कुनै बेला लाग्थ्यो, म काठमाडौं किन्दिन्छु’



रहेको भए उहिल्यै मेरो टाटा बाईबाई भइसक्थ्यो’
‘पहाड नचढी सुन्दर दृश्यको आनन्द लिन सकिन्न। जिन्दगी पनि त्यस्तै संघर्ष गरेर चढ्नुपर्ने पहाड नै रहेछ।’

यसै महिना ४२ वर्ष टेकेकी दीपाश्री निरौलाले आफ्नो जिन्दगीको भोगाइ यसैगरी सुनाइन्। र, भनिन्, ‘जीवनमा संघर्ष नगरी नहुने रहेछ। जीवनमा मैले यो पाइन भनेर नपाएका कुरा सोच्दा जीवन दुखद हुँदो रहेछ, पाएका कुरामा खुसी खोज्दा सुखद हुने रहेछ।’

दीपाका बाबु भूमिसुधारमा र आमा हुलाकमा जागिरे थिए। उनीहरू तीन छोरी र एक छोराले राम्रो पढून् भन्ने चाहना राख्थे।

त्यतिबेला दीपा १५ वर्षकी थिइन्। टेस्टको परीक्षा थियो। उनी बिहान ७ बजे नेपालीको परीक्षा दिन हिँडिन्। जाँच दिएर घर फर्किंदा आँगनभरी मान्छे जम्मा भएका थिए। उनकी आमाले त्यही बिहान ४ बजे उपचार क्रममा टिचिङ अस्पतालमा संसार छाडिसकेकी रहिछन्। जाँच भनेर कसैले केही नभनेका रहेछन्।

आमाको निधनपछि जीवन सहज भएन, तर जिन्दगी त्यहीँ अडिराख्थेन। 

विराटनगरको महेन्द्र मोरङ कलेज पढ्न थालेसँगै कला क्षेत्रसँग दीपाको निकटता सुरू भयो। त्यो बेला विराटनगर साँस्कृतिक कार्यक्रममा गतिशिल थियो। थुप्रै कार्यक्रम भइरहन्थे। उनको भेट मुकुन्द श्रेष्ठसँग भेट भयो। दीपा अभिनयभन्दा बढी नाच्ने गर्थिन्। 

मुकुन्दले उनलाई हौस्याउँदै भने, ‘नाचले मात्र पुग्दैन, अभिनय पनि गर्नुपर्छ, तिमी यहाँ बसेरमात्र हुँदैन, राष्ट्रिय स्तरको कलाकार बन्नुपर्छ।’

उनको हौसला र सुझावमा दीपाले अभिनयतर्फ पनि ध्यान दिन थालिन्।

त्यही बेला माधव सापकोटा ‘अग्निपथ’ टेलिशृंखलाको सुटिङका लागि विराटनगर पुगे। त्यसमा सहायक निर्देशनको जिम्मा मुकुन्द श्रेष्ठलाई आएको थियो।
सिरियलका लागि एउटी केटीको खोजी भइरहेको रहेछ।

दीपाले मुकुन्दलाई भनिन्, ‘दाइ म काम गर्छु, मलाई नि राख्नु न।’

मुकुन्दले जवाफ दिए, ‘राख्न त हुन्थ्यो तर तिमीलाई मैथली बोल्न आउँदैन, गाह्रो पो पर्यो।’

दीपाले भने मैथिली नआए पनि आँट गरिन्। मुकुन्दले उनलाई मैथिली सिकाउने मान्छे खटाइदिए। नभन्दै दीपाको आँट र लगनले काम गर्यो। उनले मैथिली बोल्न सिकिन्।

उनी त्यो सिरियलमा ‘कजरी’ बनिन्। र, ‘बेस्ट न्यू कमर’ को अवार्ड हात पारिन्।

त्यो सिरियल यति हिट भयो, उनलाई बाटो हिँड्ने मान्छेले ‘ए कजरी’ भन्न थाले।

सिरियलले उनलाई वरिष्ठ कलाकार मदनदास श्रेष्ठसँग भेट गराइदियो। उनले दीपाको काम मन पराएर रेडियो नाटकमा काम गर्ने प्रस्तावसहित काठमाडौं आउने निम्ता दिए। उनले मदनदासलाई भनिन, ‘आउन त आउँथे दाइ तर मसँग पैसा छैन। काठमाडौंमा गाह्रो होला बस्न।’

मदनदासले जवाफ दिए, ‘पहिला काठमाडौं आऊ अनि पो अगाडि बढ्न सकिन्छ।’

उनी काठमाडौं त आइन्, तर रेडियो नेपालमा कलाकार बन्नेको लाइन देखेर झस्किइन्। ‘रेडियो नाटक खेल्न चाहनेहरूको लाइन त सिंहदरबारको गेट बाहिरसम्म,’ उनले भनिन्, ‘त्यसमाथि सिधै नाटक खेल्न पाइँदैन रहेछ, अभिनयको पनि परीक्षा दिनुपर्ने रहेछ।’

दीपाले पनि परीक्षा दिइन्। र, ‘क’ श्रेणीको कलाकारका रूपमा पास भइन्।

‘त्यसपछि म नाटक खेल्न थालेँ, प्रतिएपिसोड ३०० पाउने गरी,’ उनले सम्झिइन्, ‘नाटकमा ३०० र बाल कार्यक्रमको २००प्रतिहप्ता गरेर महिनाको २००० मेरो हात पर्थ्यो। त्यति पैसा साथ हुँदा मलाई लाग्थ्यो, म काठमाडौ किन्दिन्छु।

दीपकराज गिरीको पहिलो भोट सौहार्द थिएन। दीपकराज रेडियोमा उनको नियुक्तिविरूद्ध थिए। भर्खर काठमाडौं बाहिरबाट आएकी नयाँ केटी एकैचोटि ‘क’ श्रेणीमा रेडियो नेपालमा पास भएकी थिइन्, जबकि दीपकराज लगायत ’ख’ श्रेणीका कलाकार थिए। 

‘दीपकहरूको समूहको यो रवैया मलाई मनपरेन। रेडियोमा भेट हुन्थ्यो तर म नबोली बस्थेँ,’ दीपाले भनिन्।

दीपकसँगको पहिलो भेटमा आँखा तरातर भए पनि पछि उनीहरू साथी बने। चिया खानेबेलामा एकदिन दीपक आफैं दीपासँग बोले, ‘तपाईं त कस्तो घमन्डी हुनुहुँदो रहेछ, बोल्दै बोल्नुहुन्न हामीसँग?’

त्यसपछि उनीहरूको बोलचाल सुरू भयो।

दीपकले त्यो समय रेडियो नेपालमा रामबिलास भन्ने कार्यक्रम चलाउँथे। कार्यक्रमका लागि ‘धनियाँ’को खोजी भइरहेको रहेछ।

दीपकले दीपालाई ‘धनियाँ’ बन्न अनुरोध गरे। उनी तयार भइन्।

यहीँबाट सुरू भएको दीपक र दीपाको सहयात्रा आज पनि जारी छ। 

‘धनिया बन्ने प्रस्ताव आएपछि मलाई सक्छु कि सक्दिन भन्ने थियो। दीपकले म सिकाउँछु भने,’ उनले भनिन्।

राम विलास र धनिया गर्न लागेपछि दीपाको जीवनमा एक चरणको संघर्षले विराम पायो। यही कार्यक्रमले विस्तारै स्टेज कार्यक्रममा उनी पनि दीपकसँगै व्यस्त हुन थालिन्। जीवन पहिलेभन्दा सहज हुँदै गयो।

काठमाडौंमा संघर्ष गर्दैगर्दा उता विराटनगर बाबुकोमा खबर पुग्थ्यो, ‘तुलसी दाइ, दीपा त दुब्लाएर लुरी न लुरी भकी छ। गाह्रो छ त्यसलाई। विराटनगर बोलाउनु भन्दा रहेछन्। बुबालाई चिन्ता लाग्थ्यो। उहाँले छोरी यस्तो गर्नुपर्दैन दुःखसुख म खुवाइहाल्छु नि तिमलाई। विराटनगर आउ।’

दीपा विराटनगर पुग्थिन तर मन अडिन्थेन अनि फेरि काठमाडौं फर्किन्थिन्। दुई–चारपटक यस्तै गरिन् उनले।

यसै प्रसंगमा उनले एउटा घटनाको सम्झना गरिन्।

‘दसैं आउन लागेको थियो तर घर जाने बस भाडा थिएन। काठमाडौं बसेकी, घरमा केही ल्याउँछे कि भन्ने आश हुन्थ्यो। गाडीभाडा थिएन, कहाँबाट अरू चिज किन्ने पैसा हुनु,’ उनले भनिन्।

यस्तो भएपछि त्यो साल दीपाले बाबुलाई ढाँटिन्, ‘बुबा यहाँ कामले भ्याइनभ्याइ भो यसपटक घर नआउने भएँ।’

बाबुले पत्याए।

तर, झुट कति समय टिक्थ्यो र।

बाबुले सत्य थाहा पाए र चित्त दुखाए, ‘मलाई भन्नुपर्थेन?’

त्यो सालपछि उनले कुनै वर्ष दसैं छुटाइनन्। हरेक वर्ष विराटनगर पुगेकै हुन्छिन्।
***
दीपाले काठमाडौं आएपछि ‘छिमेकी’, ‘सनई रोइ रहेछ’, ‘देवी’ जस्ता सिरियलमा काम गरिन्। उनी घरघरमा चिनिने नाम भइन्। यसमा ‘देवी’ सिरियलले विशेष भूमिका खेल्यो।

करिअरको सुरुआतमा नै सरोज खनालको जोडी बनेर हिरोइन बनेकी दीपामा फिल्मको हिरोइन भन्ने ध्याउन्न अझै बाँकी नै थियो।

मोहन निरौलासँग भेट भइसकेको थियो। दीपा लगायतले निरौलाको ‘परिवर्तन नेपाल’ नामक संस्थाबाट सडक नाटक गर्थे। नाटक गर्दा पारिश्रमिक पाइन्नथ्यो, भात मात्र खान पाइन्थ्यो। निरौला कहिलेकाहीँ कोठा भाडा पनि तिरिदिन्थे।

यसैबाट ‘देवी’ खेल्ने मौका मिलेको थियो। त्यसको स्क्रिप्ट निरौलाले नै लेख्थे।

यादव खरेल ‘नासो’ फिल्म बनाउने तयारी गर्दै थिए। मोहनको खरेलसँग राम्रै सम्बन्ध थियो।

उनले मनको भित्री इच्छा मोहनसँग राखिन्, ‘दाइ यादव दाइले तपाईंले भनेको मान्नुहुन्छ। मलाई नि भन्दिनु न।’

मोहनले सिफारिस गरिदिए।

दीपाले फिल्ममा हिरोइन त होइन, शिव श्रेष्ठलाई लाइन मार्ने ’भिलेन’को रोल पाइन्।

करिश्मा मानन्धर, सारंगा श्रेष्ठ फिल्मका हिरोइन थिए। शिव श्रेष्ठ पनि विराटनगरकै भएकाले उनीहरूसँग स्क्रिन साझा गर्न पाइन्छ भनेर ‘नासो’ खेलिन्।

भिलेन नै भए पनि फिल्ममा उनले ‘वसन्ती हावाले छोएर गयो’ गीत पाइन्।

त्यतिबेला उनकी साथी बनेकी थिइन्, नायिका आराधना क्षेत्री। आराधनाले ‘दीपा चितवनमा एउटा प्रोग्राम छ, नाच्न जाने हो। जाने आउने, खाने सबै उनीहरूको, एक हजार पैसा पनि आउँछ।’

दीपाले ‘ह्या हजार रूपयाँमा नि को जान्छ?’

‘हिँड कि हिँड’ भनेर आरधनाले कराइन्।

यसै सिलसिलामा नारायणघाटमा निर्देशक दीपक श्रेष्ठसँग उनीहरूको भेट भयो। विराटनगरमा नाटक गर्दादेखिकै चिनचान थियो।

दीपकले ‘तिमीहरू नाच्न आएका’ भने। उनीहरू दीपकलाई नाच हेर्न आउने निम्तो दिए।

दीपक नाच हेर्न आए।

दीपाको नाचले उनी दंग परे।

‘हेर नानी, म एउटा फिल्म बनाउँदैछु, एउटा राम्रो रोल छ। तँ हिरोइन बन्नुपर्छ,’
दीपाले श्रेष्ठको कुरा हावामा उडाइदिइन्, ठट्टा गरेको होला भनेर।

तीन–चार महिनापछि दीपकले फोन गरे। ‘गाउँले’ फिल्मको अफर गरिन्। उनी डिल्लीबजार अफिस पुगिन्। एकमुष्ट १० हजार बुझ्दै हिरोइन हुने सम्झौता गरिन्।

यसरी ०५५ सालको सुरूमा उनी नेपाली फिल्मकी हिरोइन बनिन्।

त्यसपछि उनका अगाडि फिल्मको लाइन लाग्यो। उनले ‘परेली’, ‘चमत्कार’, ‘चौतारी’, ‘घर संसार’, ‘सुकुम्बासी’ आदि फिल्ममा खेलिन्।

यी फिल्म गरिसकेपछि दीपालाई लाग्यो, ‘यो हिरोइन हुनी भनेको पनि यस्तै रहेछ।’

उता दीपक पनि फिल्ममा खासै जम्न सकिरहेका थिएनन्। दुवैबीच सल्लाह भयो। आफैंले काम गर्नुपर्छ भन्ने निधो गरे।

‘सन्तोष पन्त दाइ पनि हास्य कलाकार भएर टेलिफिल्म बनाइराख्नु भएको छ,’
उनीहरूमा आत्मविश्वास पलायो।

स्टेज शोबाट राम्रो कमाइ भएकाले साथमा केही पैसा थियो। उनीहरूले ३ भाग टिभी सिरियल बनाए। सिरियल बनाएको यो पहिलोपटक थिएन। उनीहरू टिभी हाउसहरूमा ‘डम्मी डाइरेक्टर’को नामले चिनिन थालेका थिए। उनी यस्ता निर्देशक बनेका थिए, जसका टिभी शृखंला बन्थे तर प्रसारण हुन्थेन। सायद कतै फालिन्थे ती। उनीहरूले प्रयास जारी नै थियो।

‘नो टेन्सन’ कै शैलीमा नयाँ सिरियल बनाए। ३ एपिसोड बनाएर एनटिभीमा बुझाइयो। बुझाउन त बुझाए तर प्रसारण हुने नहुने टुंगो थिएन। एनटिभीमा बिहीबार एउटा मात्र स्लट खाली रहेछ।

त्यो स्लट लव शर्माका लागि छुट्याइएको थियो। टिभीमा मिडियाहबका सोम धिताल र बोर्ड सदस्य शम्भुजित बाँस्कोटाबीच कसलाई दिने भन्ने छलफल भयो।

शम्भुजीत बोर्ड सदस्य भएको फाइदा उनीहरूलाई भयो। रामविलास–धनियालाई अरू काममा पनि प्रयोग गर्नुपर्छ भन्नेमा बाँस्कोटा पहिल्यैदेखि नै लागिपरेका थिए। शम्भुजीतले तिनलाई टिभीमा प्रसारण गराउन यसअघि पनि प्रयास गरेका थिए तर सम्भव हुन सकेको थिएन।

यसपटक उनी बोर्ड सदस्य भएकाले अवस्था बलियो थियो।

नेपाल टेलिभिजनका महाप्रबन्धक तपनाथ शुक्ला, धिताल र बाँस्कोटाबीच सल्लाह भयो। उनीहरूको कार्यक्रम प्रसारण हुने भयो।

बुझाइएको सिरियलको नाम थिएन। नाम शम्भुजितले नै जुराइदिए– तितोसत्य।
दीपक–दीपालाई नाम कतै छलफल कार्यक्रमजस्तो हुने हो कि भन्ने भयो।
शम्भुजितले शंका मेटाइदिए।

नामभन्दा पनि त्यो बेला काम गर्न पाउनु ठूलो कुरा थियो। उनीहरूले धेरै सोचेनन्।

कार्यक्रम २०६० भदौ ४ गते बिहीबार प्रसारण भयो।

ठीक त्यसको अघिल्लो दिनमात्र दीपकले दीपालाई भने, ‘दीपा हाम्रो कार्यक्रम भोलिबाट प्रसारण हुने भयो।’

दीपकबाट यस्तो सुनेपछि दीपा डाँको छोडेर क्वाँ क्वाँ रोइन्। दीपक पनि रोए।

तीन भाग प्रसारण भइसक्दा उक्त कार्यक्रममा थामीनसक्नु विज्ञापनको ओइरो लागेछ। तीन भागको सिरियल नयाँ सम्झौताअनुसार थप १३ भागका लागि लम्बियो। उनीहरूलाई भनियो, ‘यो १३ भाग तिमीहरूको संक्रमण काल हो, राम्रो गर्यौ भने २६ भाग नत्र दिँदैनौं।’

उनीहरूको सिरियलले भारतीय टिभी शृखंला ‘कसौटी जिन्दगी’लाई नेपालबाट पाखा लगाइदियो। त्यसपछि ‘तितो सत्य’ ५२ भाग हुँदै ६०० भाग सम्म दौडियो।
आजको उनीहरूको उपलब्धि त्यसैको देन हो।

दीपालाई हिरोइनबाट हास्य कलाकारितातिर लाग्ने निर्णय आज सम्झिँदा सुझबुझपूर्ण थियो भन्ने लाग्छ। हिरोइन भइरहेको भए उनी कलाक्षेत्रमा भइरहने थिइन या थिइनन् भन्नेमा उनलाई शंका छ।

‘हिरोइन थिएँ, हास्य कलाकार त पछि भएँ। हास्य कलाकारिता मैले यो क्षेत्रमा टिकिरहन गरेको हो, सायद हिरोइन मात्र भएकी भए यहाँबाट उहिल्यै टाटा बाईबाई भइसक्थेँ होला।’

समयसँगै उनले कलाकारितामा आफ्नो भूमिकालाई परिवर्तन गर्दै गएकी छन्। र, आज शुक्रबारबाट निर्देशकका रूपमा ‘डेब्यू’ गर्दैछिन्। 

‘छक्का पञ्जा’ फिल्मबाट दर्शकहरूले दिने धारणाको उनलाई पर्खाइ छ।
प्रकाशित मिति: शुक्रबार, भाद्र २४, २०७३ १४:५८:३४
Previous
Next Post »