खोजी हुनै छाडे पुराना खानी

खोजी हुनै छाडे पुराना खानी

पाल्पाको दोभान गाविसका श्रीडाँडामा सञ्चालित चुनढुंगा उद्योग। पाल्पामा सञ्चालित चार वटा चुनढुंगा उद्योगले दैनिक ५ सय टिपर रुपन्देही, कपिलवस्तु र नवलपरासी लग्ने गर्छन्। माधव अर्याल/कान्तिपुर
खानी उत्खनन् गर्न सके व्यवसाय बढ्ने र अधिकांश युवाले गाउँमै रोजगारी पाउने छन्
भाद्र २८, २०७३- पश्चिमाञ्चलका जिल्लामा रहेका तामा, फलाम, सिसा, चुनढुंगालगायत खानीबाट खनिज निकालेर स्थानीयले प्रयोग गरेका थिए। ती खानीमा काम हुँदा धेरैलाई रोजगार मिलेको थियो। खानी चल्दा कच्चा पदार्थको पूर्ति हुनुको साथै पुँजी पलायन पनि रोकिएको थियो। विशेषगरी राणा शासनका बेलामा ती खानीहरू चलेका थिए। त्यसको अन्त्यसँगै खानीहरू पनि बन्द भएको बुढापाका बताउँछन्। आधुनिक प्रविधिले खानी उत्खनन गर्न सके र यसले स्थानीयस्तरमा रोजगारी बढाएर आर्थिकस्तर उकास्ने र नयाँ उद्योगको सञ्चालनबाट विभिन्न निकासीसमेत घटने सम्भावना औंल्याउँदै गुल्मीबाट घनश्याम गौतम, तनहुँबाट प्रकाश बराल, बागलुङबाट पूर्ण बिके, पर्वतबाट अगन्धर तिवारी, म्याग्दीबाट घनश्याम खड्का र पाल्पाबाट माधव अर्याल लेख्छन् :

गुल्मीमा तामा र फलामको भण्डार रहेकामा अहिले एउटै खानी सञ्चालनमा छैन। १ सय ७ वर्षअघिसम्म नियमित तामा र फलाम निकाल्ने खानीमा राणाहरूले चर्को कर लिन थालेपछि १० वटा खानीहरू १९६६ सालमा बन्द भएका थिए। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक राजाराम सुवेदीको गुल्मीको ऐतिहासिक झलक पुस्तकमा उल्लेख भएअनुसार गुल्मीमा ६ तामा, ३ फलाम र १ सोभिता खानी थिए। फोक्सिङको लम्करागाउँ नजिकै खानीको ठूलो अवशेष छ। स्थानीय मगर समुदायले तामा निकालेको ७ सय मिटर लामो सुरुङ जस्ताको तस्तै छ। ‘अहिले भित्र पानी भरिएकाले छिर्न सकिँदैन,’ स्थानीय क्षेत्रबहादुर रानाले भने, ‘बाजेहरूका अनुसार त्यहाँबाट निस्कने तामा राणाहरूले लैजान्थे।’ राणाहरूले कर बढाएपछि निकाल्न छोडिएको थियो। सुवेदीका अनुसार यस्ता खानी चन्द्र शमशेरले १९६६ देखि बन्द गराएका हुन्। पहिले खानी खन्नेले १ सय धार्नी खनिज धातु तयार गर्दा ६ धार्नी सरकारलाई बुझाउँथे तर चन्द्र शमशेरले ५० धार्नी दिनुपर्ने नियम बनाएपछि खानी बन्द भएको हो।

जयखानी, खड्गकोट, फोक्सिङ तामा र फलाम खानीका क्षेत्र हुन्। तामाखानी भएकाले गाउँकै नाम जयखानी रहेको उनले बताए। सदरमुकाम तम्घासस्थित धागिथुम सोभिता नामको खानी क्षेत्र हो। स्थानीय बुद्धिजीवी शशी पन्थीका अनुसार यो खानी २०१७ सालमा बन्द भएको हो। ‘हामीले जान्दा खानीबाट खनिज निकाल्ने मान्छे र मेसिनहरू हुन्थे,’ उनले भने, ‘अहिले निसाना पनि हरायो, कसैले खोजेन।’ धागिथुमको खानीबाट कोवाल्ट धातु निस्कने उनले बताए। खानी खन्न आएर बसेकाले तम्घासमा खानीगाउँ नामकरण भएको उनले बताए। उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले गुल्मीका सबै खानीको अनुसन्धान हुनुपर्ने बताए। ‘तामा, फलामसँगै चाँदीसमेत हुन सक्छ,’ उनले भने, ‘उत्खनन र उपयोग गर्न सके जिल्लाको समृद्धि बढ्छ।’

तनहुँको शुक्लागण्डकी नगरपालिकादेखि भिमाद जाने सडकमा पुरानो जीर्ण झोलुंगे पुल छ। उक्त पुल झन्डै एक सय वर्षअघि स्थानीय कालीगढले फलामको धाउबाट बनाएका थिए। फलाम खानी रहेको ढोरफिर्दी, भिमाद र रिसिङमा परम्परागत प्राविधिकले उत्खनन गरेर झोलुंगे पुल बनाउने, अन्य औजार निर्माणमा समेत लगाएको जानकार बताउँछन्। तर, अहिले त्यस्ता खानी अलपत्र छन्। खानी तथा भूगर्भ विभागले गत असारमा तनहुँमा फलाम, चुनढुंगा र तामा रहेको जनाएको थियो। कहिले र कसरी उत्खनन, प्रशोधन र बजारीकरण होला भन्ने अझै अन्योल रहेको स्थानीय केदार सिग्देलले बताए। ‘के कति परिमाणको छ भन्ने यकिन नभएकोले उत्खननसमेत नभएको हो,’ सिग्देलले भने, ‘प्राविधिक परीक्षण भएमा राजनीतिक र सामाजिक रूपमा कामलाई अगाडि बढाउन सकिन्थ्यो।’ भिमाद आसपासका क्षेत्रमा फलामका घरेलु उद्योगसमेत चलेको र त्यहीँबाट झोलुंगे पुलका लठ्ठा बनाइएको जानकार बताउँछन्। सेतीनदीको झापुटारमा सञ्चालित तुइनसमेत फलामलाई घरेलु उद्योगबाट बनाइएका पाताबाटै निर्मित छ। त्यो पनि स्थानीयले उत्खनन गरेको फलामबाटै बनेको प्रस्ट देखिन्छ। ढोरफिर्दीमा फलाम, बन्दीपुरमा स्लेट र तनहुँसुरको राम्चेमा तामा रहेको भिमादका श्यामकृष्ण श्रेष्ठले बताए। ‘आरनको काम गर्ने विश्वकर्माले पगालेको फलामबाट स्थानीय पुल बनेका हुन्,’ उनले भने, ‘उत्खनन अभावमा फलामखानी त्यसै गुमनाम भएका छन्।’

मुग्लिङको सडक बन्नुअघि बन्दिपुरको स्लेट नारायणघाटका व्यापारीले लैजान्थे। ‘व्यक्तिको जग्गा र केही जंगलबाट पनि स्लेट निकालेर बेचेको हामीले देखेको हो,’ बन्दीपुरका रामशरण पियाले भने, ‘अहिले डुम्रे, मुग्लिङको बाटो खुलेपछि बन्दीपुर ओझेलमा पर्दा उत्खनन र व्यापार पनि हरायो।’ जस्तापाताले घर छाउने प्रचलन आउनुअघि बन्दीपुरको स्लेट नारायणघाट, नवलपरासी, दमौली र पोखरासम्म पुगेको उनले बताए। परम्परागत रूपमा उत्खनन भएका खानीहरू पहिचान गरी वैज्ञानिक प्रयोगमा ल्याउन आवश्यक भएको तनहुँ उद्योग वाणिज्य संघका महासचिव वैकुण्ठ मिश्र बताउँछन्। ‘खानी उत्खनन गर्न सकेमा जिल्लाभित्र सयौंलाई रोजगारी दिन सकिन्थ्यो,’ मिश्रले भने, ‘राज्यको ध्यानाकर्षण गराउन आवश्यक छ।’ सरकारी निकायले सक्रियता देखाए व्यवसायीले पनि लगानी गर्ने उनले बताए।

बागलुङमा परम्परागत रूपमा उत्खनन भएका विभिन्न खानी वैज्ञानिक अनुसन्धान नभएपछि अलपत्र छन्। जिल्लामा तामा, सिसा, सुन, इन्धनलगायत खानी भएको अनुमान छ। राङखानी, पाण्डवखानी, सिसाखानी, खुंखानीजस्ता गाविसबाट खानी उत्खनन भएका छैनन्। राज्यले उत्खननतर्फ कुनै तत्परता नदेखाउँदा आफ्नो गाविसमा रहेको सिसा खानी अलपत्र अवस्थामा रहेको राङखानी १ का हर्कबहादुर श्रीषले बताए। ‘खानीबारे अनुसन्धानका लागि राज्यको ध्यान जान नसक्नु दुर्भाग्य हो,’ उनले भने, ‘सिसा निकाल्ने गरिएको बाजेहरू सुनाउँथे तर अहिले त्यत्तिकै छ।’ राज्यले उत्खनन गरी उपयोग गर्न सके आर्थिक उन्नतिको बाटो लिन सक्ने सिसाखानी २ का संगम घर्तीमगरले बताए। ‘हाम्रो गाविसमा खानी छ भन्नेबाहेक अरू काम भएन,’ उनले भने, ‘विदेशबाट आयात गर्नुभन्दा देशभित्रै उपयोग गर्दा अर्थतन्त्रमा सुधार आउँथ्यो।’ राज्यले कुनै जिम्मेवार भूमिका निर्वाह नगर्दा खानी उत्खनन कार्य अघि बढ्न नसकेको बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले बताए। खानी उत्खननबारे आफूहरूले पटकपटक आवाज उठाउने गरे पनि कुनै सुनुवाइ नभएको उनको गुनासो थियो। ‘यहाँ रहेका खानीहरूको वैज्ञानिक उत्खनन हुनुपर्छ भनेर पटकपटक भनेका छौं,’ भारीले भने, ‘तथ्यांकसमेत निकाल्ने काम नहुँदा दु:ख लागेको छ।’ खानी उत्खनन गर्न सके व्यवसाय बढ्ने र अधिकांश युवाले गाउँमै रोजगारी पाउने उनले बताए।

परम्परागत तवरले निर्मित झोलुंगे पुल स्थानीय खानीबाट निकालिएको फलामले बनाइएको भारी बताउँछन्। जिल्लाभित्रका विभिन्न खोलामा घरेलु उद्योगमा बनेका फलामे साङ्लाको पुल छन्। केन्द्रीय तहबाटै खानी उत्खननबारे अध्ययन, अनुसन्धान नभएको स्थानीय विकास अधिकारी भरत गौतमले बताए। ‘खानी तथा भूगर्भ विभागले अनुसन्धान गरेर त्यसको गुणस्तर र मात्रा पहिचान गरिदिएमा उत्खनन सम्भव छ,’ उनले भने। स्रोत साधन कमीले जिल्लाको संयन्त्र र प्राविधिकले यो काम गर्न नसकिने उनले बताए।
पर्वतको फलामखानी गाविसका ८४ वर्षीय चन्द्रबहादुर विकले बाबुसँगै फलाम निकाल्ने र पगाल्ने काम गरेका थिए। ‘तर, अहिले खानी बन्द छ,’ उनले भने, ‘अहिले सपनाजस्तै लाग्छ।’ झन्डै ७ दशकअघि बन्द पर्वतका चार गाविसको फलाम खानी पुन:सञ्चालनको स्थानीयले माग गरेका छन्। २००७ सालमा तत्कालीन सरकारले बन्द गराएको फलामखानी, भंगरा, ठानामौला र लुंखुदेउराली गाविसको खानी सञ्चानलको माग उनीहरूको हो। खानी उत्खननमा केपी ओली नेतृत्वको सरकारले चासो देखाएपछि स्थानीय उत्साहित भएका थिए। धूवाँकोटे फलामले चिनिएको खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र लुम्बिनिस्थित नेपाल पर्वत खनिज उद्योगबीच २०६७ पुस ८ मा सम्झौता पनि भएको थियो। तर, अहिलेसम्म काम भएको छैन। स्थानीय दमाहा र धाउखानी सामुदायिक वन क्षेत्रमा अहिले पनि ठूलाठूला सुरुङ र जताततै फलामका धाउ देख्न सकिन्छ। तर, उत्खननको कुरा लिएर नआएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले बताए।

फलाम पगाल्न आधा दर्जन गाविसको सयौं हेक्टर जंगल सखाप भएपछि खानी बन्द गराएको स्थानीय शिक्षक गोविन्द विश्वकर्माले बताए। त्यसबेला फलामखानी गाविसका १ देखि ७ वडासम्मका दलित परिवारले खानीमा काम गरेको उनले सुनाए।

म्याग्दीमा पनि थुप्रै खानी प्रयोगहीन र अलपत्र छन्। खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा सुन, तामा, फलाम, चुनढुंगा, क्वार्ज, कप्रक, स्लेटढुंगा, मार्बल र इन्धन खनिज पदार्थमा तातोपानीका मुहानहरू पाइन्छन्। म्याग्दीमा सबैभन्दा बढी तामाखानी छन्। स्थानीय खनेलहरूले रैथाने प्रविधिबाट उत्खनन गरिएको ओखरबोटको तामाखानी मुख्य हो। स्थानीय दीर्घनारायण भट्टचन र दिलीप शेरचनले ०१८ सालदेखि नै ओखरबोटको तामाखानी सञ्चालन गरेकामा उपयुक्त प्रविधिको अभावमा ०४६ सालदेखि बन्द भएको हो। खटेनडाँडामा २ दर्जनभन्दा बढी तामा निकाल्ने गरिएको सुरुङ छन्। ओखरबोटबाहेक जिल्लाका अन्य २१ ठाउँमा पनि खानी खन्ने गरिएकामा अहिले बन्द छन्। ‘उपयुक्त प्रविधि अभावमा जोखिम मोल्न सकेनौं र खानी बन्द गर्‍यौं। खानीबाट तामा उत्खनन गर्ने परम्परागत सीप युवा पुस्तामा हस्तान्तरण गराउने उद्देश्यले खानी विभागबाट अनुमति नपाएपछि अलपत्र छ,’ पूर्वखानी सञ्चालक दिलीप शेरचनले सुनाए, ‘खानीसम्म पुग्न मोटरबाटो र बिजुली निकालियो। कि सरकारले उत्खनन गरे हुन्थ्यो नत्र हामीलाई कानुनी प्रक्रिया मिलाइदिए हुन्थ्यो।’ मल्कवाङ क्षेत्रमा फलामखानी छ।

राहुघाट र कालीगण्डकी नदीको बालुवामा सुनका टुक्रा भेटिने भएकाले सुनखानी हुन सक्ने सम्भावना छ। राहुघाटको सिरानमा पानी खस्ने छहरालाई सुन छहरा भनिन्छ। गत वर्ष एक चिनियाँ कम्पनीले घाँसाको कालीगण्डकी नदी क्षेत्रमा सुनखानी अन्वेषण गरेको थियो। चुनढुंगा पनि म्याग्दीका धेरै ठाउँमा छ। भगवती गाविसमा खरीढुंगा खानी सञ्चालन गर्न गौतम खनिज उद्योग भरतपुरले उत्खनन गर्दै आएको छ। तर, पछिल्लो समय वन विभागबाट स्वीकृति नलिएको पाइएपछि उत्खनन रोकिएको छ। सिंगाको तातोपानीको मूलबाट बिरेनुनको गन्ध आउने र नारच्याङ छेउको तातोपानी नुनिलो छ। तातोपानीको मुहान वरपर भित्ता तथा कालीगण्डकी नदी बगरमा सेताम्मै नुनिलो पदार्थ टाँसिएकाले बिरेनुन र नुन खानीको सम्भावना बलियो छ।

पाल्पामा प्रशस्त खानीको सम्भावना भए पनि अध्ययन, अनुसन्धान र उत्खनन कुनै काम हुन सकेको छैन। जिविस पूर्वसभापति झपेन्द्रबहादुर जीसी खानीजन्य पदार्थ रहे पनि खेर गएको बताउँछन्। उनले भने, ‘यसलाई बचाइराख्ने भन्दा पनि अध्ययन, उत्खनन, अनुसन्धान जरुरी छ।’ उनका अनुसार जिल्लामा गिट्टी र चुनढुंगाको खानी अत्यधिक छ। मस्याम, कचल, दोभानबाट अहिले पनि चुनढुंगा, डोलोमाइट र क्वाइरी निकासी भएको छ। बहादुरपुर, अर्गली, ख्याहा, देउरालीमा पनि गिट्टी र चुनढुंगाका खानी छन्। जीसीका अनुसार गोठादी, जल्पा, कोलडाँडा, मदनपोखरा, रुप्से, देवीनगर, झडेवा कोइला खानीका लागि सम्भावित छन्। जल्पा, झडेवा र देवीनगरबाट कोइला निकासी भइरहेको छ। विशेष गरी राणाकालको अन्त्यसँगै फलाम, तामालगायत खानीका विषयमा कुरा उठेका छैनन्। खानी सञ्चालनको प्रयाससमेत भएन।


प्रकाशित: भाद्र २८, २०७३


Previous
Next Post »