• बजेट आश्रित विधेयक ल्याउने माओवादीको नैतिक आधार के ? •धमलालाई भने, ‘तपाईंको प्रश्नै हानिकारक !’
- -शेखर अधिकारी, काठमाडौं
भाद्र २०, २०७३- प्रमुख विपक्षी एमालेले सरकारको संविधान संशोधन तयारीमा सहयोग नगर्ने स्पष्ट संकेत दिएको छ । संविधान संशोधनको औचित्य र आधार माग्दै आएको उसले ‘अरुको दबाब र स्वार्थको सहयोगी नहुने’ बताएको छ ।
दुई साता लामो उपचारपछि सोमबार थाइल्याण्डबाट फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको औचित्य प्रष्ट पार्न सरकारलाई आग्रह गरे । ‘कुनै दबाब, बहकाउमा कुनै पनि हिसावमा देशको अहित हुने गरी लोकतन्त्रलाई अप्ठ्यारो पार्ने गरी कसैको स्वार्थ अर्घेल्याईं सम्बोधन गर्ने नाममा संविधान सशोधन गर्ने विषय होइन,’ उनले भने ।
आन्दोलनकारीका मागअनुसार एकपटक संविधान संशोधन भइसकेको उल्लेख गर्दै ओलीले नयाँ मागबारे आफू जानकार नभएको बताए । ‘एकपटक संविधान बन्नेवित्तिकै पनि संशोधन गर्यौं, उहाँहरुका माग सम्बोधन गर्यौं,’ उनले भने, ‘अब के माग हुन् ? जसले भनिरहनुभएको छ, उहाँहरुसग कुनै माग देखिंदैन, उहाँहरुले भन्नुभएको छैन ।’
संविधान संशोधनको औचित्यबारे सरकारले पनि प्रष्ट पार्न नसकेको उनले बताए । ‘सरकारका तर्फबाट यो यो बुँदामा यसरी गर्नुपर्यो भनेर आएको छैन,’ उनले भने, ‘अखबारी हल्लाहरु, सञ्चारमाध्यमका कुराका भरमा केही भनिरहनु आवश्यक छैन ।’
ओलीले संविधान गतिशील दस्तावेज भएको बताउँदै तर लडहवाजी, जिद्धि र आग्रह राखेर संविधान संशोधन हुन नसक्ने बताए । ‘देशको आवश्यकता, अग्रगमनका लागि, देशका इज्जत प्रतिष्ठालाई माथि उठाउन संशोधन गर्न सकिन्छ,’ उनले भने ।
बजेट आश्रित विधेयक ल्याउने नैतिक आधार के ?
ओलीले सरकारले ल्याउने तयारी गरेको बजेट आश्रित विधेयक पुन: संसदमा ल्याउने माओवादीको नैतिक आधारबारे प्रश्न उठाए । सत्तारुढ पार्टीमा स्वत: बहुमत रहेकाले आफ्नो पार्टीको सहयोग/असहयोगको अर्थ नहुने उनको संकेत थियो ।
ओली सरकारलाई समर्थन फिर्ता लिएको माओवादीले बजेट आश्रित तीन विधेयक भने फेल गराएको थियो ।
‘त्यसबेला पनि भन्यौं यस्तो विधेयकहरु फेल गर्ने, असफल बनाउने चलन पनि हुँदैन र आकस्मिकरुपमा कसैको बहुमत पुग्यो भने कस्तो ठाउँमा प्रयोग गर्ने भन्ने हुन्छ,’ उनको भनाइ थियो, ‘बहुमतलाई राष्ट्रको अहितमा दुरुपयोग गरिदैन, त्यतिबेला पुर्याइएको अस्वाभिवाक, अप्राकृतिक बहुमतको भयानक, लज्जास्पद दुरुपयोग हो ।’
चालु अधिवेशनमा फेरि एकपटक असफल भएको विधेयक नियमावलीअनुसार दोहोर्याएर पास गर्न मिल्ने/नमिल्नेबारे छलफल हुने बताए । ‘जसले ठीक छैन भनेको छ, फेरि ठीक छ भनेर ल्याउने नैतिक आधार हुन्छ,’ उनले भने, ‘गैरजिम्मेवार कामलाई प्रोत्साहित गर्ने पक्षमा हामी छैनौं ।’
‘र’सँग भेटेको हल्ला निन्दनीय
आफू थाइल्याण्डमा उपचारका लागि गएको र स्वास्थ्य रिपोर्टले आफू उत्साहित भएको बताउँदै ओलीले सुरुमै भारतीय गुप्तचर एजेन्सी ‘र’सँगको भेटेको हल्लाप्रति कडा आपत्ति जनाए । ‘केही बिट पत्रकारिता गर्नेहरुले ‘र’का मान्छेसँग भेट्न मिलाएर गएको भनेर आफ्नै स्तरको छापेको पनि पाइयो,’ उनले भने, ‘त्यस्तो झुटको खेतीलाई केही भनिरहनु छैन, घटिया मनोवृत्ति हो ।’
धमलालाई भने, ‘तपाईंको प्रश्नै हानिकारक !’
पत्रकार सम्मेलनमा बीच पुगेका पत्रकार ऋषि धमलाको प्रश्नप्रति पनि ओलीले कडा आपत्ति जनाए । धमलाले सोधे, ‘संविधान संशोधन गर्न नसकेकै कारण तपाईंको सरकार ढल्यो, मधेसी मोर्चाको माग पूरा गर्न सक्नुभएन, त्यसैले भारतसँग सम्बन्ध बिग्रियो, तपाईं सत्ताच्युत हुनुभयो...।’
ओलीले धमलाको प्रश्नप्रति आपत्ति जनाउँदै भने, ‘प्रश्नको भाषा अनुपयुत्त अनुचित र हानिकारक छ, न संविधान संशोधन गर्न नसकेको हो, किन सकिंदैन, पहिले चाहिएकाबेला गर्यौं, नचाहिएका बेला गर्दै नगरेकालाई सकेन भनेर हुन्छ ?’
ओलीले फेरि सोधे, ‘मधेसका मुद्धालाई सम्बोधन गर्न सकेन भनेको के ?’
धमलाले मसिनो स्वरमा भने, ‘सिमांकन....।’
‘सिमांकन भनेको नेपालको कि प्रदेशको ?,’ ओलीले धमलालाई प्रतिप्रश्न गरे ।
धमला बोले, ‘प्रदेशको सिमा...।’
ओलीले आक्रोसित हुँदै भने, ‘त्यो मधेसको मुद्धा हो ? अनावश्यक, अनुचित कोणबाट आएको प्रश्न...। बेग्लै आग्रहको साथ, मिडिया खपतका लागि आएको प्रश्न उचित छैन ।’
पत्रकार सम्मेलनको अन्तिममा ‘सरकारको एक महिने कार्यकाललाई कसरी समीक्षा गर्नुभएको छ ?’ एक पत्रकारले सोधे ।
ओलीको पत्रकार सम्मेलन बिट मार्दै भने, ‘मैले किन समीक्षा गर्नु ? म बाहेक अरुले नै समीक्षा गर्दा हुँदैन ?’
प्रकाशित: भाद्र २०, २०७३
ConversionConversion EmoticonEmoticon