लोकमानको घरमा म्याद टाँस्न गएकाे सर्वोच्चकाे टाेली त्यसै फर्कियाे

लोकमानको घरमा म्याद टाँस्न गएकाे सर्वोच्चकाे टाेली त्यसै फर्कियाे

पुरै घर भाडामा लगाइएकाेले म्याद टाँस गर्न नमिलेकाे भनाई
वडा नम्बर १० की सचिव सरिता राई अदालत कर्मचारीकाे सम्पर्कमै अाइनन्





आश्विन १९, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद (सूचना) टाँस्न गएकाे सर्वोच्च अदालतको टोली त्यसै फर्किएकाे छ । कार्कीको नयाँ बानेश्वरस्थित घरमा अदालतलको विशेष टोली दिउँसाे म्याद टाँस्न गएको थियाे ।



आयोगमा कार्कीको नियुक्तिको निर्णय पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि विभिन्न बहानामा विदेश गएको र म्याद बुझ्न अस्विकार गरेको भन्दै उनलाई सूचित गर्न घरमै गएर म्याद टाँस्ने निर्णय गरेको हो । 

टाँस्ने क्रममा काठमाडौं महानगरपालिकाको सम्बन्धित वडा सचिवको रहोबरमा मुचुल्का उठाउनु पर्ने थियाे । सचिवको रहोबरमा म्याद टाँस गरेपछि उक्त म्याद कार्कीले नै बुझे सरह हुने थियाे । तर वडा नम्बर १० की सचिव सरिता राई बिहान कार्यालयबाट हाजिर गरेर निस्केपछि सम्पर्कमा नै अाइनन् ।

'वडा सचिव हाजिर गरेर निस्किनुभएकाे रहेछ,' तामेल्दार शम्भु खत्रीले भने, '३/४ घण्टा कुर्दा पनि उहाँकाे अत्ताेपत्ताे लागेन ।'



वडा सचिव सम्पर्कमा नअाएपछि सिधै बानेश्वरस्थित घर पुगेका अदालत टाेलीलाई घरमा रहेका सबै भाडामा बस्ने रहेकाे थाह भएपछि म्याद नटाँसी फर्केकाे हाे ।

'घर पुरै भाडामा रहेछ,' तामेल्दार खत्रीले भने, 'सबै भाडामा रहेकाे घरमा म्याद टाँस्न मिल्दैन । त्यसैले हामी फर्कियाैं ।' 

आयोगका प्रमुख आयुक्त कार्की नियुक्तिको कानुनसम्मत नभएको उल्लेख गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदातलमा २०७० वैशाख २९ गते रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले सो रिटको २०७१ असोज ८ गते खारेज गरेको थियो ।





सर्वोच्चले दुवै पक्षलाई म्यादको पत्र पठाएको थियो । जसमा अधिवक्ता ओमप्रकाश अर्यालले पत्र बुझिसकेका छन् भने कार्कीले बुझ्न अस्विकार गरेका छन् । 

अधिवक्ता अर्यालले आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध पुनः पुनरावलोकनको निवेदन हालेका थिए । 




Previous
Next Post »