लामखुट्टे खोज्दै स्वास्थ्यकर्मी

लामखुट्टे खोज्दै स्वास्थ्यकर्मी





आश्विन २०, २०७३- चितवनमा डेंगुका रोगी बढेपछि जिल्ला जनस्वास्थयले लामखुट्टेको बासस्थान खोजी गरेर लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा यस्तो संक्रमण देखिएपछि जनस्वास्थ्यले लामखुट्टेको बासस्थानको खोजी गर्न थालेको हो । कार्यालयका अनुसार भदौ र असोजमा १ सय १९ बिरामीमा डेंगुको संक्रमण देखिएएको थियो । संक्रमण बढ्ने क्रम जारी छ । 



जनस्वास्थ्यले रत्ननगर र भरतपुर उपमहानगर क्षेत्रमा डेंगु तथा चिकनगुनिया नियन्त्रण अभियान अन्तर्गत लार्भा नष्ट गरेको हो । रत्ननगरमा यस पटक सबैभन्दा बडी डेंगुका बिरामी छन् । 

‘अधिकांशको घरमा प्लाष्टिकका भाडा, ड्रम, गमलामा पानी जमेको पाइयो,’ जनस्वास्थ्यका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले भने, ‘त्यस्तो स्थानमा लामखुट्टेले अण्डा पारेपछि मानिसमा डेंगु सर्ने सम्भावना बढी हुन्छ ।’ स्थानीयको सहयोगमा लार्भा नष्ट गर्न थालिएको छ । अहिले स्वास्थ्यकर्मीहरु घरघर पुगेर लामखुट्टको बासस्थानको खोजी गरिरहेका छन् । 

वर्षा सकिएपछि विभिन्नस्थानमा पानीको अवस्था स्थायी रहने र लामखुट्टेले जमेको पानीमा अण्डा पार्छ । असोज र कात्तिकमा संक्रमण बढेको पाइएको छ । टायर, प्लाष्टिक, कन्टेनर, ड्रममा एक सातासम्म पानी जम्यो भने बासस्थान बनाएर लामखुट्टेले अण्डा पार्छ । सुख्खा समयमा पानी पर्दा अण्डा भित्र डेंगु भाइरस हुने र त्यही लामखुट्टे बनेर टोक्दा रोग लाग्छ । लामखुट्टे २० देखि ३० डिग्री सेल्सियस तापक्रममा बढी सक्रिय हुन्छ । वर्षा हुँदा तापक्रममा परिवर्तन हुने भएकाले लामखुट्टेको टोकाई बढ्छ । राजधानी लगाएत तराइका जिल्लाहरु समेत डेंगुको जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.गुणनिधि शर्माले बताए ।

‘जोखिम स्थानमा संक्रमण पहिचान र नियन्त्रणको लागि टाली खटिसकेको छ,’ उनले भने, ‘चितवनमा डेंगु, स्क्रबटाइफस, चिकनगुनिया जस्ता संक्रमण बढ्न नदिन विभिन्न चेतनामूलक कार्यक्रम गर्न जनस्वाथ्यलाई भनेका छौं ।’ 

जनस्वास्थयले बजार घर पशल पुगेर जमेका पानी नष्ट गर्ने अभियान चलाएको छ । त्यस्ता स्थानमा लामखुट्टेले फुल पारेर डेंगुको संक्रमण बढाउछ । एउटा लामखुट्टेले ५ जना सम्मलाई रोग सार्छ । 

डेंगुको विषाणु भाईरसद्धारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ । यो ग्रामिणमा भन्दा शहरी क्षेत्रमा बढी पाईन्छ । यसबाट बच्न सावधानी अपनाउन जरुरी छ । राती र दिउंसो सुत्दा झुल टांग्ने, घर छेउका पानी जम्ने खाल्डाखुल्डी पुर्ने, झ्याल ढोकामा जाली लगाउने, लामा बाहुला भएको लुगा लगाउन जनस्वास्थयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 

यहाँको ‘नारायणी सामुदायिक अस्पताल, नयाँ मेडिकल कलेज, भरतपुर अस्पताल र रत्ननगर अस्पतालमा डेंगुका बिरामीको उपचार भइरहेको छ । यो एडिस एजेप्टाई जातको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेंगु सर्छ । भदौ यता यहाँका बजार र आसपासका गाउँमा भाइरल ज्वरोको प्रकोप छ । दिनहुँ अस्पतालमा जचाउनेको भीड लाग्छ । 

डेंगुको संक्रमणका बिरामीमा उच्च ज्वरो, आँखाको गेडी दुख्ने, शरिरमा बिमिरा आउने, वाकवाक लाग्ने, टाउको दुख्ने, नाकबाट रगत बग्ने, दिशा कालो हुने, जस्ता लक्षण देखिने डा.किशोर गौतमले बताए । यस्तो लक्षण देखा परेमा तत्कालै अस्पतालमा जाँच गराउन चिकित्सकले सुझाव दिएका छन् । २०६७ सालमा चितवनमा महामारीको रुपमा फैलिएको डेंगुका संक्रमणले  ५ जनाको मृत्यु भएको थियो । ७ सय ३९ जना विरामी भएका थिए । अघिल्लो वर्ष ८५ जनामा संक्रमण भएको जनस्वास्थ्यले जनाएको छ ।

जसमा ५८ जना चितवनका बिरामी थिए । ०६८/०६९ मा भने १ हजार १ सय ७४ जनाको रगत परीक्षण गरिएकोमा ६८ जनामा डेंगु देखिएको थियो । १ जनाको मृत्यु भएको थियो । त्यसयता डेंगुका विरामी बढेपनि मृत्यु भएको घट्ना बाहिर आएको छैन । 

जनस्वाथ्यका अनुसार ०६९/०७० मा ९ सय ४६ जनाको रगत परीक्षण गर्दा ५२ जनामा डेंगु देखिएको थियो । केही वर्षयता डेंगुको विरामी बढ्दै गएका छन् । ०७०/०७१ मा २ हजार २ सय ६१ जनाको रगत परीक्षण गर्दा ३ सय ७१ जनामा डेंगु फेला परेको थियो । 

०७१/०७२ मा १ हजार ६ सय ७८ जनाको रगत परीक्षण गरिएकोमा १ सय १९ जनामा डेंगु देखिएको थियो । वर्षापछि जमेको पानी डेंगुको लागि खतरा हुने भरतपुर अस्पताल प्रमुख डा.रुद्र मरासिनीले बताए । 


प्रकाशित: आश्विन २०, २०७३

Previous
Next Post »