अलैंची उत्पादन र भाउ घटेपछि किसान चिन्तित

अलैंची उत्पादन र भाउ घटेपछि किसान चिन्तित



खोटाङको बाझेच्यानडाँडाका किसान अलैची टिप्दै । तस्बिर : डम्बरसिं राई/कान्तिपुर
आश्विन २०, २०७३- अलैंची उत्पादन घटेपछि किसान चिन्तित बनेका छन् । अडेरी र रोगले अलैंची नष्ट भएपछि उत्पादन घटेको हो । 

जिल्ला कृषि विकास कार्यालयले गत वर्षको तुलनामा यो वर्ष २५ प्रतिशत अलैंची उतपादनमा गिरावट आएको जनाएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक रामभक्त अधिकारीका अनुसार यो वर्ष चार सय ४० मेट्रिकटन मात्र अलैंची उत्पादन भएको छ । गत वर्ष पाँच सय ६४ मेट्रिकटन उत्पादन भएको थियो । यसबाट गत वर्ष ९२ करोड रुपैयाँ बराबरको अलैंची जिल्लाबाट निकासी भएको थियो । 



अलैंची उर्बर क्षेत्र मानिएको सुङ्देल गाविसका ललितचन्द्र राईले अलंैची उत्पादनमा गिरावट आएपछि किसान चिन्तित बनेको बताए । उनका अनुसार गत वर्ष सुङ्देल गाविसमा मात्र साडे तीन करोडको अलैंची निकासी भएकोमा यो वर्ष ५० लाख रुपैयाँ जतिको मात्र निकासी हुने देखिएको छ । 

अलैंचीको उर्बर मानिएको अर्को गाविस बाझेच्यानडाँडास्थित अलैंची किसान संग्राम राईका अनुसार यो वर्ष आधा अलैंची उत्पादन घटेको छ । गत वर्ष बाझेच्यानडाँडा गाविसबाट पाँच सय मन अलंैची निकासी भएकोमा यो वर्ष करिब दुई सय मन मात्र निकासी हुने देखिन्छ । जिल्लाको सुङ्देल, फेदी, पाथेका, खार्मी, चिउरीडाँडा, बाझेच्यानडाँडा, सावाकटहरे, चिसापनी, डम्बर्खुशिवालय लगायत ३४ गाविसमा अत्याधिक अलैंची उत्पादन हुने गरेको छ । 

गत वर्षको तुलनामा यो वर्ष अलैंची उत्पादन क्षेत्र बढे पनि उत्पादन घटेको छ । गत वर्ष नौ सय ४० हेक्टर क्षेत्रफलमा अलैची उत्पादन भएको थियो भने यो वर्ष नौ सय ६१ हेक्टरमा अलैची उत्पादन भए पनि उत्पादकत्व घटेको प्राविधिक सहायक अधिकारीले सुनाए । 

त्यसो त यो वर्ष ८४ हेक्टर जग्गामा नयाँ अलैंची क्षेत्र विस्तार गरिएको छ । अधिकारीका अुनसार यो वर्ष एक हजार चार सय चार हेक्टरमा अलैंची लगाइएको हो । 

अलैचीको मूल्य पनि घट्यो
यो वर्ष ३५ प्रतिशत अलैंचीको मूल्य गिरावट आएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक रामभक्त अधिकारीका अनुसार स्तरीय अलंैची उत्पादन गर्न नसक्नु, प्रशोधन, ग्रेडिङ, प्याकेजिङ्, ढुवानी र बजार व्यवस्थापन गर्न नसक्दा अलैंचीको मूल्यमा गिरावट आएको हो । 

गत वर्ष प्रतिकेजी ९७ हजार रूपैयाँमा बिक्री भएको अलैंची यो वर्ष प्रतिकेजी ६२ हजारमा झरेको अलैंची व्यवसायी संग्राम राईले बताए । उत्पादन र मूल्य घटेकाले किसानको आर्थिकस्तरमा मात्र नभएर जिल्लाको अर्थतन्त्रमा समेत असर पर्ने खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालुले बताए ।



Previous
Next Post »