विश्वका यी मुलुकमा सर्वाधिक अर्बपति


धनीका कुरा


भाद्र २५, २०७३- विश्वमा अर्बपतिहरूको संख्या १ हजार ८ सय १० जना रहेको छ । तिनीहरूको कुल सम्पति ६५ खर्ब (साढे छ ट्रिलियन) अमेरिकी डलर हुन आउँछ । यो अमेरिकी अखबार फोब्र्सले २०१६ फेब्रुअरी १२ सम्म सार्वजनिक गरेको तथ्यांक हो । अर्बपतिहरूको सूची हेर्दा कपडा उद्योग, खुद्रा व्यापार र खाद्य उद्योगबाट अर्बपति बनेकाहरूमा फ्रान्स, स्पेन र इटाली छन् । यसैगरी ऊर्जा र खनिज उद्योगबाट अर्बपति बनेकामा रसियनहरू र प्रविधि र फाइनान्स क्षेत्रमा लगानी गरेर सर्वाधिक धनाढ्य बनेकामा अमेरिकीहरू पर्छन् । अस्ट्रेलियाली वा ताइवानी अर्बपतिहरू विरासतमा पाएको धनबाहेक अन्य क्षेत्रबाट अर्बपति बन्ने कमै छन् ।

सिंगापुरका १७ अर्बपतिहरूमध्ये अधिकांश रियल इस्टेटबाट धनाढ्य बनेको तथ्यांकमा छ । नर्वे आफ्ना १३ जना अर्बपतिको कुल सम्पत्ति २४ दशमलव ८ अर्ब अमेरिकी डलरका साथ सर्वाधिक धनाढ्य विश्वका मुलुकहरूको २५ औं स्थानमा छ ।

अमेरिका भने यो सूचीमा पहिलो हो । त्यहाँ ५ सय ४० अर्बपतिको कुल सम्पत्ति २ दशमलव ३९९ ट्रिलियन अमेरिकी डलर रहेको छ । तीमध्ये अधिकांश आफ्नै व्यवसाय र उद्यमशीलताबाट अर्बपति बनेका छन् । त्यहाँका धेरैजसो अर्बपतिको सम्पत्तिको स्रोत प्रावधिक क्षेत्रमा गरिएको लगानी नै हो । त्यसैले विश्वकै सबैभन्दा बढी धनाढ्य बस्ने मुलुक बनेको हो अमेरिका । माइक्रोसफ्टका मालिक बिल गेट्स त्यहाँका मात्रै होइन विश्वकै सबैभन्दा धनाढ्य हुन् । यसैगरी विश्वकै सबैभन्दा बढी अर्बपति बस्ने दोस्रो मुलुक चीन हो । त्यहाँ २ सय ५१ जना अर्बपतिमध्ये अधिकांशको सम्पत्तिको स्रोत विभिन्न कारखानाबाट उत्पादित सामानहरू, प्रविधि र रियल स्टेट नै प्रमुख रहेका छन् । रियल इस्टेटको विकास गर्ने डालियन वान्दा समूहको सुरुवात गर्ने जियानलिन बेङ चीनका सबैभन्दा धनाढ्य व्यक्ति रहेको फोब्र्सले जनाएको छ । त्यहाँका अर्बपतिहरूको कुल सम्पत्ति ५ खर्ब ९३ अर्ब अमेरिकी डलर छ ।

सर्वाधिक अर्बपति उत्पादन गर्ने जर्मनी तेस्रो मुलुक हो । त्यहाँ १ सय २० अर्बपतिको कुल सम्पत्ति ४ सय ८९ दशमलव १ अर्ब अमेरिकी डलर छ । जर्मनीमा ३७ जना अर्बपति फेसन र रिटेल क्षेत्रबाट प्रतिनिधित्व गर्छन् । यसैगरी हेल्थकेयर क्षेत्रका १९ र म्यानुफ्याक्चरिङबाट १८ जना उद्यमी तथा व्यवसायी अर्बपतिमा सूचीकृत छन् । जर्मनीका सबैभन्दा धनाढ्यमा बिट हाइस्टर र कार्ल अलब्रेन्च हुन् । यिनीहरूले १९४६ मा आल्दी सुपर मार्केटको स्थापना गरेका थिए । त्यसैबाट अर्बपति बने । त्यस्तै विश्वका सबैभन्दा बढी अर्बपति भएकामा भारत चौथो स्थानमा छ । त्यहाँका ८४ जना अर्बपतिको कुल सम्पत्ति २ खर्ब ४८ दशमलव ४ अर्ब रहेको छ ।

अधिकांश भारतीय अर्बपतिहरू सेल्फ मेड हुन् । आफ्नै उद्योग, कलकारखाना र उद्यमबाट तिनीहरू अर्बपति बनेका छन् । अधिकांशको सम्पत्तिको मुख्य स्रोत फेसन, हेल्थ केयर, प्रविधिलगायत उद्योग र व्यवसाय नै हो । मुकेश अम्बानी भारतमै सबैभन्दा बढी सम्पत्ति भएका उद्यमी हुन् । यो सूचीको पाँचांै स्थानमा रुस छ । ७७ जना अर्बपतिको २ खर्ब ८२ दशमलव ६ अर्ब अमेरिकी सम्पत्ति रहेको छ ।

यहाँका अधिकांश अर्बपतिको मुख्य स्रोत ऊर्जा, खनिज उद्योगमा गरिएको लगानी नै हो । रुसका अर्बपतिको एक नम्बरमा लियोनिड मिखेल्सन रहेका छन् । हङकङ भने विश्वको सबैभन्दा बढी अर्बपति भएका १० मुलुकमध्ये छैठौं स्थानमा छ । त्यहाँका ६३ जना अर्बपतिको कुल सम्पत्ति २ सय ४० दशमलव २ अर्ब अमेरिकी डलर रहेको छ । त्यहाँ रियल इस्टेट, ग्याम्बलिङ र म्यानुफ्याक्टरिङ नै अर्बपति उत्पादन गर्ने प्रमुख स्रोत हो । लिका सिङ त्यहाँका सर्वाधिक धनाढ्य उद्यमी हुन् ।

त्यस्तै बेलायतमा ५० जना अर्बपतिका साथ ७ औं, इटाली ४३ अर्बपतिका ८ औं, फ्रान्स ३९ अर्बपतिका साथ ९औं र क्यानाडा ३३ अर्बपतिका साथ १०औं स्थानमा रहेका छन् ।

बेलायती अर्बपतिहरूको कुल सम्पत्ति १ सय ६१ दशमलव ८ अर्ब, इटालेलीको १ खर्ब ५० दशमलव ८ अर्ब, फ्रान्सको २ खर्ब १२ अर्ब र क्यानाडाको १ खर्ब १२ दशमलव ४ अर्ब अमेरिकी डलर रहेको छ । बेलायतमा सबैभन्दा बढी अर्बपति रियल इस्टेट फाइनान्ससँग सम्बन्धित छन् । हिन्दुजा परिवारका चार भाइ पूरै ग्रुपलाई आफ्नो नेतृत्व दिँदै आएका छन् । यिनै परिवार त्यहाँका सर्वाधिक धनाढ्यमा दरिएका छन् । जहाँसम्म इटालेली अर्बपतिहरूको कुरो छ, त्यहाँका अर्बपतिहरूद्वारा सञ्चालित व्यवसाय पूरै विश्वमा प्रख्यात छ । प्राडा, अरमानी, फरारी, बुल्गेरी, फरेरो वल्र्ड इटालेली लोकप्रिय ब्रान्ड हुन् । फरेरो ग्रुपका मालिक्नी मारिया फ्रान्का फिसोलो त्यहाँकी सबैभन्दा धनाढ्य हुन् ।

फ्रान्स फेसनका लागि परिचित छ । त्यसैले त्यहाँका अधिकांश अर्बपतिहरूको सम्पत्तिको मूल स्रोत फेसन नै भएको दाबी सञ्चार माध्यमहरूको छ । न्युज च्यानल, फेसन म्यानुफ्याक्चरिङ समूहहरूले फ्रान्समा अर्बपति उत्पादन गर्नमा महत्त्वपूर्ण योगदान दिँदै आएका छन् । क्यानाडामा भने आफ्नै लगन, परिश्रम र मिहिनेतबाट अर्बपति बनेकाहरूको संख्या बढी छ ।

त्यहाँ भारतमा जस्तै सेल्फ मेड अर्बपतिहरू रहेका छन् । उबर, लुलुलेमनलगायत कम्पनीको असल सञ्चालन र व्यवस्थापनका कारण अर्बपति त्यहाँ बढी बनेका हुन् । डेभिड थम्सन त्यहाँ सबैभन्दा धनी व्यक्ति हुन् । उनी सञ्चारमाध्यम र प्रकाशन कम्पनीका अध्यक्ष पनि हुन् । धेरै अर्बपति भएका अन्य देशहरूमध्ये स्विटजरल्यान्डमा ३२, ब्राजिल र दक्षिण कोरियामा ३१/३१, टर्कीमा ३०, स्विडेनमा २६, अस्ट्रेलिया र ताइवानमा २५/२५, स्पेनमा २१, इन्डोनेसियामा २०, जापानमा १७, थाइल्यान्डमा १६ र मेक्सिकोमा १४ जना रहेका छन् ।
(एजेन्सीहरूको सहयोगमा)



Previous
Next Post »