कहिलेसम्म जवानी लुटाउने यी युवा पुस्ताले?

कहिलेसम्म जवानी लुटाउने यी युवा पुस्ताले?



दुबईको एयरपोर्टमा काम गर्ने चौधरी थरका एक युवा भन्छन्- धेरै भयो स्वदेशमा बसेर देशको सेवा गरेको तर आफ्नो जवानी बेरोजगार भएरै बित्यो।
स्नातक पास गरेर केही वर्ष आफ्नो दुई कट्ठा जग्गामा  खेती गर्दा साहुको कर्जा र त्यसको ब्याजले प्रतिफल प्राप्त गर्न नसकेपछि जग्गा बेचेर कर्जा तिर्नुपरेको ब्यथा सुनाउँछन।
स्नातक पास गरेका यी युवा दुबईको एअरपोर्टमा भुई सफा गर्दै गर्दा भेटिएका हुन्। बिहे भयो, केटाकेटी भए तर आम्दानीको श्रोत केही नभएपछि खाडी तर्फ आएको बताउँछन्। देशमा शान्ति छाउने छ, विकास हुनेछ र हामीले आफ्नै देशको सेवा गर्न पाउने छौ भनी आफ्ना वृद्ध माता पिता र छोरा छोरीलाई श्रीमतीको जिम्मा लगाई रोजगारीका लागि खाडीको रापमा आएको ब्यथा पोख्छन्। कहिले देश फर्कौ जस्तो लाग्छ तर, गएर पो के काम गर्नु? जहान परिवार कसरी पाल्नु? मलिनो अनुहार पार्दै -बाध्यता छ दाजु’, भन्दा मेरा आँखा रसाए।
नेपाल गहिरो संकटको भुमरीमा फसिसकेको भान हुँदैछ। देश निर्माणमा लगाउनुपर्ने युवालाई राज्यबाटनै विदेश पलायन हुन बाध्य पारिदै छ। कुनै रहर र लहड नभै आफ्नो र परिवारको पेट पाल्न लाखौं युवा विदेसिनेक्रमलाई हेर्दा कही नेपाल इथियोपिया त हुने हैन भन्ने चिन्ताले मुटु काम्दछ।
अझ खाडीको रापमा श्रम बेच्ने युवालाई बिदेशी भूमीमा यत्र तत्र लथालिङ र चिन्तित अवस्थामा देख्दा मन कटक्क हुन्छ।
नेपालका शासकहरूका गतिबिधिबाट निरास भइ आफ्नो र परिवारको भविश्यप्रति चिन्तीत यी युवा जमातहरु बिदेशी भूमीमा एक लक्ष्यहिन दिशामा आफ्नो यौवन लुटाउँदै छन्। अब त अति भएर देशका लागि केही गरौं भन्ने भावना बोक्ने अगुवा युवासमेत विवदेश पलायनको क्रम सुरु भएको छ।
विद्यार्थी, पत्रकार्, शिक्षक वा ईमान्दार प्रशासक नै किन नहुन वर्तमान शासक र तीनका कृयाकलापबाट वाक्क र दिक्क भएका छन्। डिभी पर्ने अमेरिका तर्फ लाग्छन्, अन्य क्यानाडा, ब्रिटेन लगायत युरोपतर्फ लाग्छन्। अधिकांश नेपाली खाडीमा रोजगारीका लागि भासिएको अवस्था छ।
मनमा देश दुःखिरहने अनि आँखामा सदा अमेरिकाको रमझाम नाचिरहने बेतिथी भित्र फसेका तथा राजनीतिको स्वाद चाख्न पल्केकाहरूको समूहले खिसी गर्दै भन्छ- हेर त फलानो अमेरिका, युरोप पलायन भयो! फलानो त्यो इज्जत फ्याली खाडीमा किन गएको होला? मौकामा चौका ठोक्ने यस्ता बतासे रास्ट्रवादीको कमि छैन नेपाल मा!
जनतालाई प्रत्यक्ष सेवा दिनुपर्ने निजामती क्षेत्रमा समेत राजनीति थोपर्ने यो मुलुकका सासक वर्ग जनताहरू प्रति अलिकती पनि उत्तरदायी र जिम्मेवार भएको भनक कहिले पनि पाउन सकिएन। लामो समयदेखिको राजनीतिक दल र यसका सासकबर्गको कृयाकलापलाई हेर्दा लाग्छ यस देशका जनता रैती र शासक बर्ग मुखिया सरह भएका छन्। जनता र शासक बर्ग बिचको यो दुरीले जनवादको खिल्ली उढाएको भान हुँदैछ।
जनताको भावना र देशको आवश्यकतालाई मजाकमा उढाउँदै सासक बर्गहरू देश निर्माणमा लाग्नुपर्ने महत्वपूर्ण अवसरमा कुर्सीको म्युजिकल चेयर खेलमा ब्यस्त हुन्छन्। ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भने झै कोही उत्तर पट्टी ढल्कन्छन त कोही दक्षिण पट्टी गुलामी गर्दछन्। जनाता सामु झुटो बचन दिनुलाई अब त राजनीतिज्ञ हरु आफ्नो बहादुरी नै मान्न थालेका छन्।
विश्व किर्तिमान कायम राख्ने गरी सरकार परिवर्तन गर्छन् यस देशका सासकहरू। यीनमा  कुनै लाज, सरम, जनताप्रतिको जिम्मेवारी र जवाफदेहिता अलिकति पनि छैन।
उद्योग ब्यवसाय धरापमा भएको दशक नाघिसक्यो। यत्रतत्र भष्टाचार छ। देशले कुनै उल्लेखनीय उत्पादन गरी निर्यात गर्न सकेको छैन। ब्यापारीलाई आफ्नो लगानी उठाउन धौ धौ छ।
घुस खुवाएर कर छल्ने परम्परा कायम नै छ। आफ्नो लगानी सुरक्षित राख्न नेपालका ठूला ब्यापरिक घरानाले ठाडो आय कर छल्दछन्। यती मात्र होइन, एक आर्थिक सालमा लिएको कर्जालाई लुकाई अर्को आर्थिक सालमा देखाई ब्यालेन्स सिट आकर्शक बनाइन्छ र बित्तिय सस्थालाई ठगिन्छ।
मुलुकको अस्त ब्यस्त अवस्थाको फायदा लिदै ब्यापार ब्यबसायमा आफ्नो लगानी उठाउन ठूला ठूला ब्यापारिक घरानाका साहुले 'डमी कम्पनी' खोली बित्तिय सस्थाबाट लिएको कर्जालाई जग्गामा लगानी गर्ने गरेको अवस्थामा समेत सरकार मौन देखिएको छ।
नेपालमा जग्गाको भाउ नाटकीय रूपमा बढ्नुको एक कारण मध्य ठूला घरानाका ब्यापारीहरुले जग्गामा लगानी गरेकाले हो भन्छन् जानकारहरु। लामो समयदेखि सासक र ब्यापारीबीच ‘तै चोर मै चोर ‘ को अवस्थाबाट देश गुज्रीएको छ ।
घुस खानु र अकुत कमाई गर्नु लाई नेपाली समाजले आफ्नो गौरब महसुस गर्दछ। राजनितिक प्रभावमा कानुनलाई आफ्नो अनुकुल ब्याख्या गरी अधिकारको उल्लङ्घन गर्नुलाई बहादुरी ठानिन्छ। राजनीतिको खोल ओडी ज्यान मार्ने, भस्ट्राचार गर्ने, महिला हिंसा गर्ने, बलात्कार गर्ने जस्ता अपराधीलाई आम माफी दिइन्छ।
जसरी र जुन प्रकृयाले शासक बर्गले देश हाक्दै छन्, यस देश भित्रका जनताले त्यही सिको सिक्दै छन्। के हाम्रा छोरा छोरीलाई यस्तै शिक्षा दिने? यस्तै विकृति र विसंगतिको सिको गरे भने देशको भावी अवस्था कस्तो होला? यस्तै अवस्था रही रहे वर्तमान शासकबर्ग र भाबी सासक बर्गमा केही फरक हुने छैन जुन यस देशका लागि अत्यन्त ठूलो क्षति हुनेछ।
यी सासक बर्गमा देश विकासका लागि केही गरौं भन्ने न त भरपर्दो योजना छ न कुनै प्रतिबद्धता नै। एउटा आउँछ अर्कोले तुरून्त खुट्टा तान्न सुरू गर्छ। पुस्तौसम्म पुग्ने सम्पत्ति जोड्ने एक सूत्रीय योजना बाहेक अन्य सबै नाटक मात्र भान हुन्छ।
शासक बर्गका यस्ता बेतिथिबीच देश भित्र केही गरौं भन्ने युवा निरिह समान भएका छन्। सबै थकित र भविस्यप्रती चिन्तित देखिन्छन्। यस्तो बिकराल अवस्थामा जरैदेखि मल जल नगरि टुप्पोमा फल लाग्छ भनेर आश गर्नु बेक्कार र समयको बर्बादी मात्र हो।
युवा शक्ति भनेको देश निर्माणको मेरुदन्ड हुन्छन्। अझ युवाहरु भविस्यका शासकनै हुन्। पछि गएर युवाहरू कोही प्रशासक बन्छन्, कोही नेता बन्छन् त कोही नीति निर्माता बनी देशलाई हाक्ने हैसियत राख्छन्। नेपालको सन्दर्भलाई लिने हो भने जबसम्म युवाहरुको चेतनाको विकासमा लगानी गरिदैन तबसम्म वर्तमान परम्परावादी सोच, विचार र राजनीतिलाई परिवर्तन गरी देश विकास गर्न सम्भब देखिदैन।
अब राजनीतिक र त्यसका शासकले हरेक युवापुस्तालाई जवाफ दिनुपर्ने समय आएको छ - कहिलेसम्म विदेशमा श्रम गरेर यी युवा पुस्ताले आफ्नो जवानी लुटाउने? यदी वर्तमान अवस्थाबाट उन्मुक्ती दिनसक्ने कुनै भिजन नभए युवा पुस्तालाई यस मुलुकको बागडोर जिम्मा लगाउनुको कुनै बिकल्प बाँकि होला?
Previous
Next Post »