पेचिलो बन्दै पुन:संरचना

पेचिलो बन्दै पुन:संरचना

‘भइरहेको नगरपालिकालाई किन गाउँपालिका बनाइयो? गाउँपालिका बनाए हामीलाई मान्य हुने छैन’
भाद्र २७, २०७३- स्थानीय तह पुन:संरचना प्राविधिक सहयोग समितिले प्रस्ताव गरेको स्थानीय निकाय र केन्द्रमा नागरिकले असन्तुष्टि जनाएका छन्।

भौगोलिक हिसाबले टाढा, भइरहेका नगरपालिकालाई गाउँपालिका बनाउन खोजेको, अपायक ठाउँमा केन्द्र साथै पहिचान मेटाउन खोजेको भन्दै नागरिकले विरोध गरेका छन्। असन्तुष्टि र विरोधका बाबजुत प्राविधिक सहयोग समितिले आइतबारदेखि प्रस्तावित केन्द्र वा विवादित ठाउँमा छलफल तथा परामर्श थालेको छ। समितिले स्थानीय राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, महिला लगायतबाट रायसुझाव लिएर केन्द्रीय समितिमा सिफारिस गरिने बताएको छ।

‘नागरिकका सुझावपछि यहाँ बैठक बसेर टुंग्याउने प्रयास गर्छौं। त्यसपछि नागरिकका सुझावलाई केन्द्रीय समितिमा सिफारिस गर्छौं’, प्राविधिक सहयोग समितिका सदस्य सचिव खिमबहादुर विश्वकर्माले भने। उनका अनुसार नागरिकसँगको रायसुझाव संकलनकार्य तीव्र पारिएको छ।

राइनास नगरपालिकाका स्थानीयले गाउँपालिका बनाएको भन्दै असन्तुष्टि जनाएका छन्। ‘भइरहेको नगरपालिकालाई किन गाउँपालिका बनाइयो? गाउँपालिका बनाए हामीलाई मान्य हुने छैन’ स्थानीय स्वतन्त्र हमालले भने। राइनास नगरपालिकामा दूधपोखरी, बिचौर, इलमपोखरी र कोल्की गाविसलाई मिलाएर राइनास गाउँपालिका बनाउने राजनीतिक सहमति प्राविधिक समितिले जुटाइसकेको छ।

हिमालसँग जोडिएको पूर्वी भेगका बासिन्दाले पहिचानसहितको गाउँपालिका माग गरेका छन्। कोल्की, प्यारजुङ, दूधपोखरी, इलमपोखरी, बिचौर, गौंडाका साथै पाचोक गाविसको माथिल्लो क्षेत्र समेटेर पहिचानसहितको गाउँपालिका गठन गर्न उनीहरूले माग गरेका हुन्। ‘तीनपीप्ले पुग्नुभन्दा सदरमुकाम पुग्नै छिटो हुन्छ। जहाँ जाँदा एक दिन, आउँदा एक दिन’ गाउँपालिका गठन सरोकार समितिका सचिव खेमबहादुर (केबी) गुरुङले भने, ‘दूधपोखरीबाट आउँदामात्रै २ दिन लाग्ने ठाउँमा केन्द्र राखेर जनतालाई कसरी सेवा पुग्छ?’ आफ्ना माग पूरा नभए जिल्लादेखि सरकार घेर्ने कार्यक्रम राखिएको उनले बताए।

स्थानीय निकाय पुन:संरचना प्राविधिक सहयोग समितिले जिल्लाका सांसद, राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारीको परामर्शमा ३ नगरपालिका र ४ गाउँपालिकाका साथै सीमांकन, नामांकन र केन्द्रमा सहमति जुटाएको थियो। समितिले तयार पारेको प्रस्तावित खाकामाथि सांसद तथा राजनीतिक दलले सहमति जनाएका थिए। तर, बैठकमै सहभागी सांसदले असुन्तुष्टि जनाएका छन्। स्रोतका अनुसार बैठकमा सहभागी सांसद चन्द्रबहादुर कुँवरले ७ वटा स्थानीय निकायले नागरिकलाई सजिलो नहुने भन्दै ९ वटासम्म बनाउन माग गरेका छन्। ‘माननीयले आफ्नो कुरा नसुनेको भन्दै एलडीओलाई थर्काउनु भएछ’ प्राविधिक समितिका एक सदस्यले भने। स्थानीय विकास अधिकारी एवं प्राविधिक सहयोग समितिका संयोजक शेखर पौड्यालले राजनीतिक दबाब दिन खोजेको स्वीकारे।

पौड्यालका अनुसार प्रस्तावित तथा विवादित केन्द्रमा स्थानीयको रायसुझाव लिइरहेको छ। असन्तुष्टि जनाउँदै ‘डेलिगेसन’ आइरहेको उनले बताए। मध्यनेपाल नगरपालिकाका सर्वदलीय संयन्त्रले मध्यनेपाल नगरपालिका र करापुटार नगरपालिकालाई एउटै नगरपालिका बनाइएको भन्दै आपत्ति जनाएका छन्। चिती गाविसलाई नौथर केन्द्रमा समेटिएको भन्दै चितीको सर्वदलीय संयन्त्रले असन्तुष्टि जनाउँदै बेंसीसहर नगरपालिकामा मिसिन पाउँm भनी डेलिगेसन आयो। आइतबार भोर्लेटारमा गरिएको कार्यक्रममा मध्यनेपाल नगरपालिकाका नागरिकले छुट्टै नगरपालिकाको माग गरे। यसमा मिसाइएको सिन्दुरे, धुसेनी र नेटा गाविसका स्थानीयले अपायक ठाउँमा केन्द्र परेको गुनासो गरे।

प्राविधिक सहयोग समितिले क्होलासोंथर गाउँपालिकाका लागि मालिङ केन्द्र प्रस्ताव गरेकोमा भोँजे, पसगाउँ र गिलुङका बासिन्दाले साल्मेभञ्ज्याङ केन्द्र माग गरेका छन्। ‘गुरुङको ऐतिहासिक स्थल र पहिचानलाई भत्काउन खोजिँदै छ’ उत्तरकन्याका प्रेम घलेले भने, ‘मालिङ केन्द्र भएन भने हामी एक दिन लगाएर साल्मेभञ्ज्याङ जाँदैनौं।’ उत्तरी लमजुडका नागरिकले प्रस्तावित केन्द्रप्रति असन्तुष्टी व्यक्त गरेका छन्। प्रस्तावमा खुदी केन्द्र निर्धारण गरिएको भन्दै उनीहरूले अवैज्ञानिक भएको आरोप लगाएका छन्। बाहुनडाँडा, घेर्मु र ताघ्रिङका स्थानीयले ङादी केन्द्र राख्न माग गरेका छन्। खुदी र बेंसीसहर कुन केन्द्रमा सहभागी हुने भन्ने विषयमा सिम्पानीका नागरिक पनि बाँडिएका छन्।


प्रकाशित: भाद्र २७, २०७३




Previous
Next Post »