प्रधानमन्त्रीको भारण भ्रमण: एमालेले बुझायो ६ बुँदे ध्यानाकर्षणपत्र

प्रधानमन्त्रीको भारण भ्रमण: एमालेले बुझायो ६ बुँदे ध्यानाकर्षणपत्र
‘स्वाधीनता, स्वाभिमानमा आँच आउने सम्झौता नहोस्’
-
‘भ्रमणअघि राजनीतिक दलहरूसँग औपचारिक रूपमा विचारविमर्श गर्ने विगतको परम्परासमेत अनुसरण गरिएन’
भाद्र २६, २०७३- प्रमुख विपक्षी एमालेले भारत भ्रमणका क्रममा नेपालको हित, स्वाधीनता र स्वाभिमानमा आँच आउने कुनै पनि सहमति, सम्झौता र कुराकानी नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपालसहितको एमाले उच्चस्तरीय टोलीले आइतबार बिहान प्रधानमन्त्री दाहाललाई भेटेर भारत भ्रमणका सम्बन्धमा ६ बुँदे ध्यानाकर्षण पत्र पेस गरेको हो ।

भ्रमणअघि राजनीतिक दलहरूसँग औपचारिक रूपमा विचारविमर्श गर्ने विगतको परम्परासमेत यसपालि अनुसरण नगरिएको टिप्पणी गर्दै एमालेले भ्रमणमा राख्नुपर्ने विषय र प्रस्तुतिबारे दाहाललाई बुँदागत सचेत गराएको छ । एमालेले काठमाडौं–तराई मधेस द्रुतमार्ग नेपाल सरकारले आफैं निर्माण गर्ने गरी स्रोत परिचालन गर्दै राष्ट्रिय हितका आधारमा अघि बढाउन भनेको छ । हुलाकी राजमार्गको यथाशीघ्र निर्माणका लागि भारत सरकारको सहयोगबारे स्पष्ट गर्न र यो मार्गको भविष्य अनिश्चित हुने कुनै पनि काम नगर्न ध्यानाकर्षण गराएको छ ।

नेपालसँग सीमा जोडिएका भारतीय इलाकामा अन्तर्राष्ट्रिय कानुन र मान्यताविपरीत निर्माण गरिएका संरचना तथा दशगजा क्षेत्रमा भएको अतिक्रमण हटाइने विषय स्पष्ट रूपमा भारतसँग राख्न सुझाव दिएको छ । यस्तै, नेपालको भूभाग जलमग्न हुने वा डुबान हुने समस्या समाधान गर्न, जलस्रोतलगायत प्राकृतिक स्रोतको उपयोग र विद्युत् उत्पादन तथा बिक्रि वितरणसम्बन्धी विषयमा पनि नेपालको हित संरक्षणतर्फ ध्यान दिन भनिएको छ । ‘नेपालले इन्धन आपूर्तिका लागि भारतमा मात्र निर्भर रहनुपर्ने गरी सर्तबन्दी गरेर पाइपलाइन बिछ्याउने कार्य नगरियोस्,’ ध्यानाकर्षण पत्रमा छ, ‘नेपाल–भारत सीमा क्षेत्रमा इन्धन आपूर्तिका लागि पाइपलाइन बिछ्याउँदा नेपालले अन्य देशबाट समेत इन्धन आयात गर्न सक्ने प्रावधान खुला राखियोस् ।’

दुईपक्षीय सुरक्षा सहयोगमा नेपालको स्वतन्त्रता र हित कुण्ठित नहुने कुरा सुनिश्चित गर्न, सीमा अपराध नियन्त्रण र दुवै देशले आ–आफ्नो भूमि एकअर्काविरुद्ध प्रयोग हुन नदिने विषय उठाउन पनि एमालेले आग्रह गरेको छ । ‘नेपालको आन्तरिक मामिलामा बाह्य सरोकार र चासो अनावश्यक रूपमा बढाउने कुनै पनि कार्य प्रकारान्तरले समेत नगरियोस्,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धिअन्तर्गत विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्दा महाकालीको आधा पानीमा नेपालको हक रहने, लाभको हिस्साअनुरूप लगानी हुनुपर्ने, विद्युत् उत्पादनको परिमाण घटाइन नहुने जस्ता विषयमा यथोचित छलफल गरेर मात्र अन्तिम निर्णय लिने कार्य गरियोस् ।’

विगतको सरकारले नेपालको संविधानको मार्ग निर्देशन तथा नेपालको हितअनुकूल भारत र चीनसँग सुमधुर सम्बन्ध कायम गर्नेतर्फ पाइला चालेको उल्लेख गर्दै भारतसँग सात र चीनसँग भएका १० सम्झौतालाई अघि बढाउन पनि एमालेले ध्यानाकर्षण गराएको छ । ती सहमति सम्झौताबारे सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न पनि एमालेले प्रधानमन्त्री दाहालसँग आग्रह गरेको छ । ‘मेरो नेतृत्वमा रहेको सरकारमा तपाईंको दलसमेत सहभागी भएको स्मरण गराउँदै भारत र चीनसँग नेपालको सर्वोपरी हितअनुकूल गरिएका सहमति तथा सम्झौताबारे सरकारको स्पष्ट धारणा सार्वजनिक हुनुपर्छ भन्ने एमालेको माग छ,’ अध्यक्ष ओलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान, विश्वास र लाभका आधारमा सुमधुर बनाउन पनि एमालेले भनेको छ । एमाले नेतृत्वको सरकारले असन्तुलित सम्बन्ध राखेको भन्ने टिप्पणीप्रति पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराइएको छ । ‘नेपाल जस्तो भूराजनीतिक स्थितिमा रहेको देशको सरकारले राष्ट्रिय हितमा कुरा गर्दा वा नीति अवलम्बन गर्दा त्यसलाई आवेगयुक्त, असन्तुलित आदि जस्ता शब्दावलीले प्रहार गर्नु प्रकारान्तरले नेपालको राष्ट्रिय हितमा उठाइने आवाजप्रतिको उपेक्षा वा त्यस्ता आवाज दमित होऊन् भन्ने आशय मात्र ठहरिन्छ,’ पत्रमा भनिएको छ, ‘आफ्नो देश र जनताको हितमा कुरा गर्नु कसैप्रतिको कुनै दुर्भाव वा सम्बन्ध असन्तुलित तुल्याउने भनी अथ्र्याउनु सर्वथा अनुचित र गलत हो ।’ एमालेले सरकारमा रहँदा वा नरहँदा देश र जनताको हित र स्वाभिमान तथा समृद्धिका लागि निरन्तर अघि सारेका विषय समग्रमा नेपाल तथा यसका छिमेकीका लागि पनि हितकारी रहेको दाबी गरेको छ ।

एमालेको ध्यानाकर्षण पत्र बुझदै प्रधानमन्त्री दाहालले प्रमुख विपक्षी दलका सुझावले आफूलाई सहयोग पुगेको बताएका थिए । छलफलमा कसरी प्रस्तुत हुने, कुन मुद्दालाई कसरी उठाउने भन्नेमा आफूलाई सहज भएको दाहालले उल्लेख गरेका थिए । उनले राष्ट्रिय हितअनुकूलकै काम हुने र भ्रमणमा जानुअघि राजनीतिक दलहरूबीच साझा सहमति निर्माणको प्रयास गर्ने दाहालले बताए । भ्रमणअगावै भ्रमणबारे नकारात्मक टिप्पणी हुनुचाहिँ गलत भएको दाहालले उल्लेख गरे ।

एमालेको शनिबारको स्थायी समिति बैठकमा प्रधानमन्त्रीको भारण भ्रमणबारे समीक्षा भएको थियो । उक्त समीक्षाका आधारमा लिखित रूपमै ध्यानाकर्षण गराउने निष्कर्ष निस्केपछि आइतबार बिहान शीर्ष नेताहरूले दाहाललाई भेटेका थिए ।



Previous
Next Post »