ढोरपाटनमा आफूखुसी सिकार

ढोरपाटनमा आफूखुसी सिकार




ढोरपाटनमा झारल सिकार गरेपछि फोटो खिँचाउँदै नेपाली र विदेशी सिकारी । फाइल तस्बिर
आश्विन २०, २०७३- ढोरपाटन सिकार आरक्षमा विदेशीले हेलिकोप्टर प्रयोग गुर्नका साथै तथा आफूखुसी सिकार गर्ने गरेको भेटिएको छ । 

ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत (वार्डेन) अणनाथ बरालले नाउर र झारलको सिकार गर्ने अनुमति पाएका कम्पनीले आरक्षसँग सम्पर्कै नगरी काठमाडौंबाट सिधै हेलिकोप्टरबाट सिकार गर्नुपर्ने वन्यजन्तुको ब्लकमा विदेसीलाई लाने गरेको बताए । 



‘जहाँ मन लाग्यो त्यहीं हेलिकोप्टर ल्याण्ड गर्ने र आरक्षका कर्मचारीको अनुपस्थितीमै सिकार गराउने गरेको पाइयो,’ बरालले कान्तिपुरलाई भने, ‘यो ऐन र नियमावली विपरित हो ।’ हेलिकोप्टर ल्याण्ड गरे वापत एक पटकको दुई हजार र विदेशी पर्यटकले तीन हजार रुपैयाँ आरक्षमा दस्तुर बुझाउनुपर्ने नियम छ । यो आर्थिक वर्षको सिकारको सिजन असोजमा सुरु भएको छ । असाजे १७ मा हिमालयन सफारी कम्पनीका महेश बस्नेतले एक जना अमेरिकीलाई सिकार खेलाउन ढोरपाटन लगेका छन् । 

‘सिधै हेलिकोप्टरबाट सिकारी लिएर सेङ ब्लकमा आएका छन् भन्ने सुनियो तर हामीलाई थाहा छैन,’ बरालले भने, ‘आरक्षका कर्मचारीको रोहबरमा सिकार खेल्नुपर्नेमा त्यसो नगरेको पाईयो, यो नियम विपरित हो ।’ नियम विपरित सिकार गराएका कारण हिमालयन सफारीको लाईसेन्स निलम्बन गर्न माग गर्दै वार्डेन बरालले बिहीवारै विभागलाई पत्र लेखेका छन् । निकुञ्जको नियमावली २०३० अनुसार रातको समयमा सिकार खेल्न नहुने, अन्य वन्यजन्तुलाई असर र होहल्ला गर्न पाईँदैन । 

बस्नेतले यो सिजनमा ढोरपाटनका विभिन्न ब्लकमा ४ वटा नाउरको सिकारको लाईसेन्स पाएका छन् । विभागका निमित्त महानिर्देशक गोपालप्रकाश भट्टराईले बस्नेतका विदेशी सिकारीबारे आफूले पनि बुझ्न बाँकी रहेको बताए । विदेशीलाई ढोरपाटनमा सिकार गराउँदै आएका नेपाल वाइल्डलाइफ सफारीका अमृत थापाले भने सिकारमा जाँदा आफूहरुले हेलिकोप्टर जथाभाबी ल्याण्ड नगरेको बताए । ‘सिकार खेल्ने खास ठाउँमा ल्याण्ड गर्न प्रतिवन्ध छ,’ उनले भने, ‘त्यसैले त्योभन्दा तल्लोक्षेत्रमै ल्याण्ड गरी हिंडेर गएर सिकार खेलाईन्छ ।’   

यो सिजनमा चार वटा कम्पनीले ढोरपाटनका विभिन्न ब्लकमा विदेसीलाई सिकार गराउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति (लाईसेन्स) पाएका छन् । विभागले ११ नाउर र ५ झारल सिकार गर्ने लाईसेन्स दिएको हो । 

नाउरको सिकार गर्न आउने ११ मध्ये ६ जना अमेरिकी छन् भने अरु रसियाली, स्पेनी र स्विडेनी छन् । विभागको व्यवस्थापन शाखाका विष्णु थपलियाका अनुसार अमृत थापाको नेपाल वाईल्डलाईफ सफारीले २ नाउर र एक झारल, शमशेर पराजुलीको ग्लोबल सफारीले २ नाउर र २ झारल, दीपक राणाको ट्रेक्स एण्ड ट्रेलले ३ नाउर र २ झारल र महेश बस्नेतको हिमालयन सफारी कम्पनीले ४ नाउरको सिकार गर्ने अनुमति पाएको छ । 

विभागले केही वर्षदेखि टेन्डर गरेर सिकारको अनुमति दिने गरेको छ । टेन्डर गरेर सिकार अनुमति दिंदा राजश्व बढी जम्मा हुन्छ । थपलियाका अनुसार यो सिजनमा सिकार अनुमति, सिकार गराउने क्षेत्र (ब्लक) र वन्यजन्तुबाट ३३ लाख ६९ हजार रुपैयाँ राजश्व जम्मा भएको छ । एउटा नाउरको सिकारका लागि २ लाख १० हजारसम्म र झारलको १ लाख एक हजार रुपैयाँसम्म टेन्डर परेको थियो । 

असोज र कात्तिकपछि चैत र वैशाखमा पनि सिकारका लागि सौखिन अन्तराष्ट्रिय सिकारी ढोरपाटन आउने गर्छन् । ट्रफी (सिङ) का लागि सिकार गर्ने गरिन्छ । एक सिकारीले एउटा सिकारमा करिब २५ लाख रुपैयाँसम्म खर्चिने गरेको पाईएको छ ।




Previous
Next Post »