १० हजार जनसंख्या अन्य जुन गाविसबाट मिलाएरै भए पनि केन्द्र घोषणा गरिनुपर्ने उनीहरूको दबाब थियो। स्थानीय विकास अधिकारी एवं प्राविधिक समितिका संयोजक डिलाराम पन्थीले जनसंख्या पनि प्रमुख प्रक्रियाभित्रै पर्ने भएकाले त्यो पूरा गर्न अनुरोध गरे।

त्यस्तै जिविसमा आइतबार मुसिकोट र बडागाउँबाट आएको टोलीले आफूहरूलाई वामिटक्सार केन्द्र पर्ने गरी बन्ने गाउँ पालिकामा राख्न लागिएको भन्दै त्यसमा नपार्न आग्रह गरे। त्यसको जानकारी पाएपछि सोमबार दुवै गाविसबाट अर्को टोली वामिटक्सारमै राख्न आग्रह गर्दै जिविसमै डेलिगेसन आयो। ‘जसरी पनि हामी वामिटक्सारमै जान चाहन्छौं,’ टोलीका कौरब खत्रीले भने, ‘जिविसले छिटोभन्दा छिटो गाउँपालिका र केन्द्र निर्धारण गरेर सिफारिस गरोस्।’

राजनीतिक दलबीच नै संख्यामा सहमति हुन नसकेपछि कांग्रेसले सोमबार बल्ल क्षेत्रीय समितिको बैठक बोलाएको छ। मंगलबारको बैठकले संख्या निर्धारण गरेपछि बल्ल केन्द्रका विषयमा छलफल सुरु हुने सभापति भुवनप्रसाद श्रेष्ठले बताए। ‘हामी छिटोभन्दा छिटो टुंग्याउने गरी छलफलमै छौं,’ उनले भने, ‘विशेष अनुरोध गरेर समय थप गरेका हौं, ढिलोमा मंगलबारसम्ममा सबै टुंग्याउँछौं।’

२ लाख ८० हजार १ सय ६० जनसंख्या रहेको जिल्लालाई आयोगले ९ गाउँपालिका र त्यसको केन्द्र निर्धारण गर्न निर्देशन गरेको छ। जिल्ला प्राविधिक समितिले ९ लाई नै आधार मानेर तयारी गरेको छ। तर माओवादी केन्द्रले १५ र कांग्रेसले कम्तीमा पुराना इलाकालाई आधार मानेर तयार गर्न आग्रह गरेपछि बढेको अन्योल अन्तिम दिनसम्म पनि कायम रहेको हो।


प्रकाशित: भाद्र २९, २०७३

Previous
Next Post »