प्रवासमा दुख्ने दशैं
निलो गगन र धानका बालाले दशैंको संकेत गरिसके। केटाकेटीहरु दिन गिन्ती गर्दै हातका औंला भाँच्न लागिसके, ब्यापारीहरुले पसल सजाइसके, यात्राकालागि टिकट बुकिंग खुलिसक्यो। आकासभरि चंगा अन्मिईसके। प्रियसिले नया सारी किनिसकिन। आमाले जमरा राखी सकिन। बाबालेराखिएको जमरा अघि बसी चण्डी पाठ गरिसके। नाति नातिना हजुरबुबा छेउमा बसी रमाउंदै घन्टी बजाउन थालिसके। कत्रो खसी किन्ने भनि बार बार एउटै प्रश्न गरिरहेछन् नाती नातिना। यो पटकको दशैंमा टिका लगाएर कति हुन्छ होला पैसा अनि कसले धेरै पैसा दिन्छ होला भन्दै हिसाब गर्दैछन चंचल अबोध बालकहरु।
चाडपर्वहरुसादाजीवनलाई रंगिन बनाउन जीवनमा एउटा अनौठो रंग बोकेर आउँछन्। त्यसमाथिपनि महान चाड दसैं बिछोडमा मिलन लिएर आउँछ। गाली गलौजका ठाउँमा आशिर्बाद ल्याउँछ। धुलो मैलो र हिलो को सट्टामा सुन्दर मौसम लिएर आउँछ।
नयाँ कपडा र रोटेपिंग संगै नयाँ नाना लिएर आउँछ। खुसि, मिलन, आशिर्बाद, भोजन, बस्त्र, रंग रोगन, मनोरंजन, मेला, किनमेल, व्यस्तता एकै पटक ल्याउँछ दशैंले। बाटोमा हिड्नेहरुको कोलाहल, बजारमा किन्नेहरुको हलचल, केटाकेटीहरुको चंचल, जवानहरुको मस्ती लिएर अाँउछ।
आमा बाबुहरुको व्यस्तता सबै एकै पटक जुराई दिन्छ यो चाडले। नास्तिकहरुलाई आस्तिक बनाउन, सादा जीवनलाई रंगिन बनाउन, तिन पुस्तालाईनै एकै ठाउँमा बसाउन, नया जुवाइंलाई ससुराली भित्राउन, भगवानमाथि गरिएका भाकल पुरयाउन सामर्थ राख्द। क्या दमदार छ यो उत्सव , लह लह फलेका धानका बालारत्यसको सुगन्धसंगै मच्चिएको पिंग र त्यसमा हर्षित मन जसले सबै दुख कस्ट बिर्सिएर आफुलाई एकपटक खुसीमा समाहित गरिदिन्छ।
छैन कुनै अर्को चाड जसले नेपाली मनहरुलाई त्यतिधेरै उद्देलित गरोस, उत्साहित गरोस, उमंग भरोस, बुढेसकालमा केहि समय जवानी फिराओस, केटाकेटीहरु बिना इस्कुल र होमवोर्क निस्फिक्री हुन, युवकहरु उन्मत्त हुन्, युवतीहरु आफुले रोजेका गहना र बस्त्रमा उन्मुक्तिका साथ् खित्खिताउन, राता टिका र पहेंला जमराले सजिएरछोरी, बुहारी र आमाहरुका चुरा र पाउजुका छन् छन् आवाजले बर्षदिन भरिको सन्नाटालाई चिरोस, हजुरबा हजुरआमा आफ्ना नाती नातिनालाई अंगालो हाल्न पाएर आफ्नामुजा परेका अनुहारमा खुसि आओस।
ढोरपाटनमा आफूखुसी सिकार
ढोरपाटनमा आफूखुसी सिकार
मानिसकाबानी व्यवहोरा उसका संस्कृतिबाट निर्देशित हुन्छन्। उ को हो। के हो वा उ के भन्छ वा के गर्छ, कसरी गर्छ भन्ने कुरा नितान्त उसको ब्यत्तिगत कुरा हो। आज देस बाहिर लाखौको संख्यामा नेपालीहरु बसोबास गर्छन। कोहि रोजगारकालागी, कोहि अध्ययनलागि, धेरै बाध्यताले, केहि रहरले।
कारण जुन भएपनि सत्य एउटै हो उनीहरु आफ्नो देश, समाज, परिवारर साथीभाई भन्दा टाढा छन्। भूगोलले टाढा पारेको छ।
मातृभूमिसंगका जराहरु काटिएका छन्। साथीहरु छुटेकाछन, परिवार फुटेकाछन्। छोरा छोरीबाट अलग्गिएकाछन्। आमा बाबुका आँखा बाटामाछन्।
चुइएको छानो र भत्किएकाघरका भित्ताहरु परदेशीलाई पर्खिरहेछन। बोलावट नै बोलावट छ। प्रियसीको बोलावट छ, बुढी आमाको बोलावट छ, छोरा छोरीको बोलावट छ, छिमेकीको बोलावट छ, देशको बोलावट तर त्यो भन्दा ठुलो बोलावट परदेशी काम गर्ने कम्पनीको हाकिमको छ, ऋण दिने शाहूको छ, खाली पेटको छ, नांगो आंग को छ, अधुरा सपनाको छ, मिराज जस्तै अतृप्तस्वर्णिम भविष्यको छ।
जति टाडा गएपनि हामीले आफ्नो धर्म , रितिरिवाज, आनी बानि, कर्म काण्ड सबै बोकेर गएको छै। शरीर बिदेशमा भएपनि मन स्वदेशमा हुन्छ।
देस दुख्दा हामी रुन्छाै। देश खुशी हुँदा हामी पनि हाँस्छाै। हरेक चाड पर्वलेहामीलाइ बेस्सरी छुन्छ। हामी तिनै चाड पर्वका लयमा लय मिलाउँदै जीवन अगाडी बढाउँछाै। त्यसैले त हाम्रो परदेशी भान्सामा पनि जिम्बु, टिम्बुर, गुन्द्रुकका पोका भेटिन्छन्।
अमेरिकी विश्वबिद्यालयमा अध्द्यापन गराउने नेपाली होस् वा बेलायत र अस्ट्रेलियाका हस्पिटलमा काम गर्ने सिनिएर चिकित्सक होस् वा मध्य्पुर्बको गर्मीमा काम गर्ने बहादुर छोरो होस् वा इजरायलमा काम गर्ने सहनसिल नेपाली छोरी हुन्। ति सबैका घरमा हरेक साँझ बिहान दाल पकाउन कुकरमा सिट्टी लागेकै हुन्छ। राइस कुकरमा बासमती चामलको बासना, हरियो साग कहाँ टुटेको हुन्छ र। धर्म, चाड पर्व, खाना, रहन सहन त मानिसका आफ्ना चिनारी हुन् ति कसैले मेटाउन चाहेर पनि मेटिदैनन्।
बर्षको एघार महिना सम्म बिदेशमा रमाएको नेपाली मन, हरेक शाप्ताहंतका सुमधुर साँझ, रंगिन जिन्दगी, सफा शुन्दर र रमणीय उद्यानहरु, चम्किलो बहान, जिन्दगी सजिलै जिउन पुग्ने आम्दानी, हँसिलो अनुहार, सुन्दर पोसाक, समुन्द्री किनारका बिर्सी नसक्ने सम्झनाहरु दशैँ आएपछि फिका साबित भइदिन्छन्।
बर्षमा एघार महिना सम्म बिदेशमा खुसि भएका नेपाली बर्षमा एकपटक आउने यो एकमहिने दशैंले एकै पटकमा बढारिदिन्छ ति एघारमहिनाको खुशीलाई। बर्षदिनभरी झुक्दैनझुक्ने उँचो रहेको बिदेशीएको नेपाली शिर दशैंमा निन्याउरो भैदिन्छ। बर्षमाएक पटक हार्न पर्छ हामीले।
बिदेशमै भए पनि उसले सिंगो खसी किनेर ल्याएपनि त्यो खसीको कान पोलेर खाने केटाकेटी छैनन्। रक्तिथाप्न भाँडो ल्याउने छोरो छैन। म त खसी काटेको हेर्दिन भनेर भित्र लुक्न जाने सानी छोरी छैन। भएभरका परिकार बन्छन् तर पटक्कै स्वाद हुदैन।
खसिमा आफ्नी प्रियसीले पिनेको मसलाको स्वाद छैन। चुराको छन् छन् मा बाहिर र भित्र गर्दै पकाएको आवाज छैन। खसी कति किलोको रहेछ भनेर सोधिदिने छिमेकी छैनन्। यो पालाको दशैमा कस्को खसी सबै भन्दा ठुलो भनि गफ गर्ने चौतारो छैन। आफुले बनाएको भुट्न चिउरामा रमाउने आफन्त र साथि भाई कोहि छैनन्। अनि कसरी आउँछ स्वाद? कसरिआँउछ खुशि?
बिस्तारै दशमी टिकाको दिन आईपुग्छ। समय भन्दा बलवान को छ र! यो दिनमा निधारमा रातो अछ्यता र पहेंलो जमरा लागाई आफ्ना बुढा आमा बाबुको गोडामा ढोगेर आशिर्बाद लिने मन अधुरो रहन्छ प्रवासमा।
मामाघर जाने धोको अधुरो रहन्छ। बाटामा उकाली चडदा थाके पछि साईली दिदीको पसलमा २ गिलास तीनपाने लगाउन इच्छा अधुरो रहन्छ। पुराना साथीहरुसंग वसेर रमाउने इच्छा अधुरो रहन्छ। चौतारीमा बसी चिया खाने इच्छा अधुरो रहन्छ। गाउँको चोकमा केरम्बोर्ड खेल्ने रहर अधुरो रहेको जस्तो लागिरह्छ।
बडा दशैंको दशमीका प्राय परदेशीले डिउटीमा बिदा लिन चहांदैनन्। मन भुलाउन सजिलो होस् भनेर। तर उज्यालो हुन नपाउंदै नेपालबाट सानी छोरीले भिडियो कल गरिदिन्छे र दछिन्नामा पाएको एक सयको नोट देखाउँछे। दरो स्वर बनाएर घरका सबै सदस्यहरु संग पालै पालो कुरा गर्नुपर्छ। फोन राखे पछी एकपटक कसैले नदेख्ने गरि रुन्छन कति नेपाली प्रवासमा। सत्य अर्कै छ। यथार्थ अर्कै छ। जीवन अर्कै छ। परिस्थिति अर्कै छ। यस्तै हो प्रवासको दशैँ।
चाड पर्वका बेलामा हरेक बिदेसिएका नेपाली परिवार र तिनका छोरा छोरीहरुका यी साझा बास्तबिकता हुन्। जुन आजका दिनमा चाहेर पनि हटाउन सकिदैन।
सायद अवका कयौं दसक यिनै कथाहरु दोहोरिरहने निश्चित प्राय छ। र नेपाली डायस्पोराका मनहरु हरेक दशैंमा यसरीनै दुखिरहने छन्। समयले यी मेरा व्यक्तिगत भनाइलाई असत्य साबित भइदिउन।
ConversionConversion EmoticonEmoticon