कहाँ हराउँछन् महिला?
तीन वर्षको अवधिमा ८ सय ४६ महिला तथा बालबालिका हराए, तीमध्ये ३ सय ९४ जना मात्र फेला परे
भाद्र २४, २०७३- वैदेशिक रोजगारका लागि खाडी मुलुक कुवेत गएकी शमशेरगन्जकी ४० वर्षीया पुनम थापा तीन वर्षदखि सम्पर्कविहीन छन्। बर्दिया बेलवा ७ की ३० वर्षीया सीता शर्मा पनि ५ वर्षदेखि परिवारको सम्पर्कमा नआएकी हुन्। बर्दिया राजापुर घर भई नेपालगन्जको घरबारी टोलस्थित आफन्तको घरमा बस्ने २० वर्षीया भावना शाही भदौ १ गतेदेखि हराइरहेकी छन्।
यी प्रतिनिधिमूलक घटना मात्रै हुन्। नेपालगन्ज नाकाबाट विदेश जाने भन्दै घर छाडेका महिला हराउने क्रम बढेको छ। बाँके प्रहरीमा साउनयता २२ महिला तथा बालबालिका हराएको उजुरी परेको छ। प्रहरीका अनुसार तीन वर्षको अवधिमा ८ सय ४६ जना महिला तथा बालबालिका हराएका थिए। तीमध्ये ३ सय ९४ जना मात्र फेला परे। गत आर्थिक वर्षमा ३ सय ७ जना महिला तथा बालबालिका हराए। हराएका मध्ये १ सय ९३ महिला, ४९ बालक तथा ४६ बालिका छन्। १ सय ४२ फेला परेको र १ सय ३६ अझै हराइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सीमा नाकाबाट अघिल्लो वर्ष ४ सय २० जनालाई उद्धार गरेको जनाएको छ। तीमध्ये ३ सय २ महिला, ३९ बालिका र ८६ बालक छन्। मानव बेचबिखनविरुद्ध क्रियाशील संस्थाहरूको तथ्यांक झनै डरलाग्दो छ। मानव बेचबिखनविरुद्ध कार्यरत माइती नेपालले २०७२ भदौयता ५ सय ३९ जना महिला नेपालगन्ज सीमा हुँदै हराइरहेको जनाएको छ। यो नाका हुँदै भारत हिँडेका ६ सय २५ महिला हराएको भन्दै खोजीका लागि उक्त संस्थामा निवेदन परेको थियो। तीमध्ये ८६ जनाको भारतबाट उद्धार गरिएको छ। ‘वैदेशिक रोजगारीका लागि भारत हुँदै विदेश जाने महिला हराउने क्रम जारी छ। त्यस्ता उजुरीहरू हामीसँग एक वर्षमै ६ सयभन्दा बढी आए,’ माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइराला भन्छन्,’ हराउने धेरै छन् तर भेटिने निकै कम छन्।’
प्रहरी र संघसंस्थाको तथ्यांक फरक देखिन्छ। तथ्य भने मेल खान्छ। बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले पारिवारिक कलह, आर्थिक समस्या, लहैलहैका कारण महिला तथा बालबालिका हराउने गरेको बताए। उनका अनुसार हराएकाहरू मजदुरी गर्न भारत पस्ने क्रम बढ्दो छ। बालबालिका भने अभिभावकको संरक्षण अभावमा हराउने गरेका छन्। ‘कुनै बालबालिका आमाबाबुमध्ये एक जनासँग बसेको हुन्छ। आमा वा बाबुले अर्कैसँग विवाह गर्नेजस्ता कारणले बालबालिकालाई पर्याप्त माया दिन सकेका हुँदैनन्। जसका कारण बालबालिका परिवारलाई थाहै नदिएर हराउँछन्,’ एसपी राई भन्छन्, ‘कतिपय साथीभाइको लहैलहै, कसैको बहकाउ तथा नयाँ ठाउँमा जाने लोभले हराउने गरेका छन्।’
उद्धार संयन्त्र छैन
हराएका तथा बेपत्ता भएका महिला र बालबालिकाको खोजीका लागि सरकारी संयन्त्र छैन। वास्तविक ठाउँ र प्रभावकारी संयन्त्र अभावमा बेपत्ताहरूको खोजी हुन नसकेको हो। ‘हराएका महिला र बालबालिकाको खोजीका लागि सरकारी संयन्त्र छैन। त्यसैले पनि बेपत्ताहरू नभेटिएका हुन्,’ माइती नेपालका संयोजक कोइराला भन्छन्, ‘सरकारले त्यसका लागि ऐन ल्याउन आवश्यक छ।’ खोजतलासका लागि निवेदन परेका मध्ये अधिकांश भारत र खाडी मुलुकमा श्रम तथा यौनशोषणमा परेको हुनसक्ने अनुमान गरिएको छ।
वैदेशिक रोजगारीको नाममा अवैधरूपमा भारतीय बाटो हुँदै खाडी मुलुक गएका महिला यौन तथा श्रम शोषणको उच्च जोखिममा पर्ने गरेका हुन्। रोजगारका लागि विदेशिनेको बस्ने वास्तविक ठाउँ जानकारी नहुने हुँदा उद्धार गर्न असम्भव बन्दै गएको छ। विपन्न परिवारलाई दलालहरूले सजिलै प्रलोभनमा पारेर महिलाहरूलाई भारतको बाटो विदेश पठाउने गरेको पाइएको छ। प्रभावकारी संयन्त्रबिना ती महिलाहरूको उद्धार गर्न सक्ने अवस्था नरहेको त्यस क्षेत्रमा कार्यरतहरू बताउँछन्।
काउन्टर पार्ट बैठक
मानव तस्करीलगायत अपराध नियन्त्रणका लागि सीमावर्ती नेपाल–भारत सुरक्षा अधिकारीहरूको काउन्टर पार्ट बैठक हुँदै आएको छ। आलोपालो गरी नेपाल–भारतमा हुने सुरक्षा बैठकमा पनि उक्त मुद्दा प्राथमिकताका साथ उठ्ने गरेको छ। कतिसम्म भने भारतमा हराइरहेका महिलाहरूको उद्धार कसरी गर्ने भन्ने बारे पनि छलफल हुने गरेको छ। तर, नेपालगन्ज नाकाबाट मानव तस्करी नियन्त्रण हुन सकेको छैन।
काउन्टर पार्ट बैठकमा हुने निर्णय व्यवहारमा कार्यान्वयन नहुँदा पनि समस्या भएको हो। नेपालगन्जको जमुनाहा र भारतको रुपैडिहामा गरी तीन/चार स्थानमा सुरक्षा जाँच हुने गरेको छ। सुरक्षा अधिकारीले मानव तस्करी नियन्त्रणका लागि सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाउँदै आएका छन्। हालै बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, बाँकेका एसपी टेकप्रसाद राई, भारत नानपाराका एसडीएम एसपी शुक्ला, सीओ अजय भदौरियाले मानव तस्करी नियन्त्रणका लागि संयुक्त रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन्।
भेटिएपछि जानकारी दिँदैनन्
हराएकामध्ये कतिपय महिला भेटिने गरेका छन्। मायाप्रेममा परेर भारत भाग्ने पनि उत्तिकै छन्। त्यस्ता घटनाका बारेमा पनि प्रहरीमा उजुरी पर्छन्। ‘सुरुमा छोरीचेली हराए, बेचिए भनेर उजुरी आउँछन्। तर, उनीहरू भेटिएपछि परिवारले हामीलाई जानकारी गराउँदैनन्। त्यसैले पनि हराएको संख्या धेरै देखिएको हो,’ एसपी राई भन्छन्, ‘कतिपय मायाप्रेमका घटनामा पनि अभिभावकहरू बेचबिखनको मुद्दा लिएर आउँछन्।’ सञ्चार प्रविधिको विकासले सीमानाकामा बेचिने क्रम भने विस्तारै कम हुँदै गएको एसपी राईले जनाए।
प्रकाशित: भाद्र २४, २०७३
ConversionConversion EmoticonEmoticon