पत्रकारहरू टाइपिस्ट बन्दै छन्
एक पत्रकारका निम्ति कुनै पनि घटनामा ‘यसरी काम गर्नुपर्छ’ भनेर कतै उल्लेख छैन। पत्रकारको पहिलो कर्तव्य नै जे देखेको छ त्यसलाई जस्ताको त्यस्तै वर्णन गरिदिने हो।
तर, जतिबेला प्रतिभावान तन्नेरीहरू सीप र प्रतिबद्धताका साथ यस पेसामा आकर्षित भइरहेका छन्, ठीक त्यही बेला मिडिया आफैं प्रतिगामी दिशातर्फको संक्रमणमा गइरहेको छ। जे–जस्ता समाचारले असमानताका कथा बोकेका हुन्छन्, त्यस्ता समाचार निम्ति आवश्यक पर्ने ‘बिट’हरू नै पत्रकारिताबाट हराउँदै गइरहेका छन्। यो पत्रकारिताका निम्ति गजबकै ‘ट्रेजेडी’ हो।
मैले यस पेसामा ३६ वर्ष बिताइसकेको छु। सन् १९८० को सेप्टेम्बर पहिलो तारिखका दिन युनाइटेड न्युज अफ इन्डिया (युएनआई) मा मैले काम सुरु गरेको थिएँ। त्यतिबेला मेरो जोश र जाँगर नै बेग्लै थियो। मैले अत्यन्त उच्च मनोबलका साथ पत्रकारिता गरिरहेका सिनियरहरूसँग काम गर्ने मौका पाएको थिएँ।
एकदिन युएनआईको क्यान्टिनमा एउटा गतिलै झडप भयो। बिजनेस रिपोर्टरले लेबर रिपोर्टरलाई खुलेआम पिटिदिए। त्यही बेलादेखि लेबर रिपोर्टर हटाउन सुरु भयो। अहिले आएर यो लोप भइसकेको एउटा प्रजाति बन्न पुगिसकेको छ। आज भारतभर कुनै एउटा पत्रिकासँग पनि पूर्णकालीन लेबर रिपोर्टर छैन। आज लेबर अर्थात् मजदुरका सरोकारबारे कसले रिपोर्ट गर्छन् त भन्दा, उद्योगहरूसँग सम्बन्ध सुमधुर राख्ने दायित्व बोकेका तिनै बिजनेस रिपोर्टरहरूले।
पत्रकारितामा बदलिँदो समयसँगै बदलिँदै गएका शब्दको परिभाषाले पनि मलाई आश्चर्यचकित पार्छ। कुनै समय हामीकहाँ पत्रकार हुने गर्थे, हिजोआज नाम त्यही भए पनि उनीहरूले गर्ने काम ‘कन्टेन्ट प्रोभाइडर’ (छाप्ने कुरा उत्पादन गर्ने) का रूपमा सीमित हुँदै गएको छ। एकताक हामीकहाँ ज्युँदाजाग्दा पाठक हुने गर्थे, हिजोआज त्यो स्थान ‘क्लिक’ ले लिएको छ। भारत होस् वा अन्यत्र, यो सबैतिरको आधारभूत विडम्बना बन्न पुगेको छ।सबैभन्दा विचित्र त, मिडिया पनि यही साँघुरोपनालाई बढावा दिने गरी यस्ता विकृतिमै तछाडमछाड गरिरहेका छन्।
मिडियाको घेरा दिन–प्रतिदिन सुक्दै गइरहेको छ। अझ साँघुरो बन्दै गइरहेको छ। र, विश्वभरि नै पत्रकारिताको मुहार एउटैजस्तो बन्दै गइरहेको छ। आजको दुनियाँमा असमानताबारे समझ विकास गर्न खोज्दा त्यसबाट कस्तो असर पर्ला भन्ने सोच पहिले आइपुग्छ। कर्पोरेट पावर नहेरी पत्रपत्रिकामा असमानताको चर्चा गर्नु भनेको डेनमार्कको राजकुमारलाई बिर्सेर ह्याम्लेट वा ब्यान्कोको भूतलाई बिर्सेर म्याक्वेथको प्रदर्शन गर्नुजस्तै हुन्छ।
मैले भन्न खोजेको के भने, विशेष गरेर मिडियामा ‘कर्पोरेट’ शक्तिको उदय भइरहेको छ। मिडियामा कर्पोरेट क्षेत्रको बढ्दो वर्चस्व र हाम्रो साँघुरिदै गएको भूमिका प्रस्टै छ। मैले भन्न खोजेको हामीजस्ता मानिस अब कर्पोरेट पत्रिकाहरूमा छँदै छैनन् भन्ने पक्कै होइन। छन्। तर, जो छन् तिनीहरूको काम त्यहाँ हरेक दिन घट्दै गइरहेकै छ। र, उनीहरू विस्तारै डुब्दै गइरहेका छन्।
तपाईंहरूलाई ज्ञात रहोस्, छापा पत्रकारिताको आज जे–जस्तो रूपमा विकास भइरहेको छ, त्योभन्दा तीन गुणा तीव्र रूपले ‘पब्लिक रिलेसन अफिसर’ (जनसम्पर्क अधिकृत) को संख्या बढोत्तरी भइरहेको छ। मानिस भन्छन्, बदलिँदो समयसँगै टाइपिस्ट भन्ने पद नै हराउँदै गइरहेको छ। मेरो विचारमा टाइपिस्टहरू हराएका होइनन्, उनीहरू एक ठाउँबाट अर्को ठाउँमा सरेका मात्र हुन्।
हो, हामी पत्रकारहरू टाइपिस्ट बन्दै गइरहेका छौं।
यति हुँदाहुँदै म पत्रकारितामा हाम्रो निम्ति केही स्थान छ कि भन्ने देख्छु। किनभने, पत्रकारितामा अब दुई किसिमको स्कुल विकास भएको छ। एउटा पत्रकारको र अर्को स्टेनोग्राफर (टाइपिस्ट) को। म उनीहरूलाई ‘कर्पोरेट स्टेनोग्राफर’ भन्न रुचाउँछु।
सन् २०१४ मा ‘टाइम’ म्यागजिन निकाल्ने विशाल टाइम इन्कर्पोरेटेडका सिइओले एउटा गोप्य आन्तरिक पत्र काटेका थिए, जुन कसैगरी चुहिन पुग्यो। उक्त पत्रमा पत्रकारहरूको मूल्यांकन तिनले कति ‘बिजनेस फ्रेन्डली’ लेख्ने गर्छन् भन्ने हिसाबबाट गरिएको थियो। यो सबै कुरा विज्ञापनको सम्बन्धबाट निर्देशित छ। रोचक कुरा त के भने, त्यस्तो विज्ञापनको निम्ति फाइदा पुग्नेगरी लेख्ने पत्रकार भनेर जसले उपमा पाएका थिए, उनको लेखन गुणस्तर त्यो टिमभरिमै सबैभन्दा रद्दी थियो। यसले नै कर्पोरेट ग्रुपको समय र पत्रकारिताको अवस्था देखाउँछ।
पत्रकारिता आज अत्यन्तै धेरै ‘कर्पोरेटाइजेसन’ को दबाबबाट गुज्रिरहेको छ। यसरी कसैले पत्रकारितालाई अर्थोपार्जनका हिसाबले वर्गीकरण गरिरहेको छ भने त्यसबाट कस्तो परिणाम आउला भन्ने जगजाहेरै छ।
तपाईंहरू सम्झनु हुन्छ भने जतिबेला बिपी ग्यासको विवाद उठेको थियो, त्यतिबेला न्यू योर्क टाइम्सका खोजी संवाददाता डेभिड बेयर्स्टोले कोलम्बिया जर्नलिज्म रिभ्युमा एउटा गजबको रिपोर्ट लेखेका थिए। सबैभन्दा पहिले त, उनी जब त्यो असाध्यै भीडभाडयुक्त संवाददाता भेलामा पुगे, त्यहाँ पत्रकारभन्दा बढी जनसम्पर्क अधिकारीहरू देखेर जिल्ल परे। उनीहरू पक्कै पनि त्यहाँ प्रश्न सोध्न होइन, उत्तरहरू सार्न गएका थिए।
बितेको दशकमा केही महान समाचारहरू कुनै व्यावसायिक पत्रकारले आफ्नो न्यूज रुमबाट पठाएर होइन, बरु कुनै अरू नै व्यवसायका मानिसले आमपाठकलाई उपलब्ध गराएर प्राप्त भएका छन्। विकिलिक्स, एडवर्ड स्नोडेन र अहिले चेल्सी मानिङ बनेका ब्राडली को हुन्? के ती पत्रकार थिए? यत्रा पाठकहरूले पत्रकार र पत्रकारिताका निम्ति चिनेका व्यक्ति र संस्थाबाट किन यी जानकारी आएनन्?
वास्तवमा भन्ने हो भने, बितेको २० वर्षमा पत्रकारिताको एउटा ठूलो हिस्सा इराक, लिबिया, सिरियामा चलेको युद्धमा डिब्बाबन्द हुन पुगे। यो सत्य हो। त्यतिबेला कुनै अनुसन्धनात्मक समाचार आयो? खोज्न थाल्नुभयो भने पनि त्यो पत्रिकाकै अनुसन्धनात्मक समाचार तयार हुनेछ।
जसले अनुसन्धान पत्रकारिता गर्छु भन्छ, त्यो पत्रकारलाई नै अनुसन्धान गर्दाको मसँग बडो रोचक घटना छन्। हामीले के रिपोर्ट गर्छौं? त्यो कहाँ छापिन्छ? हामीले त्यस्ता सामग्री पढ्ने भिजिटर (पाठक) कसरी आकर्षित गरेर ल्याउँछौं?
मुम्बई र पुणेको दुई सय किलोमिटर बीचमा पर्ने एउटा ठाउँमा अडिएको एउटा होर्डिङ बोर्डको म कथा सुनाउँछु। त्यसमा एउटा ७५ तल्ले विशाल बिल्डिङको चित्र छ र प्रत्येक अपार्टमेन्टमा स्विमिङ पुल रहेको देखाउँछ। बाल्कोनी पुल रे। र, आश्चर्य नमान्नुस्, यो त्यही महाराष्ट्र हो, जसले सय वर्षयताकै सबैभन्दा सुख्खाग्रस्त राज्य बन्न पुगेको दाबी गरिरहेको छ।
मुम्बई र पुणेको यो बाटोमै मेरो अर्को प्रिय होर्डिङ बोर्ड पनि छ, जसमा भनिएको छ– ‘लक्जरी होम विथ अट्याच फरेस्ट’। अर्थात् हरेक घरसँग अब जंगल पनि जोडिदिन थालिएको छ। यो त्यही महाराष्ट्र हो, जहाँ बाघ बिचरोले पनि बेग्लै जंगल पाउन सकिरहेको छैन। यी बिल्डरहरूको सिर्जनशीलताले म हैरान हुन्छु। र, हाम्रो यथार्थ के भने, यस्ता बिल्डिङ बनिरहेको क्षेत्रभन्दा केही किलोमिटर मात्र पर पिउने पानीको अभावमा गरिब ग्रामीण बासिन्दा छटपटाएर बाँचिरहेका छन्। त्यही भीडमा दलित पनि छन्, जसले छोइदिनेबित्तिकै पानी बिटुलो हुने भएकाले सबैभन्दा पछि मात्र थाप्ने अनुमति पाउँछन्। यो नै हो असमानता भनेको। हाम्रो भेगमा असमानताका यस्ता तस्बिर देखाउने हो भने थुप्रै छन्।
जतिबेला म भारतका दलितको अवस्था देखेर विचलित भइरहेको हुन्छु, त्यतिबेलै आएको समाचारले भन्छ, चीनमा कुनै धनीमानीको छोराले उसका नौवटा कुकुरका निम्ति नौवटै आइफोन किनिदियो रे। अखबारमा ती कुकुर लोभलाग्दो आइफोनले घेरिएको तस्बिर पनि देखिन्छ। त्यतिबेलै अमेरिकामा भइरहेको चुनावमा असमानताले कस्तो भूमिका खेलिरहेको छ भन्ने बहस चलिरहेको देखिन्छ। यी चुनावकै बारेमा पनि मलाई एउटा कुराले सोचमग्न बनाउँछ, वास्तवमा चुनावमा लड्ने काम कसले गरिरहेका छन्?
आज अमेरिकी इतिहासकै दुई जना सर्वाधिक अलोकप्रिय व्यक्ति राष्ट्रपति निर्वाचनमा आमनेसामने छन्। वास्तवमा कसले चुनाव लड्ने सामथ्र्य जुटाउन सक्छ भनेर खोजी गर्ने हो भने त्यहीँभित्र पनि ठूलो असमानता देखिन्छ। भारतमा सन् २००४ मा ३२ प्रतिशत सांसद करोडपति थिए। २००९ मा यो संख्या ५३ प्रतिशतमा उक्ल्यो। २०१४ मा त झन् ८२ प्रतिशत सांसद करोडपति छन्। अर्थात् ८२ प्रतिशत करोडपति सांसदले संसारमै उल्लेख्य संख्यामा गरिबहरू बसोबास गर्ने मुलुकको प्रतिनिधित्व गरिरहेका छन्। अनि हामी पत्रकारले यो कथा कहाँ भनिरहेका छौं? कसरी भनिरहेका छौं?
केही पहिले डेभिड एटनबरोले भनेका थिए, ‘कुनै सीमित घेरा भएको ठाउँमा तपाईंले असीमित प्रगति सूचक देख्नुभयो भने या त तपाईं पागल हो या अर्थशास्त्री’। केही वर्षयताका यस्ता सूचक देखेर म आश्चर्यमा पर्छु। सन् २०१५ सम्म आइपुग्दा ६२ जना भारतीय अर्बपतिले विश्वकै आधा जनसंख्यासँग भएजत्तिको सम्पत्ति जम्मा गरेका छन्। २०१३ मा त्यस्ता ८३ जना थिए।
यसले ती ६२ जना कति धनी छन् भन्ने मात्र देखाउँदैन, संसारको आधा जनसंख्या कति अभावमा बाँचेको छ भन्ने पनि देखाउँछ। र, यो पछिल्लो जानकारी बढी महत्वपूर्ण छ। यो त्यही भारत हो, जहाँ सरकारी तथ्यांकअनुसारै २० वर्ष अवधिमा तीन लाख गरिब किसानले आत्महत्या गरेका थिए। ग्रामीण भारतमा ८२ करोड ३० लाख जनसंख्याले ४० वर्षअघि जति क्यालोरी खानेकुरा दैनिक खाने गर्थे, त्योभन्दा ५ सय ५० क्यालोरी कम खानामा चित्त बुझाएर बाँचिरहेका छन्। भिटामिन, प्रोटिन सबै घटेको छ। यो तथ्यांक पनि राष्ट्रिय पौष्टिक आहार अनुगमन ब्युरोको हो। यस्तो तथ्यांक आएपछि के गर्ने भन्ने पनि हामी भारतीयलाई थाहा छ। हामीले गत वर्ष त्यो ब्युरो नै बन्द गरिदियौं।
यस्ता कति समाचार हामीले लेख्यौं? कति जानकारी पाठकलाई बाँड्यौं?
भोक भनेको क्यालोरीको गणना मात्र होइन। मेरो निम्ति त भोक भनेको गणेशुदालु हुन्, एक जना ७३ वर्षीय वृद्ध जसले ‘इम्प्लोयमेन्ट ग्यारेन्टी स्किम’ मार्फत् गाउँमा गएर काम गर्ने मौका पाए। जो ४९ डिग्री तापक्रममा ढुंगा फोड्ने काम गरिरहेका थिए। जब मैले उनलाई ‘किन यसो गरिरहेको’ भनेर सोधेँ, उनको उत्तर थियो, ‘मसँग अरू के विकल्प छ? यो बुढेसकालमा मैले पेन्सनबापत मासिक दुई सय रुपैयाँ मात्र पाउँछु।’। तपाईंहरूले बुझ्ने गरी भन्नुपर्दा केवल तीन डलर।
यो त्यही जागिर दिने ठाउँ हो, जहाँ म ५० वा ६० वर्ष नाघेका विधवाको पनि लामै लाइन देख्दै आइरहेको छु। त्यो लाइनमा म तेलंगानाका ती असाध्यै रिसाएकी आमा पनि देख्छु, जो मसँग आक्रोशित भएर भन्दै थिइन्, ‘स्कुल किन नखोलेको?’
मैले जवाफमा आफूले पाएको जानकारीअनुसार स्कुलमा विदा चलिरहेको बताएँ। यस्तो माग उनीहरूले किन राखेका रहेछन् भने स्कुल त्यो वर्ष २० दिनअगावै विदा दिइएको रहेछ। आमाहरूको सरोकार चाहिँ ती स्कुलमा तिनका केटाकेटीलाई खुवाइने दिवाकालीन खानासँग जोडिएको थियो। दिनको त्यही एक छाक खाएर भए पनि उनीहरूका केटाकेटी बाँचिरहेका थिए।
मुम्बई चकाचौंध सहर हो। त्यसै सहरको एउटा झुपडपट्टीमा पढाउने एक जना शिक्षकले मलाई भनेका थिए, ‘तपाईंको कुरा सरकारले सुन्छ भने सोमबार विद्यालयमा खुवाइने खानामा दोब्बर बढोत्तरी गराइदिन सक्नुहुन्छ?’
मैले ‘किन’ भनेर जिज्ञासा राखेँ।
उत्तरमा ती शिक्षकले भने, ‘शुक्रबारदेखि भोकै बसेका विद्यार्थीको अवस्था यस्तो हुन्छ, खाना खुवाउने बेलासम्म उनीहरूको दयनीय हालत हेर्न पनि हामीलाई कठिन भइदिन्छ।’
हो, हामी पत्रकारका निम्ति समाचार त्यहाँ छ। के हामीले यस्ता समाचार लेखिरहेका छौं त?
बेलायतको ‘ग्लोबल जस्टिस नाव’ ले भर्खरै एउटा तथ्यांक निकालेको छ, जसअनुसार संसारका सयवटा सर्वाधिक धनी संस्थामध्ये ६९ वटा कर्पोरेसन छन्। केवल ३१ संस्था व्यक्तिगत छन्। सन् २०१४ मा यो तथ्यांक ६३ र ३७ थियो। संसारमा यसरी कर्पोरेट पावरको उदय भइरहेको छ। तपाईंहरूलाई एउटा कुरा बताइदिउँ, यी ६९ कर्पोरेट हाउस प्रत्येकले संसारकै १ सय ८० मुलुकभन्दा बढी बजेट वार्षिक चलाउँछन्। ती मुलुकमा आयरल्यान्ड, ग्रिस, दक्षिण अफ्रिका पनि छन्।
अब हाम्रा अखबार,मा समाचारको प्राथमिकता के ले पाइरहेको छ त्यो हेरौं। ‘वल्र्ड इकोनोमिक फोरम’ को बैठकमा पठाइने भारतीय टेलिभिजनकर्मीहरूको संख्या मात्र हेरौं। त्यही टेलिभिजनले उसको स्टुडियोभन्दा केवल दुई सय किलोमिटर पर सुख्खाले किसान कसरी मरिरहेका छन् भन्ने समाचार संकलन गर्न कहिल्यै संवाददाता पठाउँदैन। अनि फोरमको बैठक बस्ने स्विट्जरल्यान्डको महँगो सहरमा संवाददाता पठाउने खर्च ती टेलिभिजनले कसरी उठाउँछन्?
एकदिन मैले भारतीय पत्रकारिताको यो यथार्थ बुझ्न सानो खोजी पत्रकारिता गरेँ। यी युरोप भ्रमण गर्ने पत्रकार त भारतका उद्योगपति व्यापारीहरूको संगठन र वाणिज्य मन्त्रालयको सौजन्यमा पो उता पुग्दा रहेछन्।
म सबै संवाददाता साथीहरूलाई भन्छु, तपाईंहरूले सम्पन्नताको समाचार लेख्दा गरिबीलाई त्यसबाट अलग नराख्नुस्। पत्रकारिता यस्तो साहित्य हो, जुन कर्पोरेट लगानीबाट कहिल्यै फस्टाउँदैन। पत्रकारिता यस्तो साहित्य हो, जुन समाज र समुदायका भोगाइबाट आयो भने मात्र सुवासित हुन्छ। हामीसँग भएको सबैभन्दा ठूलो चुनौति नै समाजको कथा समाजमा कसरी सुनाउने भन्ने हो।
दुर्भाग्यवश हामी एउटा फ्रन्टमा मात्र लडेर जित्नसक्ने अवस्था छैन। अहिलेलाई एउटा कुरा भनिराख्छु, पत्रकारितालाई सबैभन्दा बढी खतरा मिडियाबाट हुँदै गइरहेको छ। हामीले पत्रकारितालाई मिडियाबाट उद्दार गर्नैपर्छ। मलाई थाहा छ, यो धेरै गाह्रो काम हो। तर, असम्भव छैन।
(हालै सिंगापुरमा एसियाली पत्रकारहरूका निम्ति आयोजित ‘असमानताबारे रिपोर्टिङ’ विषयक सेमिनारमा भारतीय पत्रकार साइनाथले व्यक्त गरेको मन्तव्यको सम्पादित अंश)
ConversionConversion EmoticonEmoticon